coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुख्यमन्त्रीसँग मेडिकल शिक्षा सुधारको माग

काठमाडौं – मधेसकेन्द्रित दलका बिद्यार्थी संगठनले प्रदेश नम्बर २ मा मेडिकल शिक्षा सुधारको माग गर्दै मुख्यमन्त्री मोहमद लालबाबु राउत र समाजिक विकास मन्त्री जितेन्द्र सोनललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

बिहीबार संयुक्त रुपमा राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष कुमार मिश्र र समाजवादी विद्यार्थी फोरम नेपालका वरिष्ठ उपाध्यक्ष रमेश यादबको संयुक्त टोलिले मन्त्रीहरुलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकार्षणपत्रमा देशकै सबै भन्दा बढी जनघनत्व भएको २ नम्बर प्रदेशको मेडिकल शिक्षाको दुरावस्थालाई प्रस्टयाइएको छ। यो प्रदेशमा जनकपुरमा रहेको जानकी मेडिकल कलेज र वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज पर्दछन्।

दुबै कलेजको भौतिक पूर्वाधार मेडिकल शिक्षाकोलागि कुनै पनि अवस्थामा उपयुक्त नभएकोले उत्पादित विद्यार्थीको दक्षता र क्षमता बृद्धि गर्न मेडिकल कलेजहरुको ब्यवस्थापनमा जोड दिन आग्रह गरिएको छ।

‘शैक्षिक क्षेत्रमै महत्पूर्ण पाठ्यक्रमको रुपमा रहेको मेडिकल शिक्षाको  दुरदर्शा हेर्दा आँखा रसाएको छ,’ध्यानाकर्षण पत्रमा उल्लेख छ,‘राज्यको मापदन्ड विपरित संचालनमा रहेको जानकी मेडिकल कलेज र नेशनल मेडिकल कलेजप्रति हामी मधेसी विद्यार्थी संगठन गम्भिर र सुक्ष्म तरिकाले नियालिरहेको छ।’

ध्यानाकर्षण पत्रमा जानकी मेडिक कलेज पूर्णरुपमा शैक्षिक माफियाको चगुलमा फसेको र त्यहाँ अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारिहरुमाथि आर्थिक र मानिसक रुपमा शोषण भइरहेको उल्लेख छ।

राजपा विद्यार्थी संगठनका अध्यक्ष मिश्रले वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज ब्यारेक तरिकाले संचालन भइरहेको बताए। कलेजले एमविविएस र एमडिमा सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क असुलीरहेको समेत मुख्य मन्त्री समक्ष पेस गरिएको पत्रमा उल्लेख गरिएको मिश्रले बताए। ‘भारतिय विद्यार्थीबाट बढी रकम असुली गर्ने प्रलोभनमा परेर नेपाली विद्यार्थीलाई सिट प्याक भएको नाटक रच्छन् कलेज संचालकहरु ,’अध्यक्ष मिश्रले भने‘ नेपाली विद्यार्थीलाई पढ्नबाट बन्चित गरिरहेका छन् ।’उनले थपे‘दुबै कलेजको भन्डाफोर हुने गरि हामी विद्यार्थीले अनुसन्धान गरेको विषयबस्तु ध्यानाकर्षण गराएका हौं।’  ध्यानाकार्षण पत्रमा दुबै कलेजलाई कानूनी दायराभित्र ल्याई कानूनी कारावही गर्न माग गरिएको छ।

 

 

प्रकाशित: ११ फाल्गुन २०७४ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App