coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महान्यायाधिवक्तामा पूर्वमन्त्री खरेल

काठमाडौं – महान्यायाधिवक्तामा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री अग्नि खरेल नियुक्त भएका छन् । महान्याधिवक्ता सरकारको कानुनी सल्लाहकार हुन्छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संविधानको धारा १५७ को उपधारा २ बमोजिम वरिष्ठ अधिवक्ता खरेललाई मंगलबार साँझ महान्याधिवक्तामा नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालयले निवर्तमान महान्यायाधिवक्ता वसन्तराम भण्डारीको राजीनामा स्वीकृत गरेको छ ।

खरेल केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री थिए । खरेलले आफू प्रधानमन्त्रीको आग्रहमा महान्याधिवक्ता बनेको बताए । ‘अरु नै ढंगको काम खोजेको थिएँ । महान्यायाधिवक्ताको काम पनि महत्वको विषय हो,’ उनले भने, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले मलाई सहयोग गर्नुस् भन्नुभयो । पार्टी अध्यक्षले नै भनेकाले जोडबल गर्न उचित ठानिनँ ।’
संविधान र कानुनका ज्ञाता मानिने र कानुन निर्माणमा महŒवपूर्ण योगदान पु¥याएका खरेललाई प्रधानमन्त्री ओलीले महान्यायाधिवक्ता रोजेका हुन् ।
को हुन् खरेल ?
ताप्लेजुङको साविक थेचम्बु गाविस हालको पाथीभरा यङवरक गाउँपालिकामा २०१७ साल माघ १२ मा खरेलको जन्म भएको हो ।  उनले २०३४ मा जनता मावि गौरादह झापाबाट एसएलसी पास गरेका थिए । त्यसलगत्तै महेन्द्र विन्देश्वरी बहुमुखी राजविराजबाट २०३७ सालमा आइएल पास गरेका थिए । खरेल त्यस बहुमुखी क्याम्पसका पहिलो विद्यार्थी युनियनका पहिलो सचिव हुन् ।

खरेल २०३८ मा नेपाल ल कलेज काठमाडौंमा भर्ना भएका थिए । उनले ल कलेजबाट २०४२ सालमा कानुनमा स्नातक सकेका हुन् । त्यसलगत्तै उनी वकालत पेसामा लागे । उनले ३२ वर्ष वकालत जीवन बिताइसकेका छन् । २०४५ सालमा नेपाल बार एसोसिएनको केन्द्रीय सदस्य भएका उनी २०५४ सालमा केन्द्रीय महासचिव बनेका थिए ।

खरेल २०४७ सालको संविधान निर्माण प्रक्रिया पनि सक्रिय रहे । ०४७ सालको संविधान निर्माणमा माधवकुमार नेपाल संविधान मस्यौदा सुझाव आयोगको सदस्य थिए । खरेलले नेपालको कानुनी सहयोगीका रुपमा आयोगमा काम गरेका थिए ।लगातार कानुनी पेसामा रहेका खरेल २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिका सदस्य थिए । उनले संविधान निर्माणको क्रममा निकै योगदान पुर्याइसकेका छन् ।

२०६४ सालको पहिलो संविधानसभामा नेकपा एमालेका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । उनले संविधानसभाको संवैधानिक समितिका सदस्य बनेर काम गरे । खरेल पुष्पकमल दाहाल संयोजक रहेको विवाद समाधान उपसमितिको सदस्यसमेत रहेका थिए ।यस्तै उनले पहिलो संविधानसभामा अवधारणापत्र तथा मस्यौदा अध्ययन समितिका संयोजक रहेर काम गरेका थिए । उनी २०६८ सालमा वरिष्ठ अधिवक्ता बनेका हुन् ।

उनी २०७० सालमा दोस्रो संविधानसभामा मनोनीत सदस्य थिए । उनी सोही समयमा एमालेको प्रमुख सचेतक थिए । दोस्रो संविधानको मस्यौदा समितिको सदस्य रहेर काम गरिसकेका छन् ।
२०७२ सालमा संविधान जारी भइसकेपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा असोज २५ देखि कानुनमन्त्री रहेका खरेलले ९ महिना मन्त्रालय सम्हालेका थिए ।

कानुनमन्त्री हुँदा खरेलले संविधान कार्यान्वयनका लागि कानुन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले संविधान कार्यान्वयनका लागि १ सय ३८ वटा कानुन बनाउने विषय छनोटमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कानुन निर्माणदेखि कार्यान्वयनसम्ममा उनको महत्वपूर्ण भूमिका मानिन्छ ।

खरेल मन्त्री हुँदादेखि नै ३६ वटा कानुन मन्त्रालयबाट मस्यौदा तयार गरी संसदबाट पास गरिएको थियो ।
यसअघि नै मन्त्री बनिसकेका खरेल प्रधानमन्त्रीको आग्रहमा महान्यायाधिवक्ता बनेको स्पष्ट गरे ।कानुनसँग जोडिएको विषय भएकाले महान्यायाधिवक्ताका लागि उनी अनुभवी मानिन्छन् । खरेलका पत्नी र दुई छोरा छन् ।

प्रकाशित: ९ फाल्गुन २०७४ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App