coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि महानगरले पुनर्निर्माणमा चासो नदेखाएपछि सम्पदा अलपत्र परेका हुन्।

महानगरको जिम्मेवारीमा वसन्तपुर दरवार क्षेत्रका २९ र अन्य क्षेत्रका ७८ गरी १ सय ७ सम्पदा छन् । ‘भूकम्पबाट क्षति पुगेका तीनवटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरेका छौं,’ महानगर सम्पदा विभागकी प्रमुख अर्चना शाक्यले भनिन्, ‘तीन दर्जन बढी सम्पदा भने पुनर्निर्माणको अन्तिम चरणमा छन् ।’

उनका अनुसार महानगरले अहिलेसम्म वडा नं. २९ को अशोक चैत्य,  वडा नं. ४ को तस्वादेव मन्दिर र ठमेलको गहिटी ढुंगेधारा पुनर्निर्माण सम्पन्न गरेको छ । कतिपय सम्पदा पुरातत्व विभागमार्फत पुनर्निर्माण भइरहेको तथा केही सम्पदा गुठीको जिम्मेवारीमा रहेका शाक्यले बताए । वसन्तपुर क्षेत्रमा पुरातत्व विभाग तथा केही दातृ निकायले पनि सम्पदा पुनर्निर्माण गरिरहेका छन् ।महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्की पनि महानगरभित्रका सबै सम्पदा आफ्नो जिम्मेवारीमा नरहेको बताउँछन् । ‘महानगरभित्रका सबै सम्पदा हाम्रो जिम्मेवारीमा मात्रै छैनन्,’ उनले भने, ‘महानगरले जिम्मा लिएका सम्पदा विशेषगरी काष्ठमण्डप र रानीपोखरी हुन् ।’

काष्ठमण्डप निर्माण छलफल अगाडि बढ्ने क्रममा र रानीपोखरी निर्माणको क्रममा रहेको कार्कीको दाबी छ ।
सम्पदा विभाग प्रमुख शाक्यका अनुसार महानगरभित्रका स–साना सम्पदाहरू स्थानीयको चासोले पनि पुनर्निर्माण हुन सकेका छैनन् । ‘स–साना सम्पदा स्थानीयको सहभागितामा बनाउने अवधारणा छ,’ उनले भनिन्, ‘सोचे अनुरूप स्थानीयको सहभागिता नभएको कारणले पनि महानगरभित्रका सम्पदा पुनर्निर्माण हुन सकिरहेका छैनन् ।’ उनका अनुसार कतिपय सम्पदा पुरातत्व विभागबाट स्वीकृति लिनु पर्ने भएकाले पनि ढिलाइ भइरहेको छ ।

‘सबै सम्पदाको पुनर्निर्माण हामीले सिधै गर्न सक्दैनौं,’ उनले भनिन्, ‘त्यस्ता सम्पदा विभागको स्वीकृति, डिजाइन र इस्टिमेट लिँदा ढिलो हुने गरेको छ ।’ सम्पदाको पुनर्निर्माण घरको जस्तो सहज नभएकाले पनि ढिलाइ हुने गरेको उनले बताइन् । स्थानीय तह तथा वडा कार्यालयमा जनप्रतिनिधि आएकाले अब भने महानगरभित्रका सम्पदा धमाधम पुनर्निर्माण हुने उनको अनुमान छ ।‘वडाध्यक्षहरू आफ्नो टोलका सम्पदा बनाउने सचेत देखिनुहुन्छ,’ उनले भनिन्, ‘अबचाहीँ सम्पदा चाँडै निर्माण हुने आशा गरौं ।’

प्रकाशित: ११ फाल्गुन २०७४ ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App