coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हेटौंडा गोल्डकपको उपाधिका लागि पुलिस र आर्मी भिड्ने

मकवानपुर – विभागिय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन्। बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा पुलिसले संकटा क्लबलाई रोक्दै फाईनलमा प्रवेश गरेपछि आर्मीसँग भिडन्त गर्ने पक्का भएको हो। पुलिसले संकटालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको तेश्रो संस्करणको अन्तिम दुईमा आफुलाई सुरक्षित गर्यो। आर्मीले बुधबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ।

पुलिसका दिनेश राजवंशीले १९ औं मिनेटमा पहिलो गोल गरेपछि टोलीमा उत्साह छाएको थियो। पुलिसका फरवार्ड सुमन लामाले फ्रिकिक हानेको बलमा दिनेशले हेड गर्दै जाली चुमाएका थिए। पहिलो हाफमा पुलिसले संकटालाई १–० मा रोक्न सफल भएको थियो। संकटाका खेलाडीहरुबीच बल पास खेल्न र पुलिसका खेलाडीलाई रोक्न कमजोर देखिएका थिए।

दोश्रो हाफमा संकटामाथि हावी देखिएको पुलिस आक्रामक हुँदै ५३ औं मिनेटमा पुलिसका निरकुमार राईले गोल गर्न सफल भएका थिए। सुमन लामाकै पास बलमा निरकुमारले डिबक्सभित्र संकटाका दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरेका थिए। उनको प्रहारमा संकटाका गोलरक्षक विनय श्रेष्ठले प्रतिक्रिया जनाउने अवसर समेत पाएनन्। पुलिसले दोस्रो हाफमा संकटामाथि आधा दर्जनभन्दा बढी गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेन।

संकटाका गोलरक्षक विनयले खेल सकिन २ मिनेट बाँकी हुँदा पुलिसका निरकुमारले प्रहार गरेको बललाई उत्कृष्ट बचावट गर्न सफल भए। तर संकटाले क्वाटरफाइनलमा थ्रिस्टार क्लबलाई पराजित गर्दा उत्कृष्ट खेल प्रदर्शन गरेको कर्ण लिम्बु,  प्रकाश बुढाथोकी लगाएतले उत्कृष्ट कला देखाउन सकेनन्। हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा जारी प्रतियोगितामा खेलको म्यान अफ दी म्याच पुलिसका निरकुमार घोषित भए र नगद पाँचहजार रुपैंयाँ प्राप्त गरे।

खेलपछि प्रतिक्रिया दिंदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीहरुबीच राम्रो समन्वय भएकाले खेल जितेको बताए। ‘मैले बनाएको रणनीति अनुसार खेल भयो। ‘हामीले विपक्षीको रणनीतिलाई नष्ट गर्दै उत्कृष्ट खेल्यौ र जित्न सक्यौं।’, उनले भने, ‘बिगतको भन्दा राम्रो खेल प्रदर्शन भयो, सन्तुष्ट छु।’ फाईनलमा आर्मीसँग भिड्न आफुहरु तयार रहेको भन्दै उनले हरेक खेलमा नयाँ योजना, रणनीति र उत्साहका साथ खेल्ने बताए। आर्मीसँग ५०–५० प्रतिशत प्रतिष्पर्धा हुने बताउँदै उनले थोरै पाउने अवसर सदुपयोग गर्न सके जित सुनिश्चित रहेको दाबी गरे। खेलपछि आयोजित पत्रकार भेटघाटमा संकटाका प्रशिक्षक सल्यान खड्गी भने सहभागि भएनन्।

शनिबारसम्म हुने फुटबल प्रतियोगितामा प्रथम हुने टिमले उपाधीसहित नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट ५ विधा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवर्ड र उत्कृष्ट प्रशिक्षकले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने छन् । नकआउटका आधारमा सञ्चालन भईरहेको प्रतियोगिताको हरेक खेलको म्यान अफ दी म्याचले नगद पाँच हजार रुपैयाँ समेत प्राप्त गर्नेछन्। ‘ए’ डिभिजन क्लबहरु थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, आर्मी, सशस्त्र प्रहरीको एपीएफ, संकटासहित ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिता सञ्चालन खर्च करिब ६० लाख रुपैयाँ हुने आयोजकले जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७४ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App