coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

वीरगन्जकी ‘काजोल’

समाचार संकलनका लागि करिब ६ वर्षअघि वीरगन्ज चिनी मिलछेउ डोमबस्ती पुग्दा एक्कासि एक बालिकाले ध्यान खिचिन् ।सडकभन्दा केही पर फोहोरको थुप्रोनजिकै खेलिरहेकी उनी डोम बस्तीका अरु बालिकाभन्दा फरक थिइन् । गलामा पोते र निधारमा टीका लगाएकी बालिका मतर्फ फर्केर मुसुक्क मुस्काइन्।

मैले हतारहतार उनीतर्फ क्यामेरा सोझ्याएर तस्बिर लिएँ । तिनका आँखा नीला थिए, कपाल सुनौलो थियो। उनी थिइन्– तराईको गरिब दलित बस्तीकी आठ वर्षीया काजल मली ।वीरगन्जकै गरिब बस्तीमा भेटिएकी काजल, बलिउड अभिनेत्री काजोलभन्दा कम थिइनन् । अझ उनको नीलो आँखा हेर्दा लाग्थ्यो, उनी त ऐश्वर्या राय हुन्, एन्जेलिना जोली हुन्।

डोम बस्तीमा हुर्कंदै गरेकी काजलका नीला आँखा र मुस्कानले मलाई पछ्याइरहे । अभाव र गरिबीबीच भेटिएकी काजल हिलोमा फूलेको कमल जस्ती थिइन् । उनको परिवारमा अभाव छ, समुदायलाई नै वर्णव्यवस्थाको गह्रुँगो विभेदले किचेको छ । तर, काजललाई न परिवारको अभाव थाहा छ, न त सामाजिक विभेद नै । उनी त अबोध बालिका हुन्, जो नौलो मानिस आउँदा उस्तै गरी मुस्काउँछिन् ।हुन त मैले पत्रकारका रूपमा मात्र काजलको तस्बिर क्यामेरामा कैद गरेको थिएँ, तर उनका नीला आँखा र मन्द मुस्कान भने मनमा समेत कैद हुन पुगे । पत्रकारिता कर्ममा धेरै तस्बिर खिचिए, काजलको जस्तो मनै लोभ्याउने तस्बिर भने कमै कैद भए मेरो क्यामेरामा ।

भनिन्छ, हजार शब्दले नबोल्ने कथा एउटा तस्बिरले बोल्न सक्छ । त्यसैले होला, काजलको मुस्कान, हेराइ र नीला आँखाले एउटा गरिब दलित परिवारको कथा सँगसँगै बालिकाको अबोधपन समेत बोलिरहेको जस्तो लाग्थ्यो ।आफूले खिचेका सबै तस्बिरका पात्रलाई पछ्याउन मन लाग्दैन, पछ्याइँदैन पनि । केही पात्र यस्ता हुन्छन्, जसलाई नपछ्याइरहन सकिँदैन । तिनीहरू क्यामेरामा मात्र होइन, हृदयमै कैद हुन्छन्।

पहिलोपटक खिचिएको काजलको तस्बिरले मन छोएको हुँदा उनलाई नपछ्याइरहन सकिनँ । त्यसैले २०६९ को वैशाखतिर फेरि लागेँ, त्यही बस्तीतर्फ ।बस्तीमा काजल भेटिइनन् । आँगनमा खट्याङखुट्टी खेल्दै गरेका केटाकेटीको भीडमा उनलाई खोजेँ । सडक वरपर हिँड्दै गरेका बालबालिकाको हुलमा उनलाई पहिल्याउन प्रयत्न गरेँ । काजललाई कतै नदेखेपछि खेल्दै गरेका साना बालबालिकाको तस्बिर खिच्न थालेँ।

अचानक एउटा चिनेकोजस्तो मुहारलाई क्यामेराको लेन्सले कैद ग¥यो । क्यामेरामा कैद मन्द मुस्कान अरुको थिएन, तिनै काजलको थियो । तर, यसबेला एक वर्ष अघिजस्तो उनको गलामा पोते थिएन । शिरमा केश थिएन, कानमा कुनै गहना देखिएनन् । मुडुलो टाउको र बुच्चो कान भए पनि उनको मुस्कान र नीला आँखामा उस्तै अबोधपना देखिन्थ्यो।

हातमा खरबुजा लिएर खाँदै गरेकी काजलको तस्बिर मैले फेरि कैद गरेँ । तस्बिर लिइसकेपछि मैले काजल मलीको परिवर्तित रूपबारे गाउँलेलाई सोधेँ । गाउँलेले भने, ‘घरवरपर फोहोर छ, पानी अभाव छ, सधैँ नुहाउन नसक्दा खटिरा आएकाले उनको कपाल काटिएको हो ।’ काजलकी आमासँग पनि मैले यसबारे सोधेँ । उनले भनिन्, ‘पहिला त काजलले कपाल काट्नै मानेकी थिइन, बल्ल मानी।’

तराईका डोम समुदायलाई स्थानीय हुनेखानेले वैवाहिक समारोह हुँदा नयाँ लुगा र सौन्दर्य सामग्री दिन्छन् । एक वर्षअघि काजलको तस्बिर लिँदा उनले त्यस्तै समारोहबाट नयाँ लुगा र सौन्दर्य सामग्री पाएकी थिइन् । त्यसैले उनी लुगा र गहनामा सजिएकी थिइन् । अहिले भने गाउँमा कसैको बिहेको अवसर परेको थिएन । त्यसैले उनी गहनाविहीन थिइन् । फेरि गाउँमा कसैको बिहे भए उनले लुगा, गहना र सौन्दर्य सामग्री पाउनेछिन् । यो कथा काजलको मात्र होइन, तराईका धेरै डोम परिवारको हो ।दोस्रो तस्बिर लिएपछि मैले अघिल्लो वर्षको तस्बिरसँगै राखेर हेरेँ । दुई तस्बिरसँगै मैले काजल स्कुले उमेरमा पनि विद्यालय जानबाट वञ्चित भएको समाचार लेखेर नागरिक दैनिकलाई पठाएँ । भोलिपल्ट (२०६९ वैशाख ७ गते) नागरिक दैनिकको पहिलो पृष्ठमै काजलको तस्बिरसहित समाचार आयो, ‘काजल मली स्कुल जान्नन्’ शीर्षकमा ।

उनको सुन्दर तस्बिरसहित काजल स्कुल जान नपाएको समाचार छापिएपछि त्यसले ठूलै चर्चा पायो । धेरैले मलाई फोन गरेर उनलाई अध्ययनको व्यवस्था मिलाइदिने बताए । उनलाई पढाइदिने धेरै दाता भेटिएपछि मैले उनको परिवारलाई काजललाई स्कुल पठाउने व्यवस्था मिलाउन आग्रह गरेँ । दाताहरूका ‘अफर’ सुनाएँ । तर, काजलको परिवार उनलाई स्कुल पठाउन राजी भएन।बालविवाह प्रथा कायमै रहेको डोम समुदायकी एक बालिकालाई स्कुलको ढोकासम्म पुर्याउने एउटा अवसर वञ्चित भएकामा साह्रै नमजा लाग्यो ।म पनि वीरगन्ज कार्यक्षेत्रबाट काठमाडौं आएँ । उपत्यकाको जात्रापर्व र सामाजिक जीवनका कथा लेख्न र तस्बिर लिन थालेँ । मैले आफूलाई उपत्यकाकै काजल मलीका तस्बिर र समाचारमा भुलाउन थालेँ।

करिब दुई वर्षअघि पुरानो कम्प्युटरमा फाइल खोज्ने क्रममा अचानक काजल मलीको हँसिलो तस्बिर भेटेँ । विस्मृतिमा हराएकी काजल मलीको तस्बिरले मलाई एकपटक फेरि पुरानै दुनियाँमा पुर्यायो । काजल कस्ती भइन् होला ? पढ्न त पाइनन्, उनको बिहे भइसक्यो कि ?’ यस्तै प्रश्न मनमा रुमलिन थाले ।
गत चैतमा एकपटक फेरि वीरगन्ज जाने अवसर मिल्यो । बाइकमा मुग्लिनको बाटो हुँदै गन्तव्यतर्फ लागेँ।
त्रिशूलीको किनारैकिनार नीलो पानी नियाल्दै अगाडि बढ्दा काजलका नीला आँखाकै झझल्को आउँथ्यो । क्यामेरामा तस्बिर देखाउँदा उनले दिएको अबोध प्रतिक्रिया र फोटो धुलाएर दिँदाको लजालु मुस्कान सम्झिरहेँ ।काजल मली आफ्ना दुई दाजु र बा–आमासँग बस्थिन् । उनी र उनका दाजुहरू विद्यालय गएका थिएनन् । उनकै जस्तो १२ परिवार बसोबास रहेको त्यो बस्तीमा धेरैलाई काजललाई बिरालाको जस्तो आँखा भएकी समेत भन्ने गर्थे।

मनमा कुरा खेलाउँदै म वीरगन्ज पुगेँ, वीरगन्जबाट काजलको बस्ती । चिनी मिलनजिकको डोम बस्ती पुग्दा त्यहाँ डोम बस्ती नै रहेनछ । एकछिन त सपनाजस्तै लाग्यो । पसलेलाई सोधेपछि थाहा भयो, त्यहाँका डोमहरू अन्यत्र सरिसकेछन् । यो जमिन उनीहरूको नभएकाले त्यहाँबाट हटाइएका थिए ।
धेरैले गण्डक नहरछेउ जानु भन्ने सुझाव दिए । म हतारिँदै त्यहाँ पुगेँ । साना झुप्रामा स–साना बालबालिका खेलिरहेका थिए । एक किशोरी हातमा कुचो लिएर आँगन बढार्दै थिइन् । उनलाई सोधेँ, ‘नीलो आँखा भएकी काजल मली कहाँ बस्छिन् ?’ उनले मेरो मुख नियालिन् र सोधिन्, काये ‐किन) ?

मैले काजललाई भेट्न चाहेको सुनाएँ । उनले आफूलाई थाहा नभएको तर अलि पर गएर सोध्न आग्रह गरिन् । बाटोमा एक युवकलाई काजलको बारेमा सोधेँ । उनले पनि जानकारी नभएको भन्दै खोज्नका लागि सहयोग गर्न तयार भए।बारा बहुवरीका ती मुसलमान युवा काजलको खोजी यात्राका सहयोगी बने । साँझपख हामी वीरगन्ज बसपार्क हुँदँ नगवातर्फ लाग्यौँ । काजलको परिवार त्यतै बसोबास गर्ने हामीले सूचना पाएका थियौँ । गोधुलीमा हामी एउटा घर अगाडि रोकियौँ।

त्यो घर डोम समुदायको थियो । एउटी बालिकाले पिँढी बढारिरहेकी थिइन् । हामी घरअघि पुग्नेबित्तिकै ती बालिकाभित्र छिरिन् । आँगनमा भेटिएकी महिलालाई हामीले काजल मलीबारे सोध्यौँ, ‘काजको घर यही हो ?’ ‘किन ?’ महिलाले प्रतिउत्तर फर्काइन् । मैले आफू पत्रकार भएको बताएँ ।ती महिलाले मलाई नियालिन् र मुन्टो घुमाइन् । तिनले मलाई चिनेकी थिइन् । त्यसपछि उत्तर फर्काइन्, ‘काजल घरमा छैन ।’उनी कहाँ छिन् त ? भन्ने प्रश्नमा उनले काजल चितवनतिर आफन्तकहाँ रहेको बताइन् । हामीलाई काजलबारे बताउने उनकै आमा थिइन्।

काजलकी आमाले उत्तर दिँदा मतर्फ हेरिरहेकी थिइनन् । उनी मेरा प्रश्नको जवाफ दिए पनि प्रश्नहरूलाई मन पराइरहेकी थिइनन् । म काजलको खोजीमा वीरगन्जसम्म आएको थिएँ । तर, उनकै आँगनमा उनैलाई नभेटी फर्कनुपर्ने भएपछि निराश बनेँ ।मलाई सहयोग गर्न पुगेका युवाले अघि पिँढी बढार्ने बालिका काजल नै हुन सक्ने खुसुक्क बताए । तर, हामीले काजललाई भेट्न पाएनौ । त्यो दृश्य क्यामेरामा कैद भएको भए सायद ‘री’ गरीगरी हेर्न सकिन्थ्यो । तर, म पिँढी बढारिरहेकी काजललाई ‘री’ गरेर हेर्न सक्ने अवस्थामा थिइनँ।

म आँगनमा टोलाएर बसेँ, कतै उनको आमाको मन फर्किन्छ र ‘काजल बाहिर आइज’ भनेर बोलाउँछिन् कि भन्ने आसले । तर, न उनकी आमाले बोलाइन्, न त काजल नै बाहिर निस्किन् । सायद आमाको मौन इच्छा काजलले बुझिन् । आमाले पनि काजललाई बोलाउनुको साटो ढोका लगाइन् ।काजल मलीको जस्तै नीलो आँखा भएका अरु बालबालिकाको तस्बिर पनि मैले खिचिसकेको छु । काजलको घरबाट फर्केको भोलिपल्टै पनि मैले वीरगन्जमा त्यस्तै बालबालिकाको तस्बिर खिचेर राजधानी फर्किएँ । राजधानी फर्किए पनि अहिलेसम्म मानसपटलबाट काजल मलीको तस्बिर हट्न सकेको छैन । साँच्चै कस्ती भइन् होली काजल मली ?

 

प्रकाशित: १२ फाल्गुन २०७४ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App