coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘शिख विखण्डनकारीलाई क्यानडाले सहयोग गर्दैन’

भारतको अमृतसरस्थित शिख धर्मावलम्बीको पवित्र तीर्थस्थल गोल्डेन टेम्पल भ्रमणपछि फोटो खिच्दै क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडो, उनकी श्रीमती सोफी ग्रिगोइर, छोरी एल्ला ग्रेस र छोरा जेभियर । तस्बिर : रोयटर्स

नयाँ दिल्ली– भारत भ्रमणमा रहेको क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशमा रहेका शिख विखण्डनकारीलाई सहयोग नगर्ने भारतसमक्ष विश्वास दिलाएका छन्।

भारको उत्तरी राज्यस्थित शिख धर्मको पवित्रस्थलमा बुधबार भ्रमण गर्ने क्रममा प्रधानमन्त्री ट्रुडोले उनको देशले भारतमा विखण्डनवादी आन्दोलन सुचारु गर्न खोज्ने कसैलाई पनि सहयोग नगर्ने भन्दै विश्वस्त पारेको भारतीय नेताहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।क्यानडामा शिख समुदायको ठूलो समूह रहेको छ । भारतीय नेताहरुले अझैपनि क्यानडामा भारतबाट छुट्टिएर स्वतन्त्र शिख राज्य ‘खालीस्तान’ बनाउनु पर्छ भनेर इच्छा देखाउने केही साना समूह रहेको बताउने गरेका छन्।

अमृतसरमा रहेको शिख धर्मको पवित्र ‘गोल्डेन टेम्पल’ भ्रमण गरेपछि ट्रुडोले पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहसँग भेटवार्ता गरेका थिए । ‘ट्रुडोले आफ्नो देशले विखण्डनवादीलाई सहयोग नगरेको भन्ने विषयमा सम्बोधन गरेका थिए,’ राज्यका मुख्यमन्त्री सिंहलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

‘क्यानडाका प्रधानमन्त्रीसँगको भेटपछि म अत्यन्तै प्रभावित भएको छु । मैले खालिस्तानका बारेमा प्रश्न उठाएँ किनभने त्यो हाम्रो प्राथमिक मुद्दा हो,’ सिंहले बताए । उनले प्रधानमन्त्री ट्रुडोबाट विखण्डनवादी शिखलाई सहयोग नगर्नेबारेमा प्रतिबद्धता प्राप्त गरेको पनि बताए ।‘प्रधानमन्त्री ट्रुडोको प्रतिबद्धताले भारतमा रहेका हामी सबैलाई ठूलो राहत दिएको छ र हामी उनको सरकारले त्यस्ता विखण्डनवादी समूहको गतिविधिलाई परास्त गरेको हेर्न चाहन्छौं,’ मुख्यमन्त्री सिंहले ट्विट गरेका छन्।

सन् १९८४ मा विखण्डनवादी शिखहरुको आन्दोलन चरम भएपछि भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले गोल्डेन टेम्पलमा रहेका उनीहरुलाई हटाउन सेना पठाएकी थिइन् । त्यसको केही महिनापछि, गान्धीको उनकै शिख अंगरक्षकले दिल्लीस्थित घरमा हत्या गरेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नी श्रीमती र बालबालिकासहित विस्तारित भारत भ्रमणमा रहेका क्यानाडेली प्रधानमन्त्रीले उनको देशमा रहेका शिख अतिवादी समूहसँग लिएको नरम नीतिका कारण उनलाई त्यति महत्व दिइएको छैन । भारत भ्रमणमा आउँदा दिल्लीस्थित विमानस्थलमा उनलाई भारतका कनिष्ठ मन्त्रीले स्वागत गरेका थिए भने भारत मै रहेका उनलाई भारत सरकारकाका उच्च अधिकारीहरुले खासै वास्ता गरेका छैनन् ।  तर क्यानडाका लागि पूर्व भारतीय उच्चायुक्त विष्णु प्रकाशले ट्रुडोलाई कुनै अपमान नगरिएको र उनको स्वागत कूटनीतिक शिष्टाचार बमोजिम नै भएको बताएका छन्।

कूटनीतिक शिष्टाचार बमोजिम विदेशी नेतालाई क्याबिनेट मन्त्रीले स्वागत गर्ने र यही शिष्टता ट्रुडोको हकमा पनि लागू भएको प्रकाशले बताएका हुन् ।विगतमा प्रधानमन्त्री मोदीले व्यक्तिगत रुपमा विदेशी नेताहरुलाई स्वागत गर्ने परम्पराको यसपाली उल्लङ्घन भएको भए पनि भारत भ्रमणमा आउने सबैलाई एउटै तरिकाले स्वागत हुनुपर्छ भनेर आश गर्न नहुने उनले उल्लेख गरे ।
 

प्रकाशित: १० फाल्गुन २०७४ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App