७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘विकास निर्माणमा नागरिकसँग सहकार्य गर्छौं’ : प्रधानसेनापति

बेसीसहरमा आयोजित दोस्रो महोत्सवको समापन कार्यक्रममा बोल्दै नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री । तस्बिर : किसान संगीत ।

लमजुङ -नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले गाउँसमुदायमा आवश्यक विकास निर्माणमा नेपाली सेनाले नागरिकहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।माघ २९ देखि सदरमुकाम बेसीसहरमा सुरु गरिएको दोस्रो बेसीसहर महोत्सव समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै क्षत्रीले उक्त भनाइ व्यक्त गरेका हुन् ।

‘हाम्रो नगर, राम्रो सहर, स्वच्छ, सुन्दर र सफा बेसीसहर’ भन्ने नाराका साथ भएको महोत्सव समापनका अवसरमा महारथी क्षत्रीले राजनीतिक परिवर्तनसँगै विकासको बाटो खुलेको बताउँदै सेना विकासको साझेदार बन्न तयार रहेको बताए ।

‘जिल्लामा हुने सबैखाले विकासमा सहभागिताका लागि मैले स्थानीय युनिटलाई निर्देशन दिएको छु,’ महोत्सवका सहभागीलाई सम्बोधन गर्दै महारथी क्षत्रीले भने, ‘राष्ट्रिय विपत्तिमा मात्रै नभई अन्य विकास गर्न पनि हामी तयार छौं ।’ मुलुकबाट दिनहुँ ठूलो संख्यामा युवा जनशक्ति बाहिरिई रहेको अवस्थामा जिल्लामै विकास निर्माण, उद्योगधन्दा, कलकारखाना, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा विकास गरी युवालाई गाउँमै राख्नुपर्ने धारणा पनि उनले व्यक्त गरे । जिल्लास्थित पार्टीका प्रतिनिधि, कर्मचारी र उद्योगी व्यवसायीबीच प्रधानसेनापति क्षत्रीले तनहुँ गृहजिल्ला र लमजुङ मामाघर भएकाले पनि यहाँको विकासमा आफ्नो महत्वपूर्ण भूमिका रहनेसमेत उनले बताए ।

महोत्सव समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, एमालेका उपसचिव सुभाष पौडेल, कांग्रेस सचिव हरि बराल, माओवादी केन्द्रका सदस्य हरिजंग तामाङ, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य खेमजंग गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ४ का सदस्य रामकुमार श्रेष्ठ, रेडक्रस सोसाइटीका सभापति नारायणप्रसाद घिमिरे लगायतले महोत्सव सफल भएको बताए ।

महोत्सवले जिल्लाको व्यापार व्यवसायमा वृद्धि भई आर्थिक विकासमा टेवा पुग्ने धारणा उनीहरूले व्यक्त गरे । सोही अवसरमा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले प्रधानसेनापति क्षत्रीको जीवन र व्यक्तित्वमाथि प्रकाश पारे ।  सुरक्षित तथा व्यवस्थित बजार विकास गरी सामाजिक, आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले लमजुङ उद्योग वाणिज्य संघ बेसीसहर एकाइको आयोजनामा नौ दिनसम्म महोत्सव भएको हो ।

लउवासंघ बेसीसहर एकाइ अध्यक्ष प्रदीप बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुसुम बरालले धन्यवाद ज्ञापन गरे भने सचिव विपिन श्रेष्ठ र लउवासंघका महासचिव कृष्णजंग गुरुङले सहजीकरण गरे । कुल १ सय ९३ स्टल रहेको सो महोत्सव झण्डै १ लाख पचासहजार दर्शकले अवलोकन गरेको र करिब ८ करोडको कारोबार भएको लउवासंघका अध्यक्ष राजेश थापाले बताए । प्रवेश शुल्कबाट संकलित रकमको केही प्रतिशत वृद्धाश्रम, आदर्श महिला सिप विकास केन्द्र, मानवसेवा आश्रम, सिसी क्यामेरा मर्मत लगायतका सामाजिक सेवामा खर्च गरिने पनि उनले जनाए ।

महोत्सवका लागि एकाइका अध्यक्ष बस्नेतको संयोजकत्वमा ३ सय ५१ सदस्यीय मूल आयोजक समिति, २१ सदस्यीय सल्लाहकार समिति र २८ उपसमिति गठन गरिएको थियो । त्यस्तै उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्व पदाधिकारी एवं एकाइका पदाधिकारी समावेश १४ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ ।  

जिल्लाको समग्र उद्योग, व्यापार, जलविद्युत पर्यटन, कृषिको प्रवद्र्धन तथा कला संस्कृतिको संरक्षण संवद्धर्न गर्ने र सुरक्षित तथा व्यवस्थित बजार विकास गरि सामाजिक, आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सव गरिएको बताइएको छ।

आयोजकका अनुसार महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडिबुटी प्रदर्शनी, विभिन्न लोक सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, बेसीसहर नगर क्षेत्र अन्तर्गतका विद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रम, परम्परागत खाना, झाँकी तथा ¥याली प्रदर्शनी, विविध मनोरञ्जनात्मक कार्यक्रम, बालउद्यान, पुष्प प्रदर्शनी, आन्तरिक पर्यटन प्याकेज टुर तथा आन्तरिक पर्यटन सुचना केन्द्र, कार्याशाला गोष्ठी तथा सरकारी तथा गैरसरकारी निकायको गतिविधि प्रदर्शनी भएको जनाइएको छ ।


 

प्रकाशित: ९ फाल्गुन २०७४ ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App