१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

शिल्पीको मञ्चमा ‘ययाती’ कथा

काठमाडौं – यौन आसक्तिका कारण अकल्पनीय घटना घटिरहेका हुन्छन् । त्यस्ता घटना पौराणिक कालमा पनि घट्थे नै । राजा महाराजाका स्त्री आसक्तिका गाथा समेटिएका थुप्रै साहित्य लेखिएका पनि छन् । यस्तै कथामध्येको एक हो, राजा ययातिको कथा । महाभारतमा समावेस राजा ययातिको स्त्रीमोहलाई भारतवर्षमा थुप्रै लेखकले आफ्नो विषय बनाए । भारतीय साहित्यकार गीरिश कर्नाडले लेखेको ‘ययाति’ तिनै पुस्तकमध्ये एक हो।

राजा ययाति दैत्य गुरु शुक्राचार्यले श्राप दिएका कारण जवानीमै वृद्ध हुन्छन् । शुक्राचार्यकी पुत्री देवयानीको चित्त दुखाएका कारण ययातिले त्यस्तो कठोर श्राप पाएका थिए । श्रापमुक्त हुने एउटै उपाय हुन्छ– राजा ययातिको बुढ्यौली अरु कसैले धारण गरिदिने ।
दरबारमा राजाको श्राप बोक्ने मानिसको खोजी हुन्छ । ययातिले आफ्ना पुत्र पुरुलाई नै यस कामका लागि खटाए । ‘यत्रा रैती छन् कसै न कसैले मेरो श्राप लिइदेलान् नि’, ययातिलाई रैतिमाथि ठूलो भरोसा थियो । जब पुरुले राज्यका कसैले पनि राजाको श्राप लिन नमानेको खबर लिएर आउँछन् तब ययाति चिन्तित हुन्छन् । बुबाको अवस्थाले द्रवित भएर पुरु आफैं शुक्राचार्यको श्राप लिन तयार हुन्छन् । छोराको उमेर लिएर जवान भएका ययातिले अब के गर्छन् ? त्यो भने आउँदो १० गतेबाट औपचारिक मञ्चन हुने ययाति नाटकको पूर्ण श्रृंखलाले बताउनेछ।

मराठी भाषामा नाटककार गीरिश कर्नाडले लेखेको नाटक ‘ययाति’लाई नेपालीकरण गरेर टंक चौलागाँईले मञ्चमा प्रस्तुत गर्न लागेका हुन् । नाटक मञ्चनको अन्तिम तयारी चलिरहँदा शनिबार यसको प्रस्तुतिका विषयमा छलफल गरिएको थियो ।  विश्लेषक राम लोहनीले नाटकको कथ्य र प्रस्तुतिका विषयमा कलाकारलाई आवश्यक सुझाव दिए । ययातिको गम्भीर स्वभाव विपरीत कलाकारले गरेको अभिनयमा उनले टिप्पणी गरे । ‘जति धेरै चञ्चलता राजामा देखिएको छ त्यो नभएकै राम्रो’, लोहनीले भने । कलाकार घिमिरे युवराजले जवाफमा बोले, ‘हरेक मान्छेभित्र बाल चञ्चलता हुन्छ त्यही चञ्चलता र पागलपनका क्रममा देखिने भाव देखाउन खोजिएको हो ।’ फेरि लोहनीले थपे, ‘राजाको रोव जस्तो हुन्छ त्यो भने कायमै हुनुपर्छ।’

नाटकमा समेटिएको देवयानी र शर्मिष्ठाबीचको द्वन्द्व होस् वा राजा ययाति र छोरा पुरुबीचको द्वन्द्व यस्ता थुपै्र दृश्यमा लोहनीले कलाकारलाई महत्वपूर्ण सुझाव दिए । ‘मानिसभित्र असीमित कामना हुन्छन् त्यसैले मान्छेलाई सन्तुलनमा राख्न सकेन भने नराम्रो परिणामको भागिदार बन्न पर्छ । कथाको मूल मर्म यही हो । यो दर्शकसम्म सञ्चारित हुनुपर्छ,’ छलफलमा लोहनीको निष्कर्ष थियो ।
लोहनीको सुझाव लिएर नै कथाको मिथकलाई वास्तविकतामा ढाल्ने प्रयास गरिरहेको निर्देशक टंक चौलागाँईले बताए । फरक कालखण्डको कथा भए पनि कथालाई समयसापेक्ष बनाउने प्रयास गरेको उनले बताए । फागुन १० गतेबाट मञ्चन हुने नाटक चैत ३ गतेसम्म चल्नेछ । नाटकमा घिमिरे युवराज, अर्चना पन्थी, नानी थापा आदि कलाकारको अभिनय रहेको छ।

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App