८ वैशाख २०८१ शनिबार
अन्य

हिरोसिमामा कविता

 विमल भौकाजी

यो कथा सन् १९४५ को । म कहाँ थिएँ त्यसबेला ? तपाईं कहाँ हुनुहुन्थ्यो ? थाहा छैन । आज हामी बाँचेका छौँ । हिजो अरूहरू नै बाँचेका थिए । बाँचे के भन्नु, मरेका थिए।

र यो तिनै मरेकाहरूको यथार्थ हो । मेरो मानसपटलमा यसबेला, त्यो यथार्थ भूमिमा मैले टेकेका दिन डेरा जमाउन आइपुगेका छन्।हिरोसिमा, त्यो यथार्थ–भूमि ! अँध्यारो इतिहासको पृष्ठहरू पल्टाउँदै छु म यतिखेर ।१९४५ को त्यो एउटा कालो दिनमा अमेरिकी आणविक बम प्रहार गरिएर एकसाथ लाखौँ मानिस मरेका थिए, हिरोसिमामा ।

यो एउटा संयोग ! ११ सेप्टेम्बरको दिन, अमेरिकाको न्युयोर्कस्थित टु–इन टावरमा हवाई आक्रमण भएको ठीक ११ वर्षपछि, २०११ सेप्टेम्बर ११ को पूर्वसन्ध्यामा डा. दुबसु क्षेत्री (वर्तमान राजदूत, संयुक्त अधिराज्य बेलायत) को आत्मीय मित्रताको चौडा राजमार्गबाट त्यही हिरोसिमा पुगेँ।

वर्तमानमा, हरियाली नै हरियाली, हिरोसिमा हरियै भएर मौलाएको थियो । लाग्यो, कुनै बखत रासायनिक बम झारिएर त्यहाँको माटोमा उर्वरता नै सखाप पारिएको तथ्य त मानौँ एउटा काल्पनिक कथाजस्तो मात्रै । हिरोसिमासँग कुनै दुःख–पीडा देखिएन । किनकि उसमा कुनै घाउचोटको कतै चिह्न थिएन । तर संकेतका लागि हिरोसिमामा एउटा अर्धजीवित घर भने ठिङ्ग उभिएको देखियो । वास्तवमा त्यही जीर्ण घर नै पर्याप्त थियो, त्यो सहेर सहिनसक्नुको इतिहास वर्णन गर्नका निम्ति।

बमले तहसनहस पारेको सम्पूर्ण हिरोसिमामा बडो सुरक्षितपूर्वक बचाइराखेका रहेछन्, त्यो एक्लो जीर्ण घरलाई, जापानले । त्यो देख्नेबित्तिकै मैले सोच्न पुगेँ, हाम्रो देशमा भए विरूप भनेर भत्काइसकिन्थ्यो होला । महानगरपालिकाले त्यस्तो ठाउँ खालि बनाएर व्यापारिक प्रयोजनका लागि टेन्डर खोलिसक्थ्यो होला ।
म समेतका हामी, त्यतिखेर हिरोसिमामा पुग्नेहरू सबै, साहित्य–वर्गका । त्यसमा पनि अधिकांशतः कविता–अनुरागी ।
हामीलाई छोइहाल्यो, हिरोसिमाको पुरानो त्यो पीडाले । लाग्यो, अभैm पनि बर्बरी आँसु झारिरहेछ हिरोसिमा । त्यसैले कुनै पूर्वयोजनाबिनै तत्कालै कागजका केही सादा पन्नाहरू खोज्यौँ र तिनलाई जोडजाड पारेर एउटा ब्यानर बनायौँ, जहाँ मैले लेखेँ–
हिरोसिमामा
ऐतिहासिक नेपाली कवि सम्मेलन
१० सेप्टेम्बर २०११, हिरोसिमा, जापान  
त्यो पुरानो ऐतिहासिक घरलाई पृष्ठभूमिमा पारेर ब्यानरलाई बारमा टाँग्यौँ र हामीसँग उपलब्ध कविताहरू वाचन गर्न थाल्यौँ,
कवि डा. दुबसु क्षेत्रीले पढे–
‘एक दिन एकान्तमा हनुमानले सोच्यो
    मैले जीवनभरि रामलाई काँधमा बोकेर
किन हिँडे हुँला
    मैले आफ्नो घर बसाउन छाडेर
    रामको घर बसाउन किन लागेँ हुँला...’
केही वर्ष अघिदेखि जापानमै अध्ययनरत डा. राजन दाहाल र डा. नेत्र भण्डारी, उनीहरू पनि कवि–हृदयकै परेछन्– हाम्रो साथमै थिए, दुवैले गजल वाचन गरे ।
क्रमैसँग व्याकुलले स्थानसापेक्ष आफ्नो कविता सुनाए–
‘हिरोसिमा, तिमी खरानी भएनछौ.... ।’
साथै भरत भारद्वाजले सुनाए–
‘...कापीबिना हुन्न कलमको योग
कलमबिना हुन्न कापीको योग
तथापि कापी बुझ्दैन कलमको भोक ।’
तत्पश्चात्, तहसनहस भइसकेर पनि आज विकासको चरम बिन्दुमा पुग्न सफल हिरोसिमाप्रति शिर झुकाउँदै आफ्नो देशको विकृतिलाई सम्झेर मैले कविता वाचन गरेँ–
‘...तिमीसँग के छ ?...
    मसँग कवि भूपि पनि छ
मसँग उसको कविता पनि छ
र कवितामा साँघुरो गल्ली छ
‘साँघुरो गल्लीमा चोक छ
त्यहाँ के छैन ? सबथोक छ
असङ्ख्य रोग छ
अनन्त भोक छ
असीम शोक छ ।’
तर तिमीसँग के छ ?
भन, के छ तिमीसँग ??’
करिब डेढ घन्टासम्म निरन्तर चलेको हाम्रो त्यो कार्यक्रमका प्रमुख सहयात्रीद्वय वरिष्ठ भाषाविद् डा. चुडामणि बन्धु र लुम्बिनी बौद्ध विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. त्रिरत्न मानन्धरले त्यहाँ वाचित ती कविता–गजलहरूको समीक्षा गरेका थिए । कवि सम्मेलनको बीचमै दुबसु क्षेत्रीको ‘कोलाज मन’ (गजलङ्ग्रह), भरत भारद्वाजको कवितासङ्ग्रह ‘पुंसत्व र पर्खाल’ तथा यो पंक्तिकारद्वारा सम्पादित ‘नारी स्रष्टाः चिन्तना र सिर्जना’को समेत विमोचन गरिएको थियो ।आणविक बम खसालिएको हिरोसिमाको बिन्दुमा हामीले पाइला राख्नेबित्तिकै भरतले भनेका थिए, ‘हैन, किन केही डढेको गन्ध आउँछ हँ यहाँ ?’

मैले उनको भनाइ कुनै भेऊ पाइनँ, त्यतिबेला । तर बमले पूरै खान नसकेको एउटा घर जब देखियो, जब आणविक बमको प्रहारको रासायनिक असर सहन नसकी पीडितहरूले हामफालेको नदी नजिकै देखियो अथवा छेउमै रहेको स्मरणस्थल वा म्युजियमभित्र राखिएका पीडितका हातका औँलाहरूबाट तप्तप् पग्लेर मासु चुहिएको देखियो, एउटा स्कुले बच्चाले च्यापिराखेको सग्लो ‘टिफिन बक्स’ देखियो, आँखा सामुन्नेका ती पीडा–प्रमाणलाई मैले जबर्जस्ती आत्मसात् गर्दै गएँ । ओहो, कस्तो विभत्स मृत्यु–भोगाइ भयो होला ? कस्तो त्रासदि पैmलिएको थियो होला  त्यो दिन त्यहाँ ? सन् १९४५ को त्यो नरसंहारको दृश्यको कल्पना मेरो मस्तिष्क–हृदयभरि अट्नै नसक्ने गरी छताछुल्ल भयो।

वास्तवमा, त्यो पीडाभूमि हिरोसिमामा कविता पढिनुको खुसीभन्दा इतिहासको त्यो भग्नावशेषयुक्त घर, घाइतेको पीडा पखाल्न नसकेको त्यो नदी वा त्यो दुःख बोकेको प्रमाण स्वरूपको म्युजियमको साक्षी हुनुपर्दा म बढी मर्माहत थिएँ, त्यो क्षण । तथापि हाम्रा लागि त्यो कविता–वाचन कार्यक्रम ऐतिहासिक थियो । किनभने विगतमा त्यहाँ पुगेर कसैले–कुनै समूहले नेपाली कवि सम्मेलन गरेका थिएनन्, सम्भवतः हामी नै पहिलो थियौँ ।

अविस्मरणीय त्यो दिन !

जब आज कम्प्युटरको स्क्रिनमा त्यो स्मृतिका तस्बिर हेर्दै छु, म बडो असमञ्जस्य स्थितिमा छु– हाम्रो सानो समूहले ‘ऐतिहासिक नेपाली कवि सम्मेलन’ नामाकरण गरेर आयोजना गरेको त्यो कविता–कार्यक्रमप्रति गर्व मानुँ कि त्यो दुःख–भूमिले बेहोरेको पीडाप्रति मौनधारण गरूँ ?
 

 

प्रकाशित: १२ फाल्गुन २०७४ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App