coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘स्वप्नदृष्टि’ महाकाव्यमा आध्यात्मिक दृष्टि

ज्ञाननिष्ठ ज्ञवाली

रामप्रसाद ज्ञवालीको ‘स्वप्नदृष्टि’ (२०७४) आध्यात्मिक बाछिटाले लपक्कै भिजेको अध्यात्मवादी महाकाव्य हो । पूर्वीय अध्यात्म दर्शनले चिन्तन गरेका सृष्टि, स्थिति, जन्म, ईश्वर, जीवनजगत्बारेको चिन्तन उनका कविता काव्यमा पाइन्छ । उनले ‘औँसीका फूलहरू’ महाकाव्यमा पनि ‘देश मन्दिर हो मेरो जनता देव सुन्दर’ भनेका छन् । उनले आफ्ना कवितामा पूर्वीय वैदिक दर्शनले मानेको संसारको अनित्यतता÷जीवनको क्षणिकतालाई सटीक ढंगमा प्रस्तुत गरेका छन्।

महाकाव्यको पहिलो श्लोकमा छ, ‘देखूँ सुन्दर जिन्दगी प्रगतिका–मान्छे उठेको सदा.. ।’ यस अभिव्यक्तिभित्र श्रम, सुन्दर प्रीति, सारपूर्ण कविता, साँचो कला सबै पर्छन् । यसमा मानवतावादी अध्यात्मवादी चिन्तन छ। यसै सर्गमा मान्छेको मनको मैलो कसरी धुन सकिएला ? (पृ.४१) मान्छेको जीवन कसरी सम्पन्नता र सुखले भर्ने ? जीवनलाई सकारात्मक दिशातिर कसरी बदल्ने ? जस्ता कुरा आएका छन् । पूर्वीय दार्शनिक चिन्तनका दृष्टिले निकै महत्वपूर्ण मान्न सकिने तलको महाकाव्यांश यस्तो छ ः
उस्तै छन् वृत्ति मान्छेका, छन् प्रवृत्ति अझै उनै !
लोभ, पाप र इष्र्याका द्वन्द्व चल्छन् अझै उनै !
सानो छँदा पढ्यो घोक्यो— ‘म राम्रो’ नै सुगा बनी
‘म ! म !’ भन्छ त्यसैले ऊ ‘तम’ बन्दै गए पनि ! (सर्ग १, पृ.४३)

यो संसार अज्ञानमै रुमलिएको छ । मानिसले आत्मज्ञान प्राप्त गर्न सकेको छैन । लोभ, पाप र इष्र्याका घेराभित्र सीमित भएर मानिस दिन प्रतिदिन दुःखी बन्दै छ । जीवनको वास्तविकता बुझेको छैन । यिनै दार्शनिक विचार यहाँ आएका छन्।यस महाकाव्यमा जति अगाडि बढ्दै गइन्छ, कविका पिताजीको आध्यात्मिक जीवन पढ्न पाइन्छ । कविले आफ्ना पिताजस्तै हुन नसकेकामा कति पश्चाताप गरेका छन् वा समग्र मानवीय समाज योगदर्शनबाट विमुख हुँदा कस्तो भएको छ, यहाँ हेर्न सकिन्छ :
म अल्छी सुतुवा छोरो हुतिहारा युवा तर
यस्तो बूढो हुँदासम्म पिताजी फुर्तिला नर !
बनेँ के कर्मले गर्दा सबैभन्दा म कातर !
आफ्नै स्वभावले मान्छे बन्छन् निर्जर–उर्वर ! (सर्ग १, पृ.४७)

यसमा कर्मको महत्वलाई उजागर गरिएको छ । मीमांसा दर्शनमा आधारित वेदको पूर्वभागमा चर्चा गरिएको कर्मलाई यहाँ प्रस्तुत गरेर कवि ज्ञवालीले मान्छेको कर्मअनुसारको फललाई स्वीकार गरेबाट उनी पूर्ण आध्यात्मिक कवि हुन् । महाकाव्यको प्रथम सर्गका केही श्लोकमा जीवनजगत्को सारतŒव खिचिएको छ । खाने, पिउने, सुत्ने, उठ्ने जस्ता सामान्य कुरा त सबैले गरेकै हुन्छन् तर मनुष्यजीवनको सार्थकता के हो भन्नेबारे चिन्तन गहिरो छ। कविका प्रश्नका दार्शनिक उत्तर दिने हो भने यो महाकाव्य पूर्वीय दर्शनकै केन्द्रीयतामा घुमेको पाइन्छ । कवि प्रथम सर्गका पृष्ठ ४८–४९ सम्म प्रश्नैप्रश्नले घेरिएका छन् । ती प्रश्नका उत्तर खोज्दा पाइँदैन । ती उत्तर दार्शनिक÷आध्यात्मिक तहमा पुगेर मात्र पाइन्छन्।
नजानी जन्मको अर्थ, नबुझी मर्म कर्मको
नजानी सृष्टिको मर्म, नगरी कर्म धर्मको
सामान्य नै बित्यो मेरो सारा आयु कनी कनी
गर्छु भन्दै नगर्दैमा हुतिहारा बनी बनी । (सर्ग १, पृ.५०)

प्रस्तुत पंक्तिमा मानवीय जीवनको अन्धकार वा अज्ञानको एउटा सम्रग्र पाटोलाई समातिएको छ । ‘मातृदेवो भवः, पितृदेवो भवः’ भन्ने हाम्रा पूर्वीय सनातन वैदिक मान्यता यस महाकाव्यका प्रथम सर्गका पृष्ठ ५२–५४ का श्लोकमा पाइन्छ ।सारमा यो महाकाव्यको पहिलो सर्ग पौरस्त्य आध्यात्मिक जीवनदर्शनका दृष्टिले परिपाकपूर्ण छ । जीवनजगत् बुझ्ने प्रयासमा कवि दोस्रो सर्गमा उत्तरकोरिया–चीनतर्फ लाग्ने तयारीमा छन् । आफ्नी जीवनसंगिनीप्रति देखाएको भाव निकै मर्मस्पर्शी छ।

चौथो सर्गमा मनको प्रसंग आएको छ । मनको महत्वलाई विभिन्न सन्दर्भमा ल्याइएको छ । नेपाली युवा विदेशपलायन भएको देख्दा कवि मन कुँडिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना गरिएको छ । चीनको बसाइँका कुरा छन्।पाँचौँ सर्गमा चिनियाँ भाषा नजान्दा कवि मन असन्तुष्ट भएको छ । यसमा चीनकै वर्णन छ । भोग र उपभोग, ज्ञान र विज्ञानको कुरा छ।छैटौँ सर्गमा माओको देशको वर्णन गर्दै नेपालका लुम्बिनी र पशुपति जस्ता धार्मिक सम्पदाको उल्लेख छ । सातौँ सर्ग उत्तरकोरियातिर बगेको छ । त्यहाँको वर्णन छ । अन्तमा यस्तो जीवनचिन्तन प्रस्तुत गरिएकोे छ :
जो सुत्छ उठ्दा पनि अन्धतामा
त्यो पर्छ आजीवन बन्धतामा
जो उठ्छ सुत्दा पनि चेतनामा
पर्दैन त्यो जीवन वेदनामा । (सर्ग ७, पृ. १४७)

आठौँ सर्ग कोरियामै बितेको छ । अतिथि सत्कारको चर्चा छ । नेपाल देशको वर्णन छ । नेपाली धर्मसंस्कृतिको चर्चा छ । नेपाली साहित्यकारको सन्दर्भ छ ।नवौँ सर्ग र १०औँ सर्ग पनि कोरियाकै बारेमा छ । त्यहाँको विधि–प्रविधिका विशेषताको चर्चा छ । ११औँ सर्गमा कोरियाको शिक्षापद्धतिको चर्चा छ । ज्ञान, ध्यान रसभ्यतासहितको शिक्षालाई महत्व दिइएको छ । ज्ञानसहितको कर्मलाई कविले आत्मसात् गरेको देखिन्छ। १२औँ सर्गमा कोरियामा भएको अन्तर्राष्ट्रिय सम्मेलनको झलक छ । अन्य सन्दर्भ पनि छन् । लोभ, मोह, कुण्ठा, असन्तुलित खानपान रोगका लक्षण भएकाले त्यसबाट बच्ने सल्लाह छ । मन र शरीरको रोगबाट टाढै रहनुपर्ने जीवनपद्धतिका पक्षमा विचार व्यक्त गरिएको छ, ‘सहनैपर्छ आफैँले, आफैँले भोग्नुपर्दछ’ (सर्ग १२ : पृ.२२४) । यो भनाइ पूर्वीय दार्शनिक चिन्तनका दृष्टिले महत्वपूर्ण छ।

१३औँ सर्गमा पनि कविको जीवनजगत्प्रतिको गहिरो चिन्तन छ । मृत्युबोध छ । पूर्वीय दार्शनिक चिन्तनका दृष्टिले तलका श्लोकहरू उदाहरणीय छन् :
बुझ्न बाँकी छ मान्छेले के हो ‘काल’ र ‘जीवनी’
कहिल्यै ‘काल’ बित्दैन, बित्छ मानिसको जुनी ।
बित्यो समय हा ! भन्दै मान्छे खोज्छ हतारिन
‘यो बित्यो ! त्यो बित्यो !’ भन्दै दौडिराख्छ लतारिन
किन्तु यो काल बित्दैन, बित्छ मान्छे बुढो हुँदै
तिर्खा मेट्न भनी कुद्छ झन् झन् तिर्खा बढाउँदै ! (सर्ग १३, पृ.२२४)
१४औँ सर्गमा संस्कृति, संस्कार, आचार, व्यवहार आदि राम्रो हुनुपर्नेतर्फ संकेत गरिएको छ । १५औँ सर्गमा कवि विश्वबन्धुत्व र विश्वमानवतातिर झुकाव राख्दै राष्ट्रप्रेमी भएको देखिन्छ । १६औँ सर्गमा मान्छेलाई मान्छेजस्तै बन्न र स्वतन्त्रताको पक्षमा रहन सन्देश दिइएको छ।

१७औँ सर्गमा आत्मबोधविना केही नहुने तर्क छ । कवि कुनै साँघुरो विचारको ‘वादी’ नभई संसारको क्षणिकतालाई स्विकार्ने मानवतावादी-अध्यात्मवादी नै हो भन्ने कुरो त महाकाव्यको अन्तिम श्लोकमा पनि छ :
कोही हुन्न सदा सदा अमर हे ! खर्बौं कमाए पनि
मर्नै पर्दछ एकबार सबले संसार पाए पनि
छाडौँ गर्न घमन्ड व्यर्थ प्रिय हे ! सद्भावना भर्नु छ
मान्छेको सुखनिम्ति मानिस बनी सञ्चेतना छर्नु छ । (सर्ग १७, पृ.३०५)

अध्यात्म भनेको आत्मज्ञान, तत्वमीमांसा, भित्री ज्ञान वा तत्वज्ञान हो । आध्यात्मिक भनेको अध्यात्मसँग सम्बन्ध राख्ने, अध्यात्मसम्बन्धी, आत्मासम्बन्धी वा जीवसम्बन्धी भन्ने अर्थ लाग्छ । महाकवि यी कुराबाट टाढिन सकेका छैनन् ।कवि ज्ञवालीलाई एक सशक्त आध्यात्मिक कवि भनेर पूर्ण रूपमा प्रमाणित गर्न सकिन्छ । कविकै पूर्वीय संस्कार जगका सापेक्षतामा ‘स्वप्नदृष्टि’ महाकाव्यमा आध्यात्मिक चिन्तनका बाछिटाले चारैतिरबाट हानेकै छ।

प्रकाशित: १२ फाल्गुन २०७४ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App