८ वैशाख २०८१ शनिबार
समाज

अतिक्रमित टहरा भत्काउँदै उपमहानगरपालिका

कलैया बजार क्षेत्रको अतिक्रमण गरीएको सडक पेटीको भौतिक संरचना भत्काउदै एक्साभेटर।

बारा – बाराको कलैया उपमहानगरपालिकाले बुधबार (आज) देखि कलैया बजार क्षेत्रको अतिक्रमित सडक पेटीलाई एक्साभेटर प्रयोग गरी खाली गराउन शुरु गरेको छ। जिल्लाको सदरमुकाम समेत रहेको कलैया बजार क्षेत्रलाई सफा र सुन्दर नगर बनाउनको लागि सडक पेटीको अतिक्रमण हटाउन शुरु गरिएको कलैया उपमहनगरपालिकाले जनाएको छ।

सडक पेटीलाई अतिक्रमण गरी व्यपारीहरुले पसल सञ्चालन गर्नुका साथै केहीले भौतिक संरचना समेत निर्माण गर्दा बजार क्षेत्र कुरुप देखिएकोे थियो।

सडक पेटी अतिक्रमणले गर्दा बजार क्षेत्रको सडकमा सर्वसाधारणलाई हिलडुल गर्न समेत अप्ठयारो हुने गरेको गुनासो आएपछि अतिक्रमण गरीएको सडक पेटीलाई खाली गराउन शुरु गरीएको कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले बताए।

अतिक्रमण गरीएको सडक पेटीलाई खाली गर्नको लागि कलैया उपमहानगरपालिका बाराले बिगत दुई महिना पहिला देखी नै पटक पटक सूचना निकाली जानकारी गराउँदा समेत अतिक्रमणकारीहरुले सडक पेटी खाली गर्न नमान्दा एक्साभेटर प्रयोग गर्नुपरेको प्रमुख यादवले बताए। बिगत लामो समय देखि नगरपालिकामा जनप्रतिनिधिहरु नभएको अवस्थामा बजार क्षेत्रको सडकहरु आधा भन्दा बढी भागहरुलाई अतिक्रमण गरी व्यपारीहरुले पसल समेत राख्दै आएका थिए।

नागरिक समाजका अध्यक्ष उमेशलाल दासले कलैया बजार क्षेत्रको अतिक्रमण लाई नव निर्वाचित नगर प्रमुख राजेश राय यादवले खाली गराउनु राम्रो कुरा भएको बताए। व्यापारी र स्थानियका लागि यो अप्रिय लागे पनि यसले नगरपालिकालाई दिर्घकालिन समयको लागि राम्रो गर्ने दासले दावी गरे।

प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार यो काम धेरै पहिले देखि नै हुनुपर्ने भएपनि स्थानिय निकाय जिम्मेवार नबन्दा मुख्य बजार क्षेत्रको सडक नै अतिक्रमण पर्नु कलैयाको लागि नराम्रो पक्ष रहको बताए। नगरपालिकामा नयाँ आएका नगर प्रमुख सहितको टोलीले सडक पेटीको अतिक्रमण हटाउने कार्यले कलैया बजारको बिकास हुने सम्भावना समेत बढेको प्रजिअ मानन्धरको भनाइ थियो।

अतिक्रमण हटाउने कार्यमा बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धर, नेपाली सेनाका, सीमा सुरक्षा बल बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बेनु पाठक, राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक उत्तम खनाल, प्रहरी निरिक्षक दिपक साह, बिभिन्न वडा अध्यक्ष लगायत स्थानीयहरुको सहभागीता रहेको थियो।
 

प्रकाशित: ९ फाल्गुन २०७४ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App