८ वैशाख २०८१ शनिबार
विचार

काम कति घण्टा ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एकपटक बधाइ दिनैपर्छ । जनताको भावनालाई पूर्ण रूपमा आत्मसात् गर्दै उनले स्वदेशी तथा विदेशी शक्तिहरूका कुनै पनि लोभ लालचमा नपरी आफ्नो राजनैतिक दृढता प्रस्तुत गरी जनताको लोकप्रिय जनमतलाई स्थापित गर्न सफल भएका छन् । आफ्नो अडान यसरी नै कायम राख्न सके नेपाली राजनीतिको भविष्य स्थायित्वतर्फ मोडिने निश्चित छ । साथै देश र जनताको मात्र समृिद्ध होइन, समग्र राजनैतिक संस्कारको विकास पनि हुनेछ । निकै ठूलो त्याग, तपस्या तथा बलिदानबाट स्थापित प्रचण्डले चुनावको मुखैमा आइपुग्दा उनका एकमात्र सुपुत्र गुमाउनुपरेको थियो । तर उनले आफ्नो व्यक्तिगत पारिवारिक शोकलाई शक्तिमा परिवर्तन गरेर देश र जनताका निम्ति जसरी चुनावमा होमिएका थिए, त्यसरी नै अब ५ वर्षसम्म स्थायी सरकारलाई निरन्तरता दिँदै देशमा आमूल परिवर्तन गर्ने महत्वपूर्ण कार्यमा लाग्नु जरुरी छ । 

अमेरिका, क्यानडा लगायतका देशहरूका मेगा सिटीका मेयरहरू दैनिक १८ घण्टासम्म खट्छन् । तर नेपालमा ? मेयर, मन्त्री, प्रधानमन्त्रीलाई तोकिएको काम गर्न फुर्सद नै छैन।  

प्रधानमन्त्री भइसकेका दुवै पार्टी अध्यक्ष पुनः सानातिना विषयमा अल्मलिन थाले भने देश बर्बादीतर्फ उन्मुख हुनेछ। त्यसैले देशको द्रुतगतिमा प्रगति गर्नका निम्ति सरकारमा उचित किसिमको टिम हुनु जरुरी छ । अध्यक्षहरूको वरिपरि घुम्ने र सीमित स्वार्थका निम्ति कार्य गरी देश र जनतालाई दोहन गर्नेको संख्या पक्कै पनि धेरै होला, यद्यपि जनताले त्यस्ता खालका शक्तिका पिपासुहरूलाई स्थापित गर्न जनमत प्रदान गरेका हैनन् भन्ने कुरा दुवैले बुझ्नुपर्छ । समयको मागलाई ख्याल गर्दै क्षमतावान् युवाहरूलाई देश सञ्चालनका निम्ति आफ्नो टिममा अटाउन सके भने अवश्य दुवैैको टिमको विजय हुनेछ । जसका कारण सम्पूर्ण देशको विजय हुनेछ । र यो विजयको पूर्ण जस दुवै नेताले पाउनेछन् । जनताले जसरी जिताएर पठाएका छन् त्यसरी नै दुवैले मिलेर अब देश र जनतालाई जिताउनुपर्ने दायित्व बोध गर्नेछन् भन्ने आशा गरौँ। 

विगतमा भएका सरकार तथा सरकारमा जाने मन्त्रीहरूको कार्यशैली हेर्ने हो भने पार्टीले अवलम्बन गरेको देश विकासको अवधारणा कार्यान्वयन नगरी मन्त्री आफैँले परिभाषित गरेको नातावाद र कृपावाद हाबी भएको पाइन्छ । साथै मन्त्री भइसकेपश्चात् उनीहरूले गरेका गतिविधिको मूल्यांकन गर्ने निकाय पनि देखिँदैन। 

विकसित राष्ट्रहरूको राजनैतिक संस्कारको इतिहास हेर्ने हो भने सन् १९५० को दशकसम्म नेपालमा हाल भएको जस्तै अनुत्तरदायी संस्कार धेरै देशमा रहेको थियो । तर उनीहरूले त्यस्तो खालको राजनैतिक संस्कारले देशको विकास हुनै सक्दैन भन्ने निष्कर्ष निकाल्दै १९६० को दशकबाट नै हरेक क्षेत्रमा परफरमेन्स, म्यानेजमेन्ट र मेजरमेन्ट गर्दै अगाडि बढ्नुका साथै भ्रष्टाचार र सुशासनका निम्ति शून्य सहनशीलताको नीति अवलम्बन गरेका थिए। जसको कारण हरेक कर्मचारीदेखि राजनीतिकर्मीहरू आफ्नो प्रस्तुतिलाई बढीभन्दा बढी प्रभावकारी बनाउन उद्यत भएका थिए । परिणाम, उनीहरूको देशले समृद्धिको बाटो समायो र आज विकसित राष्ट्रका रूपमा परिचित छन्। 

वर्तमान सरकारले पनि पश्चिमा विकासको यस्तै शैली अवलम्बन गर्दै देशको तीव्र विकासमा जुट्नु आवश्यक देखिन्छ। जसरी उनीहरूले हरेक क्षेत्रमा परफरमेन्स, म्यानेजमेन्ट र मेजरमेन्ट गरेका थिए, त्यसरी नै यस सरकारले आफ्ना हरेक निकायहरूलाई निर्देशित गर्दै उनीहरूको कार्यशैली तथा आउटकमलाई हरेक हप्ता, महिना अथवा समय समयमा मूल्यांकन गरी कामकारबाही अगाडि बढाएको खण्डमा देशले मुहार फेर्न धेरै समय लाग्नेछैन। 

अमेरिका, क्यानडा लगायतका देशहरूका मेगा सिटीका मेयरहरूले हरेक दिन सिटीको काम गर्नका निम्ति १८ घण्टाभन्दा बढी खट्ने गर्छन् । तर नेपालमा कसले कति खटेको छ र कस्तो कार्य गर्दैछ भन्ने भन्दा पनि कुन पार्टीको मेयर छ अथवा मन्त्री र प्रधानमन्त्री छ भन्ने कुरा प्रमुख बन्ने गरेको छ । यस्ता कुराहरूलाई चिर्दै जनताको भावनाअनुरूप देश विकासमा लाग्न १८ घण्टासम्म खट्न सक्ने दृढता भएका व्यक्तिहरूलाई सरकारमा ल्याउनु जरुरी देखिन्छ भने उनीहरूको हरेक कार्यहरूलाई मूल्यांकन गरी महिनैपिच्छे जनतालाई सुचित गर्नु आजको आवश्यकता रहेको छ । नत्र चुनाव जित्न जस्तोसुकै वाचा गर्ने तर चुनाव जितेपछि काम नगर्ने र चुनाव खर्च उठाउन भ्रष्टाचारमा लिप्त हुने प्रवृत्ति हाबी हुनेछ।

आजभन्दा ३०–४० वर्ष पहिला नेपालकै हैसियत भएका देशहरूको आजको विकास तथा अर्थतन्त्रले पनि नेपालले विगतमा अवलम्बन गरेको योजना कस्तो थियो भन्ने प्रस्ट हुन्छ । त्यसैले हालको सरकारले गम्भीरतापूर्वक यस्ता विकृति विसंगति तथा अल्पकालीन योजनाहरूलाई ध्यानमा राखी भविष्यको नेपाल कस्तो बनाउने भन्ने खालको कार्य पद्धति अवलम्बन गर्नुपर्छ । जसले मात्र पार्टीको घोषणापत्र बमोजिम देशलाई डो¥याई समग्र देशको समुन्नतितर्फ दिशानिर्देश गर्न सक्छ।

यसरी अगाडि बढेको खण्डमा विगतको ९ महिनाको आफ्नै शासन कालमा देखाएको सपना पूरा हुन सम्भव छ । नेपाली जनता चीनको रेल काठमाडाैँ, पोखरा, हुँदै लुम्बिनी पुगेको हेर्न चाहन्छन् । साथै फास्टट्रयाक लगायत पूर्व–पश्चिम रेल र चौडा सडक लगायत राष्ट्रिय गौरवका आयोजनाहरू पनि यही कार्यकालमा सम्पन्न भएको देख्न चाहन्छन्।

प्रकाशित: १० फाल्गुन २०७४ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App