१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

खोरेत रोग फैलन नदिन घरदैलो अभियान

बनेपा – धुलिखेल–१, देवीटार गाउँका पशुवस्तुमा फैलिएको खोरेत रोग (फुट एन्ड माउथ डिजिज–एफएमडी) नियन्त्रणका लागि प्रभावित क्षेत्रका किसानको घर गोठमा पुगेरै सेवा दिने उद्देश्यले एफएमडी नियन्त्रण अभियान सुरु गरिएको छ ।

एक साता अघिदेखि देवीटार, केन्द्रडाँडामा फैलिएको खोरेत रोग नियन्त्रणका लागि जिल्ला पशु सेवा कार्यालयका साथै धुलिखेल र बनेपा नगर कार्यपालिकाका पशु विकास शाखाहरुले संयुक्त रुपमा प्राविधिकहरुको ६ वटा टोलीलाई यसरी गाउँमा पठाएको हो ।

‘हाल खोरेत रोगग्रस्त पशुवस्तुहरुको उपचार र रोग देखा परेका केन्द्रडाँडा आसपासमा रोग फैलन सक्ने सम्भाव्य क्षेत्र (रिङ एरिया) मा खोरेतविरुद्धको एफएमडी खोप लगाउन सुरु गरेका छौं,’ शाखा प्रमुख एवं पशु विकास अधिकृत राजकुमार हुमागाईंले भने, ‘सोमबार एक सयभन्दा बढी पशुबस्तुलाई खोप दिइएको छ । यो क्रम पुरै क्षेत्रमा सम्पन्न नहुँदासम्म प्राविधिकहरु खटिइ रहन्छन् ।’

हाललाई वडा नं १ का लागि पाँच सय डोज भारतीय भ्याक्सिन कम्पनीको रक्षा ओभ्याक भ्याक्सिन पठाइएको उनको भनाइ छ । ‘यो कार्य सकिएलगत्तै धुलिखेलकै वडा नं २ रबिओपीमा समेत आवश्यकताअनुसार भ्याक्सिन दिने योजना रहेको छ,’ हुमागाईंले भने । उता, बनेपा नगरपालिकाले पनि खोरेत रोग फैलन नदिनका लागि देवीटारसँगै जोडिएको वडाका पशुबस्तुमा एफएमडी भ्याक्सिन दिन थालेको उनको भनाइ छ ।

पशु सेवा विभागअन्तर्गत केन्द्रीय जैविकी उत्पादन प्रयोेगशालामा भेटेरिनरी भ्याक्सीन तथा जैविक पदार्थको उत्पादन तथा विकास हुने भएपनि एफएमडी भ्याक्सिन भने नेपालमा उत्पादन हुँदैन । यसका लागि नेपाली किसान र पशु सेवाका प्राविधिकहरुले भारतीय भ्याक्सिनकै भर पर्दै आएका छन् ।
‘हामीले रोगी पशुको गीजा र जिब्रोबाट संकलन गरेको स्याम्पललाई राष्ट्रिय खोरेत तथा महामारी रोग प्रयोगशाला, बुढानीलकण्ठमा पठाएकोमा त्यहाँबाट एफएमडीको सेरोटाइप ‘ओ’ भाइरसको संक्रमण पुष्टि भएको छ । हालको क्षेत्रमा भाइरसविरुद्धको ओस्ट्रेन भएको एफएमडी भ्याक्सिन दिँदा रोकथाम हुन्छ,’ जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नारायण श्रेष्ठले भने।

विश्व खाद्य तथा कृषि संगठन(एफएओ) र यूरोपियन कमिशन फर द कन्ट्रोल अफ एफएमडीको प्राविधिक टोलीसमेत सोमबार आएर प्रभावित पशुबस्तुको निरीक्षणका साथै थप स्याम्पल संकलन गरी लगेको उनको भनाइ छ । ‘संक्रमित पशुबस्तुको घाउबाट चार दिनभित्रैमा नमूना लिएमात्रै एफएमडीको रियलटाइम रिपोर्टिङ हुने भएकाले टोली आएको हो । यसबाट समेत रोग नियन्त्रणमा आगामी रणनीति बनाउन सहयोग पुग्नेछ,’ श्रेष्ठले भने ।

काभ्रेपलाञ्चोक जिल्लालाई डेढ वर्षअघि सरकारले दूधमा आत्मनिर्भर मुलुककै पहिलो जिल्ला घोषणा गरेको थियो । यो रेकर्डलाई कायमै राख्नका लागि जिल्ला पशु सेवा कार्यालयले दुग्ध उत्पादक सहकारी र पशु बिमा सहकारी संस्थाहरुको सहकार्यमा यस्ता रोगहरुबाट बचाउनका लागि विगतमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । सबै बजेट स्थानीय तहमा गएपछि हाल यस्ता कार्यक्रमहरु नरहेको कार्यालयले जनाएको छ ।

‘हामीसँग बजेट नै नभएपनि हाम्रै विशेष अनुरोधमा पशु स्वास्थ्य निर्देशनालय, त्रिपुरेश्वरबाट आठ हजार डोज एफएमडीको ट्राइभ्यालेन्ट भ्याक्सिन जिल्लामा आइपुगेको छ,’ श्रेष्ठले भने, ‘यसलाई सहकारी र कुनै संघसंस्थामा आवद्ध हुन नसकेका विपन्न किसानहरुको गोठसम्म हाम्रा सेवा केन्द्रहरुमार्फत पु¥याउँदैछौं । तर, दुग्ध उत्पादक सहकारी र पशु बिमा सहकारी संस्थाहरुले आफूहरुमा आवद्ध किसानका पशुबस्तुलाई खोरेत रोगबाट जोगाउन सक्रियता देखाउनुपर्यो ।’

खुर फाटेका पशुबस्तुलाई मात्रै लाग्ने खोरेत रोगले स–साना पशुबस्तुको मृत्युदर उच्च हुने र ठूला पशुबस्तुको दूध उत्पादन ठप्प भए पनि मानिसलाई यो रोग नसर्ने श्रेष्ठको भनाइ छ । ‘खोरेत रोगमा पशुसँग प्रत्यक्ष सम्पर्क र पशुजन्य पदार्थहरु दूध र मासु सेवन गर्दा वा अन्य कुनै माध्यमवाट मानिसमा सर्ने र मानिसवाट पशुमा सर्न सक्ने ‘जुनोटिक’ रोग होइन,’ उनले भने, ‘यसैले मानव स्वास्थ्यको दृष्टिकोणले यो रोगमा आत्तिहाल्नु हुँदैन । तर, पशुबस्तुको उत्पादन र क्षति रोक्नका लागि किसानले ६–६ महिनामा एफएमडी खोप लगाउनु नै बुद्धिमानी हुन्छ ।’

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App