४ वैशाख २०८१ मंगलबार
अर्थ

मध्य मर्स्याङ्दीको विद्युत उत्पादन बन्द

मध्य मर्स्याङ्दी जलविद्युत परियोजनाको बाँधक्षेत्र । तस्बिर : नागरिक

लमजुङ – बेसीसहर नगरपालिकास्थित ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत परियोजनाको मर्मतकार्य शुक्रबार देखि शुरु हुने भएपनि करिब एकसाताका लागि विद्युत उत्पादन स्थगित भएको छ। सुरुङमार्फत् जलविद्युत केन्द्रमा पठाइएको पानीलाई बाँधको मूलढोका ‘रेडियल गेट’ मार्फत् पुनःमर्स्याङ्दी नदीमै फर्काएर मर्मत् कार्य थालिने भएको हो।

केही दिनदेखि नदीमा पानीको सतह घटाउँदै लगिएकोमा बिहीबार राति १० बजेदेखि पुरै पानी खोलामा फर्काएर विद्युत उत्पादन बन्द गरी मर्मतकार्य अघि बढाईने तय भएको जलविद्युत केन्द्रका प्रमुख पशुपति गौतमले बताए। ‘आजसम्म पानीको सतह घटाउँदै लगिएको छ,’ गौतमले भने, ‘राती १० बजेतिर पूर्णरुपमा पानी फर्काउँछौं र भोलि (शुक्रबार)देखि क्रमशःमर्मतसम्हार तिर लाग्छौं।’ ममर्तसम्हार अन्तर्गत बाँधक्षेत्रको पर्खाल मर्मत, बाँध, सर्भिसगेट र विद्युत उत्पादनगृहको युनिट २ टर्वाइन लगायतको मर्मत गरिने केन्द्रप्रमुख गौतम बताउँछन्। बाँधक्षेत्रमा जम्मा भएको अत्याधिक बालुवालाई पनि अहिले निकालिने भएको छ।

यसअघि ०७० माघमा १४ दिन विद्युत उत्पादन वन्द गरि भत्किएको वाँधक्षेत्रको सुरक्षापर्खाल ‘रिप¥याप प्रोटेक्सन’ को मर्मत गरिएको थियो। १ सय ६० मिटर लम्बाई र करिब ६ मिटर उचाइको पर्खाल लगाउनु पर्ने देखिएको भएपनि निश्चित क्षेत्रफल निकाल्न बाँकी रहेको जनाइएको छ। ५ हजार घनमिटर क्षेत्रफल रहेको सो क्षेत्रमा पानीको सतह घटाइएपछि मात्रै कति क्षेत्रफल मर्मत गर्नुपर्छ भन्ने एकिन हुने बताईएको छ। बेसीसहर नगरपालिका वडा नं १ उदीपुर र ११ चितीको विच फलियासाँघुमा जलविद्युत परियोजनाको वाँध निर्माण गरिएको छ। बाँधको वायाँ पर्ने चिती तर्फको भागमा निर्माण गरिएको सुरक्षा पर्खालको संरचनामा पानीको वहावले क्षति पु-याउने भएकाले केहीवर्षको अन्तरालमा सो क्षेत्रमा मर्मत गरिरहनु पर्ने अवस्था आएको जलविद्युत केन्द्रका कर्मचारीहरु बताउँछन्।  

अघिल्लो पटक दैनिक १२ घण्टा मात्रै काम भएकाले मर्मतमा धेरैदिन लागेको र यसपटक चौबिसै घण्टा काम हुने भएकाले ७ दिनभित्र मर्मतकार्य सकिने अपेक्षा गरिएको जलविद्युत केन्द्रप्रमुख गौतमको भनाई छ। हेटौंडास्थित जिपेक ईञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले सो क्षेत्रको मर्मतसम्हार कार्य गर्ने पनि उनले बताए। उनका अनुसार, बर्षेनी सुख्खायाम सुरु भएसँगै फागुनदेखि चैतसम्म विद्युत उत्पादनगृहमा जडित युनिट (टर्वाइन), बाँधक्षेत्रमा मर्मतकार्य गर्ने गरिन्छ। यसवर्ष मुख्य बाँधक्षेत्रमा कार्तिकदेखि नै काम सुरु गरेकाले मर्मतको काम सकिएको छ भने उत्पादन गृहमा युनिट २ को मर्मत ‘सटडाउन’ अवधिमै गरिने भएको छ। प्राविधिक पक्षको मर्मतकार्य परियोजनामा कार्यरत् ईञ्जिनियर सहित प्राविधिक कर्मचारीले नै गर्ने जनाईएको छ। अत्याधिक बालुवाको कारण टर्वाइनमा समस्या आउने भएकाले नियमितरुपमा वर्षेनी मर्मतसम्हार गरिने जलविद्युत केन्द्रका ईलेक्ट्रिक शाखाले जनाएको छ। विद्युतगृहमा ३५÷३५ मेगावाट क्षमताका दुईवटा टवाईन् जडान गरि विद्युत उत्पादन गरिएकोमा पालैपालो टर्वाइन मर्मत गरिदै आएको प्राविधिकहरु बताउँछन्।

मध्य मर्स्याङ्दी जलविद्युत परियोजनाको बाँध माथिको जलाशय क्षेत्रमा थुप्रिएको वालुवा समेत एक साताको ‘सटडाउन’ अवधिमा निकालिने भएको छ । प्रति घनमिटर एकसय रुपैयाँका दरले राजश्व असुल्ने गरि सो क्षेत्रमा वालुवा निकाल्न व्यवसायिक फर्महरुलाई प्रकृया मिलाएर स्वीकृति दिईएको नगरप्रमुख गुमानसिंह अर्यालको भनाई छ। बाँधक्षेत्रमा अत्याधिक बालुवाका कारण टर्वाइन तथा अन्य संरचनामा समेत छिटोछिटो समस्या आउने गरेको जलविद्युत केन्द्रले जनाएको छ। 

मध्य मर्स्याङ्दीको विद्युत उत्पादन बन्द भएपनि उपभोक्ताले लोडसेडिङ मार खेप्नु नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। 

प्रकाशित: १० फाल्गुन २०७४ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App