८ वैशाख २०८१ शनिबार
खेल

ऐरी ग्लोबल आइएमई र लामिछाने सानीमा बैंकका सदभावना दूत

काठमाडौं – यु–१९ क्रिकेट टोलीका कप्तान दीपनेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेलाई बिहीबार दुई बैंक (ग्लोबल आइएमई र सानीमा बैंक) ले आआफ्नो सदभावना दूत बनाएका छन्।

ब्याटिङ अलराउन्डर दिपेन्द्रसिंह ऐरीलाई ग्लोबल आइएमइ बैंकले १ वर्षका लागि सदभावना दूत बनाएको छ भने यसअघि नै सानीमा बैकसँग आबद्ध सन्दीपको सम्झौता थप २ वर्षका लागि नवीकरण गरिएको छ।
ग्लोबल आइएमई बैंकले दीपेन्द्रलाई वार्षिक ४ लाख रुपैयाँबराबरको प्रायोजन गरेको बैंकका बजार व्यवस्थापन एवं व्यवसाय प्रवर्धन प्रमुख गणेश अवस्थीले जानाए । १ वर्षका लागि भएको सम्झौतापत्रमा बैंकका कार्यकारी प्रमुख अधिकृत जनक शर्मा पौडेल र दीपेन्द्रसिंह ऐरीले हस्ताक्षर गरेका थिए ।दीपेन्द्रसिंहले ग्लोबल आइएमई बैंकले आफूलाई सद्भावना दूत बनाएकोमा आभारी रहेको बताए।

सम्झौताअनुसार बैंकले १ वर्षसम्म मासिक २० हजार रुपैयाँ नगद र खेलसामग्री प्रदान गर्नेछ । मानव सभ्यता विकासको शुरुआत नै खेलबाट भएको भन्दै कार्यकारी प्रमुख अधिकृत पौडेलले विश्व स्तरमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका क्रिकेट खेलाडीलाई प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए । पौडेलले थपे, ‘व्यक्तिगत लगानीबाट खेलाडीहरू यहाँसम्म आइपुगेका छन् । यो सफलता हासिल गरेका छन् । अबका दिनमा क्रिकेटलाई अझ व्यापक बनाउन राज्यले लगानी बढाउन जरुरी  छ ।’
क्रिकेट खेलाडी संघ (सिप्यान) को समन्वयमा दीपेन्द्रसिंह र सन्दीप बैंकसँग आबद्ध भएका हुन् ।सिप्यानका अध्यक्ष पवन अग्रवालले खेलाडीहरू भविष्यको चिन्ताले उच्च लयमा छँदै पलयान हुने अवस्था रहेको र अबका दिनमा त्यस्तो समस्या नदोहरियोस् भनेर संघले पहल थालेको बताए।

‘खेलाडी सधैं लयमा हुँदैनन् । तर, लयलाई जोगाइ राख्न खेलाडी आर्थिक रूपमा पनि सक्षम हुनु आवश्यक छ । ताकी उनीहरूले भविष्यको चिन्ता गर्नु नपरोस्,’ क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका अग्रवालले थपे, ‘क्रिकेटलाई निजी क्षेत्रले सहयोग मात्र गर्नु भन्दा पनि अब लगानी गर्नुपर्ने समय आएको छ । यसमा गरेको लगानीले प्रतिफल पनि दिन थालिसकेको छ । अन्तर्राष्ट्रिय स्तरमा गर्व गर्ने वातावरण सिर्जना गरेको क्रिकेटले अब आर्थिक विकासमा पनि टेवा पुर्याउन सक्छ ।’

बिहीबारै अर्को एक कार्यक्रममाझ सानीमा बैंकले सन्दीप लामिछानेसँगको सम्झौता थप २ वर्षका लागि नवीकरण गरेको घोषण गर्यो । सानीमा बैंकले सन्दीपलाई २ वर्षअघि सद्भावना दूत बनाएको थियो । दुई वर्षअघिको २० हजार रकममा दोब्बर वृद्धि गरी बैंकले सन्दीपसँगको सम्झौता नवीकरण गरेको हो । सानीमाले अब सन्दीपलाई मासिक ४० हजार रुपैयाँका दरले २ वर्षसम्म रकम प्रदान गर्नेछ।इन्डियन प्रिमियर लिग(आइपिएल)को बोल बढाबढ(अक्सन)बाट दिल्ली डियरडेभिल्ससँग आबद्ध  सन्दीपले नामिबियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सबैभन्दा धेरै विकेट लिएका थिए । १७ विकेट लिएका सन्दीप प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए।

‘सिप्यानमार्फत दुई वर्षअघि सानीमा बैंंकसँग आबद्ध हुँदा अझै राम्रो प्रदर्शन गर्न हौसला मिलेको थियो । उहाँहरूको सहयोग र हौसलाले सधैं राम्रो गर्न प्रेरणा प्रदान गरिरह्यो,’ सन्दीपले थपे, ‘अझै लामो यात्रा तय गर्नु छ । नेपालले विश्वकप खेलोस्, टेस्ट मान्यता पाओस् भनेर सम्पूर्ण नेपालीको चाहना छ । हामी त्यसका लागि सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं ।’

सिप्यानका महासिचवसमेत रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटलाई व्यावसायिक रूपमा अघि बढाउन व्यावसायिक घरानाहरूको सहयोग आवश्यक रहेको बताए । ‘व्यावसायिक घरनाहरूले गर्ने यस्तो सहयोगले खेलाडीको मनोबल बढाउँछ । सानीमाले सन्दीपलाई दुई वर्षअघि गरेको लगानीको प्रतिफल कुनै न कुनै रूपमा आएको छ,’ क्यान विवादलाई संकेत गर्दै कप्तान पारसले थपे, ‘सफलतालाई संस्थागत गर्नु आवश्यक छ । अबका ५, १० वर्षमा नेपालले पनि टेस्ट राष्ट्रको मान्यता पाउने सम्भावना छ । त्यसका लागि अब पनि चेतनास्तर बढाउन सकिएन भने हामी जहाँको त्यहीं हुनेछौं । यो अवसरलाई सदुपयोग गर्नुपर्छ।’

हास्यकलाकार तथा सानीमा बैंकका सद्भावना दूत हरिवंश आचार्यले सन्दीपको सफलताबाट नेपालीहरू जे पनि गर्न सक्छन् भनेर प्रमाणित भएको बताए । उनले गर्वका साथ सन्दीप नेपाली खेलाडी हुन् भनेर भन्न सकिने समय आएको भन्दै खेलेर बाँच्न मुस्किल रहेको अवस्थामा पनि यो सफलता पाउनु ठूलो भएको बताए ।‘व्यावसायिक घरनाहरूले गर्ने यस्तो सहयोगले खेलाडीको मनोबल बढाउँछ । सानीमाले सन्दीपलाई दुई वर्षअघि गरेको लगानीको प्रतिफल कुनै न कुनै रूपमा आएको छ ।’

प्रकाशित: ११ फाल्गुन २०७४ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App