८ वैशाख २०८१ शनिबार
अर्थ

भूकम्पमा क्षतिग्रस्त भवनकोे सर्भे हुन अझै बाँकी

काठमाडौं– भूकम्प गएको १६ महिना हुदाँसम्म पनि त्यसबाट क्षतिग्रस्त केही भवनको सर्भे हुन सकेको छैन । सर्भे हुन नसक्दा दाबी भुक्तानीमा समस्या आएको छ।

बिमा समितिका अनुसार भूकम्पमा क्षतिग्रस्त भवनको लागि १८ अर्ब ४० करोड रुपैयाँको दाबी परेको थियो । त्यसमध्ये अधिकांश भौतिक संरचनाको भुक्तानी भए पनि केहीको सर्भे हुन नसकेका कारण भुक्तानीमा समस्या आएको छ ।

अहिले पनि भूकम्पले क्षति पु¥याएका करिब डेढ प्रतिशत भवनको सर्भे हुन बाँकी रहेको सर्भेयर सघंका अध्यक्ष सूर्यप्रसाद जोशीले मंगलबार नागरिकलाई बताए । ‘क्षतिको रकम दाबी सहितको निवेदन बिमा कम्पनीमा पेस गरेकामध्ये केही निवेदकले प्रमाण पु¥याउन नसक्नेकाले सर्भे हुन सकेको छैन,’ उनले भने, ‘डकुमेन्ट नबुझाएका कारण सर्भे हुन नसकेको हो ।’

सर्भे हुन नसकेका कारण केही निवेदकको दाबी भुक्तानीमा समस्या आएको बिमा कम्पनीहरुको छाता संगठन बिमक संघले बताएको छ । ‘कुल दाबीमध्ये अझै केहीको सर्भे रिपोर्ट आएको छैन,’ संघका एक सदस्यले भने, ‘सर्भे रिपोर्ट नआएकाले ठूला भौतिक संरचनाको दाबी भुक्तानी गर्न सकिएको छैन ।’ तर, सानो रकमको दाबी भुक्तानी भइसकेको समितिले दाबी गरेको छ ।

कुल १७ हजार ६ सय ८५ मध्ये ४ हजार ९ सय ९ निवेदनको दाबी भुक्तानी गर्नु नपर्ने देखिएको बिमा समितिको भनाइ छ । प्रमाण पु¥याउन नसक्दा ती निवेदनको दाबी भुक्तानी गर्नु जरुरी नदेखिएको समितिको ठहर छ ।

समितिका अनुसार भारतको गुजरात भूकम्पमा क्षतिग्रस्त बिमित संरचनामध्ये अझै पनि ५ प्रतिशतको दाबी भुक्तानी हुन बाँकी छ । नेपालमा भने छोटो समयमा धेरै भुक्तानी भएको समितिको भनाइ छ ।
भूकम्पबाट क्षति भएका ठूला आयोजनामा ऋण लगानी गरेका बैंक, वित्तीय संस्था र बिमितबीच विवाद देखिएकाले पनि दाबी गरिएको रकम भुक्तानी हुन नसकेको हो । ‘अन्डर इन्स्योरेन्सको समस्या भयावह छ,’ एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृले भने, ‘५० लाख मूल्यको घर छ भने बैंकले २५ लाखको मात्र इन्स्योरेन्स गरेर ऋण लगानी गरेको छ । यस्तो अवस्थामा बिमितले ५० लाखको दाबी गरेर पाउँदैन ।’ यी र यस्ता समस्याले पनि केहीको दाबी भुक्तानी समयमा हुन नसकेको उनको भनाइ छ ।
बिमितले आवश्यक कागजात ल्याउन नसकेका कारणले सर्भे गर्न र बिमा कम्पनीले दाबी भुक्तानी गर्न नसकेको पनि ती सिइओले बताए । ‘कागजपत्रका कारणले पनि ढिलाइ भएको छ,’ उनले भने, ‘बैंकबाट ऋण लिँदा बिमा गरिएको छ, तर बिमा गरेको कागजात छैन । यस्तो समस्याले पनि दाबी भुक्तानी हुन सकेको छैन ।’

अनेक कारणले सर्भे गर्न समस्या भएको बिमा कम्पनी बताउँछन् । बिमा दाबी भुक्तानी केही निवेदनको ढिलो हुनुमा अनेकौं कारण रहेको समितिको भनाइ छ । ‘दाबी भुक्तानी छिटो होस भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘अहिलेसम्म सबैको भुक्तानी भइसक्नुपर्ने हो, तर अनेक कारणले सोचेअनुसार हुन सकेको छैन ।’
हाल मुलुकमा १७ निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । गत वैशाख १२ र २९ को भूकम्पले ठूलो भौतिक क्षति पु¥याएपछि निर्जीवन बिमा कम्पनीमा दाबीका निवेदनको चाप बढेको थियो ।

व्यक्तिगत घर, होटल, अपार्टमेन्ट, जलविद्युत कम्पनी लगायतबाट बढी दाबी परेको थियो । निजी आवास र उद्योगबाट बढी दाबी निवेदन परेका थिए । ठूला, मझौला र साना परियोजना सबैजसोको निवेदन परेको थियो । ‘सानाको कम्पनीले पूरै रकम भुक्तानी गरेका छन् भने ठूला परियोजनाको हकमा पेस्कीको रुपमा केही रकम दिएका छन्,’ नाम खुलाउन नचाहने समितिका एक अधिकारीले भने ।

ठूला परियोेजनामा अध्ययन गर्न समय लाग्ने भएकाले कम्पनीहरुले पेस्कीको रुपमा समेत रकम  दिएका थिए । सर्भेयरले अध्ययन प्रतिवेदन दिएपछि मात्र पूरै भुक्तानी गर्ने बिमा कम्पनीले बताउँदै आएका छन् ।
सर्भेयरले दिएको प्रतिवेदनका आधारमा भुक्तानी गरिने बिमा कम्पनीको भनाइ छ । भूकम्पपछि बिमा गरिएका सम्पत्तिको क्षति अध्ययनका लागि नेपालमा रहेका सबै बिमा सर्भेयर परिचालन गरिएको थियो । समितिका अनुसार स्वदेशमा साढे ४ सय जतिले सर्भेयर लाइसेन्स लिए पनि एक सयजना जतिमात्र क्रियाशील भएर काम गरेको समितिको भनाइ छ ।

क्षतिको तुलनामा सर्भेयर कम हुने देखिएपछि बिमा समितिले सर्भेयरसम्बन्धी नीतिमा पनि लचकता अपनाएको थियो । पुराना सर्भे रिपोर्ट पेस नगरेका सर्भेयरलाई नयाँ काम नदिन यसअघि समितिले दिएको निर्देशन खारेज गरेको थियो  । पुरानो सर्भेको रिपोर्ट नबुझाईकन् पनि नयाँ काम गर्न सक्ने व्यवस्था समितिले गरेको थियो ।

 

प्रकाशित: १ भाद्र २०७३ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App