coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अग्विरो दर्शकविरुद्ध झडपमा

विगान – एफए कपको पाँचौं चरणमा म्यानचेस्टर सिटी र विगानबीचको खेल सकिएपछि डीडब्लु रंगशालमा सर्जियो अग्विरो आफैं दर्शकविरुद्ध झडपमा उत्रिएको घटना फुटबल एसोसिएसनले अनुसन्धान गर्ने भएको छ। विल ग्रिग्सले गरेको गोल निर्णाक बनेपछि तेस्रो डिभिजनको क्लब विगानसँग इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब सिटी १–० को नतिजामा पराजित भएको थियो । यससँगै पेप ग्वार्डिओलाको टोली प्रतियोगिताबाट बाहिरिएको छ।

खेल सकिएको सिटी बज्नेबित्तिकै मैदानमा तानव सिर्जना भएको थियो। विगानका समर्थक खुसी हुँदै मैदानभित्र प्रवेश गरेका थिए । विपक्षी टोलीका रक्षक चे डन्कलेसँग हात मिलाउन लागेका अग्विरो एक्कासि दर्शकविरुद्ध झडपमा उत्रिएका थिए । आफ्नो रक्षाका लागि आफैं उत्रिएका अग्विरोलाई सिटीका कर्मचारीले सुरक्षा दिदै ‘ड्रेसिङ रुम’ सम्म पु¥याउनुपरेको थियो।

‘यो राम्रो होइन,’ विगानका प्रशिक्षक पाउल कुकले भने, ‘मैले त्यो दृष्य देखिनँ त्यसैले म कुनै प्रतिकृया दिन सक्दिनँ । सबैका लागि खेलाडीको सुरक्षा सबैभन्दा ठूलो हो।’

खेलको अन्त्यमा खेलाडीको सुरक्षामा कमजोरी भएकोबारे विगानसँग स्पष्टीकरण माग्ने अनुमान गरिएको थियो । तथापि एफएको कारबाही दुई क्लबको सोचेभन्दा फरक पनि हुन सक्छ । केही समयसम्म पुलिस पनि सिटीका समर्थकसँग धक्काधक्कीमा लागेका थिए । एफएले उक्त भिडियो फुटेज र रेफ्री एन्थोनी टेलरको प्रतिवेदनपछि दुई क्लबमाथि कारबाही प्रक्रिया अघि बढाउनेछ।

मैदानबाहिर मात्र नभई मैदानभित्र पनि खेल तनावपूर्ण बनेको थियो । पहिलो हाफको अन्तिम समयमा म्याक्स पावरविरुद्ध फाउल गरेपछि सिटीका फावियन डेल्फलाई रेफ्री टेलरले सीधै रातो कार्डको देखाएका थिए । टेलरले पहिले पहेंलो कार्ड निकाले पनि पछि रातो कार्ड देखाएका थिए । रातो कार्डको सामना गरेका डेल्फ आर्सनलविरुद्धको इएफएल कप फाइनलमा खेल्न नपाउने भएका छन् । डेल्फ रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा सीमित बनेको थियो । त्यसका बाबजुद खेल नियन्त्रणमा राखेको सिटीले गोल फर्काउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको थियो । २०१३ को फाइनलमा पनि सिटी विगानसँग १–० ले पराजित भएको थियो।

बेन्जामिन मेन्डी घाइते भएपछि टोलीमा स्थान बनाएका डेल्फको निलम्बनले सिजनको महत्वपूर्ण क्षणमा सिटीलाई समस्यामा पार्न सक्छ । सिटीका प्रशिक्षक ग्वार्डिओलाले मैदानभित्रको निर्णयले आफूलाई कुनै समस्या नभएको बताए । ‘यो अनावश्यक निर्णय थियो,’ ग्वार्डिओलाले भने, ‘रेफ्रीलाई जे लाग्यो उनले त्यही निर्णय गरे । म यहाँ न्याय दिन आएको होइन । त्यो रातो कार्ड पनि हुन सक्छ । त्यसबाट हामीले शिक्षा लिनुपर्छ।’

विगानले अब क्वार्टरफाइनमा साउथह्याम्पटनविरुद्ध खेल्नेछ । विगानसँगको पराजयसँगै जारी सिजनमा सबै उपाधि जित्ने सिटीको सपना पूरा हुन पाएन । इङ्लिस प्रिमियर लिगमा सिटी १६ अंकको अग्रताका साथ शीर्ष स्थानमा छ भने च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ।

 

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App