६ वैशाख २०८१ बिहीबार
कला

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

काठमाडौं– स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् । आधुनिक प्रेमकथामा आधारित फिल्म ‘पञ्चेबाजा’ र एक फोटोपत्रकारले तराई आन्दोलनमा देखे भोगेको विषय प्रस्तुत गरिएको ‘साढे ७’ शुक्रबारबाट पर्दामा प्रदर्शन हुन लागेका हुन्।

घनश्याम लामिछाने निर्देशित फिल्म ‘पञ्चेबाजा’ मा राजेश शाहीको लगानी छ । पोखरा, बुटबल, नारायणघाट, हेटौंडाको प्रचार दौडाहा सकेर राजधानी फर्किएको फिल्ममा सौगात मल्ल, जस्मिन श्रेष्ठ र कर्माबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ । उनका अनुसार काठमाडौं उपत्यकाका २० र मोफसलका ४५ गरी ६५ ओटा हलमा फिल्म रिलिज हुनेछ।

सारा गुरुङ सह–निर्माता रहेको फिल्ममा सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, विमला गिरी, देशभक्त खनाल, सविन बास्तोला, प्रमिला तुलाचन, राजेश शाही, युवराज भण्डारी, तेज गिरीको अभिनय छ । फिल्ममा कालीप्रसाद बासकोटा र विकास चौधरीको संगीत, प्रदीप भारद्वाजको लेखन र हरि घले लामाको छायांकन छ।

नेपालमा भारतले लगाएको अघोषित नाकाबन्दीताका तराईमा भएको आन्दोलनलाई नजिकबाट नियालेका एक फोटोपत्रकारको कथाव्यथालाई विषय बनाएर निर्माण गरिएको फिल्म ‘साढे ७’मा गायक सत्यराज आचार्य प्रमुख भूमिकामा छन्।

सुनिल थापाको प्रस्तुतिमा सत्यस्वरुप इन्टरटेन्टमेन्ट, माउरी इन्टरटेन्टमेन्ट, ब्याल्क पेपर स्टुडियो, एबिसी एण्ड एआरसी ग्राण्डसन फिल्मस्को ब्यानरमा बनेको फिल्ममा मेनका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कटुवालको अभिनय छ ।  साम्तेन भुटिया निर्देशित फिल्ममा सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेश देव पन्त, डिजे सन्तोष र साम्तेम भुटियाको संयुक्त लगानी छ।

फिल्मलाई मलेसियाको अराइजर मेनेजमेन्ट एसडीएन बीएचडीले मलेसियाको मलाय भाषाको सबटाइटलसहित फिल्म प्रदर्शनको अधिकार लिइसकेको छ । यो फिल्म आगामी मार्च २ मा मलेसियाका ७ सय थिएटरमा एकसाथ प्रदर्शन हुँदैछ । बुधबार कुमारी हलमा प्रिमियर भएको फिल्मले मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो । केहीले फिल्म फरक विषयमा निर्माण भएको भन्दै प्रशंसा गरेका थिए भने केहीले विषयवस्तु रोचक हुँदाहुँदै निर्देशक पटकथा र निर्देशकको रुपमा अलमलिएका थिए । गायक सत्यराज आचार्यको अभिनयलाई सबैले रुचाएको प्रतिक्रिया दिएका थिए।
 

प्रकाशित: ११ फाल्गुन २०७४ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App