८ वैशाख २०८१ शनिबार
कला

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

मकवानपुर – नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका सबै हलहरुबाट राम्रो प्रतिक्रिया पाएपछि उनी अहिले मोफसलका हलहरुमा पुगेकी छिन्। हल सञ्चालक, व्यवस्थापकसँगै दर्शकहरुसँग प्रतिक्रिया लिन उनी शुक्रबार हेटौंडामा पुगिन्। फिल्म हेरेर हलबाट निस्कदै गरेका दर्शकहरुसँग उनले फोटो खिचाएर खुशी साटिन्। उनलाई साथ दिन फिल्मका कलाकारहरु विनोद न्यौपाने र दीलिप पन्त पनि आएका थिए।

करिब २ करोड रुपैंयामा बनेको फिल्मले राम्रो व्यापार गरेको बताउँदै उनले दर्शकले फिल्मलाई रुचाएको प्रतिक्रिया दिईन्। शनिबार चितवनका हलमा पुगेर प्रतिक्रिया लिदै बुटवल पुगेर काठमाडौं फर्किने उनले बताईन्। ‘कान्छीलाई मायाँ गर्नु भएका दर्शकहरुलाई भेट्न पूर्वी नेपालमा आउँछु’, उनले रमाईलो गर्दै भनिन्, ‘सबैतिरबाट एकदमै राम्रो प्रतिक्रिया पाईरहेको छु।’

शुक्रबारबाट प्रदर्शनमा आएको साँढे ७ र पञ्चेबाजा फिल्मसँग प्रतिष्पर्धा गरिरहेको कान्छीले राम्रो व्यापार गरेपछि आफू उत्साही भएको खड्काले बताईन्। ‘दर्शक अभाव भएकाले अरु २ फिल्मको शो रद्द भएर कान्छी चलाईएको पाए’, खुशी हुँदै उनले भनिन्, ‘कान्छीमा राम्रो कथा र सन्देश छ, धेरै कुरा सिक्न पाईन्छ, किताव जस्तै हो।’

कान्छी २ बनाउन दर्शकहरुले हौसला दिएको समेत बताउँदै उनले लगानी सुरक्षित भईसकेको भन्दै दोस्रो सातामा पनि राम्रो कमाई भईरहेको दाबी गरिन्। गत शुक्रबारदेखि देशभरका १ सय ७ हलमा प्रदर्शन भईरहेको फिल्म पूर्वी नेपाल, चितवन र पोखरामा सबैभन्दा राम्रो व्यापार गरिरहेको उनले बताईन्।

मुस्ताङ, जोमसोम र काठमाडौंमा खिचिएको फिल्ममा श्वेता ‘कान्छी’को शीर्ष भूमिकामा छिन्। फिल्ममा नायक दयाहाङ राई, कलाकार नीर शाह, कामेश्वर चौरसिया, नायिका अनु शाह, कलाकार आशान्त शर्मा, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरी लगायतले अभिनय गरेका छन्। 

आकाश अधिकारी निर्देशित फिल्ममा दयाहाङ राई, नीर शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने, प्रज्ज्वल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय छ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र शम्भूजित बास्कोटाको संगीत छ। वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको फिल्मलाई यम थापाले लेखेका हुन्।

प्रदर्शन अघि नै ‘चरी चट्ट परी’ गीत लोकप्रिय भएको कान्छी फिल्म रिलिज गर्ने मिति माघ २६ गते तोकिएपनि अनमोल केसीको मुख्य भुमिका रहेको ‘कृ’ फिल्म सोही दिन रिलिज हुने भएपछि फागुन ४ गतेलाई सारिएको थियो। कोहिनुर फिल्ममा नायक श्रीकृष्ण श्रेष्ठको जोडीमा देखिएकी श्वेता करिब ५ बर्षपछि फिल्ममा कमव्याक भएकी हुन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App