५ वैशाख २०८१ बुधबार
अर्थ

म्याग्दीमा लामो झोलुंगे पुल शिलन्यास

म्याग्दी– म्याग्दीको पर्यटकीय गाउँ बेगखोला गाविसमा जिल्लाकै लामो झोलुंगे पुलको शिलान्यास गरिएको छ । बेग गाउँबाट बाँदुग जोड्ने झोलुंगे पुलको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले शिलान्यास गरेका हुन् । जिल्लाकै अग्लो पुलको शिलान्यास कार्यक्रममा स्थानीयबासीले भव्य समारोहमा अतिथिलाई स्वागत गरेका थिए।

गाविसबाट प्राप्त हुने शिक्षा, स्वास्थ्य सहितका सेवा, सुविधा प्रयोग गर्न करिब ३ घन्टा पैदल हिँडेर बेग आउनुपर्ने बाध्यता यसले अन्त्य गर्ने पुल निर्माण समितिका अध्यक्ष नेत्रबहादुर पुनले बताए । ‘आफ्नै गाविसबाट प्राप्त हुने सुविधा लिन समेत घन्टौं हिड्नुपर्ने बाध्यता थियो । उक्त समस्या हल हुने भएपछि गाउँले उत्साहित छन्,’ पुनले भने । पुल बनेपछि म्याग्दी जिल्लाभित्र प्रवेश गर्ने तथा मुस्ताङ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सकिने उनको भनाइ छ । 

जिल्लामा स्थानीय विकास अधिकारीको जिम्मेवारी लिएर आएलगत्तै जिल्लाको पहिचानलाई झोलुंगे पुलसँग जोड्ने प्रयास गरेर मन्त्रालय सहित विभिन्न निकायमा पहल गरेका स्थानीय विकास अधिकारी पौडेलले आफ्नो लक्ष्य पूरा भएको बताए । ‘मेरो लक्ष्य पूरा भएको छ । निर्धारित समयमै सम्पन्न गरिनेछ,’ पौडेलले भने । गत आर्थिक वर्षमा १२ वटा झोलुंगे पुल बनाएरको स्मरण गर्दै पौडेलले आवश्यक साम्रगी, प्राविधिक सहितको जनशक्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । ३ करोड २२ लाखको लागतमा निर्माण हुन लागेको पुल ३ सय ६५.८० मिटर लामो हुनेछ ।

उनले समुदायको सक्रियतामा पुल निर्धारित समयमै सम्पन्न गर्न सहज हुने भएकाले जनशक्ति परिचालन सहित श्रमदान र व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरे । बाँदुक गाउँबाट बेगस्थित महादेव माविमा अध्ययन गर्न आउने विद्यार्थी दैनिक ३ घन्टा पैदल हिँड्छन् । स्थानीयले आवश्यक जनश्रमदान सहित जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै पुलले गाविसबासीको सयौं वर्ष पुरानो समस्या समाधान गर्ने बताए ।

शिलान्यास कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख, प्रतिनिधि, छिमेकी गाविसका स्थानीय लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो । झोलुंगे पुलमा काम गरिरहेका संघ–संस्थाका अनुसार यो पुल नेपालकै सबैभन्दा लामो हुनेछ ।

उक्त पुलले ३ घन्टाको पैदल बाटो २० मिनेटमा छोट्याउनेछ । पुलबाट बेगका साथै दोवा, चिमखोला, भगवती, दग्नाम, भुरुङ–तातोपानी, नारच्याङ दाना, शिख, घार, हिस्तान गाविसका बासिन्दा लाभान्वित हुनेछन् । बेलायत सरकारबाट भिसी सम्मान पाएका स्वर्गीय तुलबहादुर तिलिजा पुनको गाउँसमेत भनेर विश्वभर प्रख्यात बेगमा स्थानीयबासीको १ करोड लगानीमा भिसी मार्गसमेत निर्माण गरिएको छ । पुल शिलान्यासँगै स्थानीयबले होमस्टे सहित पर्यटकलाई आकर्षित गर्नेतर्फ अग्रसर हुने योजना बनाएका छन् ।

प्रकाशित: १ भाद्र २०७३ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App