४ वैशाख २०८१ मंगलबार
खेल

क्रिकेट खेलाडीलाई जनही ३ लाख, विवाद समाधानका लागि पहल गरिदिन पारसको आग्रह

तस्बिर : रोशन सापकोटा /रासस

काठमाडौं – नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बन्दै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको नेपाली क्रिकेट टोलीका  सदस्यलाई नेपाल सरकारले जनही ३ लाख रुयौयाँ नगदसहित सम्मान गर्ने भएको छ । सोमबार नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवासमा निम्त्याएर सम्मानको घोषणा गरेका थिए।

ओलीले प्रधानमन्त्रीे निवास बालुवाटारमा खेलाडीहरूसँग कुरा गर्ने क्रममा शुक्रबार नगदसहित सम्मान गर्ने जानकारी गराए । जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दै छ । प्रतियोगिताअघि नेपालले त्यहाँ अभ्यास खेल खेल्नेछ । सरकारका साथै क्रिकेट टोली सदस्यलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पनि जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने अध्यक्ष विनोद श्रेष्ठले घोषणा गरे।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको अवस्थामा नेपाली राष्ट्रिय टोलीको व्यवस्थापन अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) ले गर्दै आएको छ । विवादका कारण क्यान झन्डै दुई वर्षयता निलम्बनमा रहेको छ । यसबीचमा आइसिसीले हस्तक्षेप गर्दै क्यानको विवाद मिलाउने प्रयास गरे पनि सफल हुन सकेको छैन । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले विवाद सल्टाएर क्यानको निलम्बन फुकुवा भए खेलाडीका लागि सबैभन्दा ठूलो सम्मान हुने बताएका थिए। पारसले क्रिकेट विवाद चाडै समाधा गरिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए।

‘यही जुन महिनामा आइसिसीको बैठक बस्दै छ । हामी विगत २ वर्षदेखि निलम्बनमा छौं । यो दुई महिनाको बीचमा हामीले विवाद सुझाएनौं भने हामी पुर्ण निलम्बनमा पर्ने सम्भावना छ । राष्ट्रिय टोलीले कस्तो प्रदर्शन गर्छ भन्दा पनि सम्पूर्ण क्रिकेटलाई आगमी दिनमा टेस्ट राष्ट्रको रूपमा हेर्न चाहने हो भने यस बीचमा सम्पूर्ण विवाद मिलाउनु आवश्यक छ । सबैले व्यक्तिगत स्वार्थबाट उठेर निर्णय गर्नुपर्ने बेला छ । त्यसका लागि प्रधानमन्त्रीज्यू आफैंले नेतृत्व लिएर बाटो देखाइदिनुभयोे भने नेपाली क्रिकेटमा लागेकाहरूलाई सबैभन्दा ठूलो सम्मान त्यही हुनेछ,’ क्यान विवादप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै कप्तान पारस खड्काले थपे, ‘यो विवादलाई सल्टायौं भने आगामी दिनमा देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन क्रिकेट अझ बलियो माध्यम हुन सक्छ।’

सरकारको सहयोग गर्न सक्ने समाथ्र्यको सीमा रहेको भन्दै प्रधानमन्त्री ओलीले क्यान विवाद सल्टाउन आफूले पहल गर्ने बताए । ‘आफूलाई हेर्ने आफ्नै अविभावक संस्था होस् भन्ने तपाईंहरूको चाहना छ । र त्यस्तो संस्था जुन विवादमा नअल्झियोस् । खेलमा ध्यान दियोस् भन्ने तपाईंहरूको चाहना हो । त्यसका लागि मेरो प्रयास रहनेछ । मन्त्रालयले पनि ध्यान दिनेछ,’ प्रधानमन्त्री ओलीले क्यान विवादबारे संकेत गरे, ‘क्रिकेट संघ नबनाएर राजनीतिक कार्यकर्ता संघ बनाउने र त्यसलाई क्रिकेट संघ भन्ने । अनि त्यस्ता राजनीतिक कार्यकर्ता संघहरूले राजनीतिक पार्टीहरुको पृष्ठभूमिमा बसेर कायकर्ता भर्ती गर्ने । अब प्रवत्तिले खेलकुदको विकास हुुँदैन । खेलकुदमा योगदान गर्न सक्ने व्यक्ति हुनुपर्छ । खेलक्षेत्रमा राजनीतिकरण अर्थ हँुदैन । ओलम्पिकमा विवाद । क्यानमा विवाद । अब यो दुनियाँ हँसाउने विवाद अब बन्द हुनुपर्छ । यस दिशामा मेरो ध्यान केन्द्रित हुनेछ । हामी विकासतर्फ उन्मुख भएका छौं । विवादले विकास हुँदैन कामले विवाद हुन्छ । यो सरकार २, ४ मानिस भर्ना गर्न आएको होइन काम गर्न आएको हो । त्यसमा तपाईंहरू ढुक्क हुनुस्।’

इङ्ल्यान्डमा हुने विश्वकप–२०१९ छनोट प्रतियोगितामा नेपालले समूह ‘बी’का अफगानिस्तान, हङकङ, स्कटल्यान्ड र जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्नेछ । २० गते हुने पहिलो खेलमा जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्ने नेपालले दोस्रो खेल २४ गते स्कटल्यान्डविरुद्ध खेल्नेछ । २६ गते अफगानिस्तानविरुद्ध तेस्रो खेल खेल्ने नेपालले अन्तिम खेल हङकङविरुद्ध फागुन २८ गते खेल्नेछ । कप्तान पारस खड्काले नेपाल यु–१९ विश्वकप र ट्वान्टी–२० विश्वकपमा छनोट भइसकेको भन्दै एकदिवसीय विश्वकप खेल्न पनि टोली सक्षम रहेको बताए । उनले थपे, ‘पछिल्लो समय खेलाडीले जुन प्रदर्शन गरेका छन् । मिहिनेत गरेका छन् । यही जोस र जाँगरका साथ अघि बढ्यो बने एकदिवसीय विश्वकप खेल्ने हाम्रो सपना अवश्य पूरा हुनेछ।’

राउन्ड रोबिन लिगमा हुने प्रतियोगिताको समूह ‘ए’ मा आयरल्यान्ड, नेदरल्यान्ड, पपुवा न्युगिनी, युनाइटेड अरब इमिरेट्स(युएई) रहेका छन् । दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका सबै टोलीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्सका शीर्ष दुई टोलीले इङ्ल्यान्डको यात्रा तय गर्नेछ।

नामिबियामा सम्पन्न आइसिसी डिभिजन –२ प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानाडामाथि १ विकेटको अविश्वसनीय विजय हासिल गर्दै जिम्बाब्वेको टिकट पक्का गरेको थियो । जिम्बाब्वेका भ्रमणका लागि आइसिसीले आइतबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा ललितनारायण राजवंशी एक जना थपिएका छन् । अरु सबै नामिबिया भ्रमणमै रहेका खेलाडी छन् । विनोद भण्डारी वैकल्पिक खेलाडीमा परेका छन्।

प्रधानमन्त्री ओलीले जिम्बाब्वे भ्रमण तयारीका लागि सारकारले हरसम्भव सहयोग गर्ने बताए । ‘प्राप्त सफलतामा चित्त बुझाएर हुँदैन । थप सफलताका लागि प्रयास गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ‘हामी आत्तिनु पर्दैन । नआत्ती खेले विजय हासिल गर्न सकिन्छ । विजयी भएर आउन शुभकामना छ । खेलाडी देशको हुन्छ । खेलाडीले जिते राष्ट्रले जित्छ।’
 

प्रकाशित: ८ फाल्गुन २०७४ ०५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App