४ वैशाख २०८१ मंगलबार
खेल

प्रधानमन्त्रीको जन्मदिनमा क्रिकेटर सम्मानित

कप्तान पारसलाई जन्मदिनको केक खुवाउँदै प्रधानमन्त्री केपी शर्मा ओली । सम्मान तथा विदाई पछि सामूहिक तस्बिरमा खेलाडीसँग प्रधानमन्त्री ।तस्बिर: प्रतिक रायमाझी- नागरिक

सञ्जय थापा/सुमन चापागाई
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो । खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७औं जन्मदिन थियो ।खासगरी फुटबलमा विशेष चासो राख्ने प्रधानमन्त्री ओली पछिल्लो समय क्रिकेटसँग पनि नजिकिन थालेका छन् । चार दिनअघि विश्वकप छनोटलाई छानिएको नेपाली क्रिकेट टोलीलाईसम्मान गर्ने घोषणा गरेका ओलीले शुक्रबार टोलीका सबै सदस्यलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेर जन्मदिन मनाए।

गत साता नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बन्दै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको नेपाली क्रिकेट टोलीका सदस्यलाई सोमबार स्वागत गर्ने क्रममै प्रधानमन्त्री ओलीले शुक्रबार जनही ३ लाख नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए । त्यहीअनुसार जन्मदिनमा केक लिएर बालकोट र बालुवाटार धाउने थुप्रै सुभेच्छुकहरुबाट सुभकामना लिने व्यस्तताका बीच प्रधानमन्त्री ओलीले शुक्रबार निर्धारित समयभन्दा डेढ घन्टा ढिलो बालुवाटार पुगेर क्रिकेटरहरुसँग केक काटे।

प्रधानमन्त्री निवास बालुवाटारको निजी सचिवालय हलमा नेपाली क्रिकेट टोलीका प्रत्येक सदस्यलाई सरकारका तर्फबाट ३ लाख तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट १ लाखका दरले प्रदान गरेलगत्तै प्रधानमन्त्री ओलीले केक काटेर राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई खुवाए । मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले प्रधानमन्त्रीको जन्मदिन मनाउन ‘बर्थडे केक’ ल्याएका थिए ।

त्यसअघि पारसले प्रधानमन्त्रीलाई जन्मदिनको सुभकामना दिँदै ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षमा देशमा क्रिकेट र फुटबलका लागि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने अपेक्षा राखेका थिए । जिम्बाब्वेमा फागुन २० बाट सुरु हुने विश्वकप छनोटको विशेष तयारीका लागि शनिबार त्यसतर्फ जान लागेको टोलीलाई प्रधानमन्त्री ओलीले सम्मानकै अवसरमा विदाई पनि गरे ।सम्मान तथा विदाईका अवसरमा प्रधानमन्त्री ओलीले क्रिकेट टोलीको सफलतालाई ‘नेपाल सम्बुद्धीको बाटोमा अघि बढ्ेको लक्षण’ भनेर बयान गरे।

‘खेलकुद समग्र राष्ट्रलाई एक ठाँउमा उभ्याउने एक उत्तम सुत्र हो । म नेपाली क्रिकेट टोलीलाई जिम्बाव्बे भ्रमणका लागि शुभकामना दिदै थप सफलताको कामना गर्न चाहन्छु । नामिबियमा हात पारेको सफलताले जिम्बाव्बेमा पनि निरन्तरता पाओस भन्ने चाहन्छु,’ ओलीले भने, ‘सरकार राष्ट्र विकासमा समग्र खेल क्षेत्रले पुर्याउने  योगदानका बारेमा जानकार छ । म यसै कार्यक्रम मार्फत अबको नेतृत्वले खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै त्यही अनुरुपका कार्यक्रम ल्याउने विश्वास दिलाउन चाहन्छु ।’

राष्ट्रिय टोलीका कप्तान पारसले सिमित श्रोत र सधानका बावजुद नेपाली क्रिकेट टोलीले उपलब्धि हात पारेको भन्दै आगामी दिनमा थप सफलताका लागि सरकारले समग्र खेल क्षेत्रमा उल्लेख्य लगानी गर्दै खेलाडीलाई प्रोत्साहन गर्नु पर्ने बताए ।‘हामीले सधै नेपालको झण्डाका लागि खेलेका छाै र अझ मिहिनेत गर्दै नेपाली क्रिकेटलाई थप उचाईमा लौजान चाहन्छौं,’ पारसले थपे, ‘यसका लागि सरकारले खेलकुदका लागि छुट्याउने बजेट समेत बृद्धी गर्दै खेलकुद विकासका लागि दुरगामी योजनाहरु ल्याउनु पर्छ ।’

इङ्ल्यान्डमा हुने विश्वकप–२०१९को छनोट प्रतियोगितामा नेपालले समूह ‘बी’का अफगानिस्तान, हङकङ, स्कटल्यान्ड र जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्नेछ । २० गते हुने पहिलो खेलमा जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्ने नेपालले दोस्रो खेल २४ गते स्कटल्यान्डविरुद्ध खेल्नेछ । २६ गते अफगानिस्तानविरुद्ध तेस्रो खेल खेल्ने नेपालले अन्तिम खेल हङकङविरुद्ध फागुन २८ गते खेल्नेछ।

कप्तान पारस खड्काले नेपाल यु–१९ विश्वकप र ट्वान्टी–२० विश्वकपमा छनोट भइसकेको भन्दै एकदिवसीय विश्वकप खेल्न पनि टोली सक्षम रहेको बताए । उनले थपे, ‘पछिल्लो समय खेलाडीले जुन प्रदर्शन गरेका छन् । मिहिनेत गरेका छन् । यही जोस र जाँगरका साथ अघि बढ्यो बने एकदिवसीय विश्वकप खेल्ने हाम्रो सपना अवश्य पूरा हुनेछ।’

राउन्ड रोबिन लिगमा हुने प्रतियोगिताको समूह ‘ए’ मा आयरल्यान्ड, नेदरल्यान्ड, पपुवा न्युगिनी, युनाइटेड अरब इमिरेट्स(युएई) छन् । दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका सबै टोलीविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्सका शीर्ष दुई टोलीले इङ्ल्यान्डको यात्रा तय गर्नेछन्।

नामिबियामा सम्पन्न आइसिसी डिभिजन –२ प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानाडामाथि १ विकेटको अविश्वसनीय विजय हासिल गर्दै जिम्बाब्वेको टिकट पक्का गरेको थियो । जिम्बाब्वे भ्रमणका लागि आइसिसीले आइतबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । पारसको कप्तानीमा रहेको नेपाली टोलीमा ललितनारायण राजवंशी एक जना थपिएका छन् । अरु सबै नामिबिया भ्रमणमै रहेका खेलाडी छन् । विनोद भण्डारी वैकल्पिक खेलाडीमा परेका छन् ।

 

प्रकाशित: १२ फाल्गुन २०७४ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App