५ वैशाख २०८१ बुधबार
कला

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनद्वारा लिखित कविता संग्रह ‘फूलबारी’ लोकार्पण गरिदै । तस्बिर ; नागरिक

नुवाकोट – सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयमा कविता संग्रहको लोकार्पण गरिएको हो।

संग्रह सार्वजनिक गर्दै साहित्यकार शम्भुप्रसाद शर्माले नेपाली बाल साहित्यको विकासको लागि एउटा इँटा थपिएको बताए । साधनाले नै मानिसलाई परिपक्क बनाउने भएकोले लेखन कलालाई निरन्तरता दिएर निखरता ल्याउन शर्माले रिमाललाई सुझाव दिए।विद्यालयका शिक्षकसँगै आमा सुमित्रा पौडेलको प्रेरणा र हौसलाले छन्दोबद्ध कविता संग्रहलाई प्रकाशन  गर्न सकेको बालकवि रिमालले बताए । आगामी दिनमा लेखनलाई निखार्न निरन्तर साधना गरिरहने रिमालले जनाए।

संग्रहमा छन्दबद्ध ३८ वटा कविता छन् । शार्दूलविक्रीडित, पञ्चचामर, झ्याउरे, अनुष्टुप, गीति, भुजंगप्रयात, उपजाती र इन्द्रब्रजा छन्दमा लेखिएका कविताहरु संग्रहमा संग्रहित छन् । कविताले समसामयिक विषयवस्तु, देशप्रेम, हिन्दु धर्मको महिमालाई समेटेको छ।

२०६२ साल फागुन १४ गते जन्मेर जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्दै आएका छोरा रिमाललाई नेपालकै कविता प्रकाशन गर्ने सानो उमेरको कविको रुपमा उभ्याउन सफल भएको भन्दै आमा सुमित्राले छोराको लेखनमा सधैं साथ दिइरहने बताइन् ।कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेल, सल्लाहकार श्रीराम श्रेष्ठ, सर्जक लोकबहादुर पुडासैनीलगायतले सुविन साहित्यलाई फुलाउन प्रयास गर्ने एक माली भएकोले सफलताको शुभकामना व्यक्त गरेका छन्।


 

प्रकाशित: ११ फाल्गुन २०७४ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App