१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस सुदृढीकरण नाममा दुई भिन्न अभियान

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्यले पार्टी संगठन सुधारका लागि एकै दिन दुई फरकफरक नाम दिएर अभियान सुरु गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी राजनीतिसँगै छलफल र भेटघाटमा जुटेका युवा केन्द्रीय सदस्यले सोमबार राजधानीमा छुट्टाछुट्टै कार्यक्रम गरी अभियान घोषणा गरेका हुन्।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशी नेतृत्वको समूहले ‘सशक्त विचार र सुदृढ संगठनको कांग्रेस’ र चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेलसहितका केन्द्रीय सदस्यले ‘नेपाली कांग्रेस पुनर्जागरण अभियान’ घोषणा गरेका हुन्।

पार्टीको गुटगत विभाजनबाट माथि उठ्न नसकेका दुवै पक्षले संगठन निर्माण नै मुख्य मुद्दा बनाए पनि उनीहरुले फरकफरक ढंगबाट अभियान सुरु गरेका छन् । नेता रामचन्द्र पौडेलसँग निकट मानिने जोशीले पाँच वर्षपछि हुने निर्वाचनमा पार्टीको स्पष्ट बहुमत आउनेगरी सुदृढ र सशक्त पार्टी निर्माण गर्नेसहितको अवधारणा प्रस्तुत गरेका छन् । गुटभन्दा माथि उठेर संगठन सुदृढीकरणका लागि अभियान चलाउने बताउँदै जोशीले जनताले भरोसा र विश्वास गर्ने पार्टी निर्माण गर्ने दाबी गरे।

पार्टीका सबै गुट र समूहनिकट केन्द्रीय सदस्यहरुको समेत उपस्थिति रहेको कार्यक्रममा विभिन्न पेसा र व्यवसायमा आबद्ध व्यक्ति पनि सहभागी थिए । उनीहरुले कांग्रेसलाई सुदृढ र सशक्त बनाउन वैचारिक प्रस्टताका साथै आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।

सरकार र सत्तामा पुगेपछि जनतासँग टाढा हुने र अप्ठेरो अवस्थामा मात्र सहयोगको याचना गर्ने गरेको गुनासो सहभागीले गरेका थिए । युवा पुस्तालाई कांग्रेसले आकर्षण गर्न नसकेको सुनाउँदै नेतृत्वको आलोचना मात्र होइन पार्टी निर्माणका लागि युवा पुस्ताले पनि रचनात्मक काम गर्न नसकेको धारणा उनीहरुले राखेका थिए।

त्यस्तै भण्डारीसहितका नेताहरुले कांग्रेसलाई २००७ सालको जस्तै जुझारू तथा २०१५ सालको जस्तै प्रगतिशील र जनप्रिय बनाउने घोषणा गरेका छन् । २१औं शताब्दीअनुकूलको आधुनिक राजनीतिक संगठनको रुपमा स्थापित गरेर समृद्ध नेपालको नेतृत्व गर्न सक्ने योजना, साहस र समर्पणसहितको नेतृत्व, जनताको भरोसा र विश्वास जितेको पार्टीको रुपमा स्थापित गर्ने उनीहरुले जनाएका छन्।

तत्काल महासमिति बैठक बोलाउन पार्टी नेतृत्वसँग आग्रह गर्दै उनीहरुले महाधिवेशनलाई अर्थपूर्ण बनाउने, देशैभरि सशक्त र जिम्मेवार प्रतिपक्षको रुपमा काम गर्न सक्ने कांग्रेस बनाउने दाबी गरे । ‘हामी प्रस्ट गर्न चाहन्छौं, यो कुनै गुट होइन, कुनै व्यक्तिविरुद्ध लक्षित पनि होइन । यो पार्टी सुदृढीकरणको साझा संकल्प बोकेका पार्टीका सबै सदस्यको अभियान हो,’ उनीहरुले भनेका छन् । सोमबार नै कांग्रेसका दुई प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले पनि राजधानीमा छुट्टाछुट्टै कार्यक्रम गरेका थिए।
 

प्रकाशित: ८ फाल्गुन २०७४ ००:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App