१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘कम्युनिस्ट एकताबाट डराएर परम्परागत शक्तिले गडबड गर्न सक्छन्’

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रियाबाट डराएर परम्परागत शक्तिले अनावश्यक रुपमा गडबड गर्न सक्ने संकेत गरेका छन्।

अध्यक्ष दाहालले भने, ‘नेपालको राजनीतिक इतिहासमा रणनीतिक समयमा परम्परागत शक्तिले गडबड गरेको इतिहास छ। ठूला पार्टीबीचको एकता प्रक्रिया आम जनताले अनुमोदन गरेको भए पनि परिवर्तन नचाहने प्रवृत्तिलाई मन परेको छैन।’ 

रामराजा रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण’ पुस्तक सार्वजनिक गर्दै अध्यक्ष दाहालले एमाले र माओवादी केन्द्रबीचको एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बृहद् बहस सिर्जना गरेको र परिवर्तनकारी समुदायमा खुसीको सञ्चार गरेको बताए। 

फरकफरक राजनीतिक दृष्टिकोणका साथ राजनीतिक मैदानमा रहेको एमाले र माओवादीबीचको एकता सामान्य परिघटना मात्रै नभई नयाँ इतिहासको समेत सुत्रपात भएको उनको भनाइ थियो। 

‘कम्युनिस्ट आन्दोलनमा नयाँ विमर्श, नयाँ बहस शुरु भएको छ। केहीलाई मन नपर्न सक्छ। तर राजनीतिक इतिहासमा एउटा महान् प्रक्रिया शुरु भएको छ। यसलाई सफल बनाउनु हामी सबैको दायित्व हो’–अध्यक्ष दाहालले भने।

नेपालमा पहिलोपटक करिब दुईतिहाई मतका साथ वामपन्थी सरकार गठन भएको र जनताको अपेक्षालाई क्रमबद्ध रुपमा सम्बोधन गर्नुपर्ने अवस्था आएको उल्लेख गरे। वामपन्थी शक्ति मिलून् भन्ने जनताको विगत लामो समयदेखिको अपेक्षा रहेको भए पनि नेतृत्वले सकारात्मक पहल गर्न नसक्दा सफल नभएको दृष्टान्त पेश गर्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अगाडि भएको वामगठबन्धनको निर्णयलाई जनताले अनुमोदन गरेको स्पष्ट पारे। 

राजनीतिक स्थायित्वलाई संस्थागत गर्न आर्थिक समृद्धि र विकासको नारा अगाडि सारिएको स्पष्ट पार्दै उनले जनताको अपेक्षा सम्बोधन गर्न वामपन्थी शक्ति एकाकार भएर लाग्ने बताए। रासस

प्रकाशित: ११ फाल्गुन २०७४ १३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App