८ वैशाख २०८१ शनिबार
अन्य

तेन्जिङ–एडमन्ड आरोहणका साक्षी

‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा...’ रेडियो नेपालमा एक समय धर्मराज थापाको यो गीत निकै गुन्जियो । सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पासँगै न्युजिल्यान्डका सर एडमन्ड हिलारी पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेपछि यो गीत रिलिज भएको थियो । अहिले भने यो गीत त्यति सुनिँदैन। 

तेन्जिङ नोर्गेले भारतीय नागरिकता लिएर वा स्वर्गीय भएर गीत नबजेको भने होइन । समयले कोल्टे फेर्दै जाँदा गीत सदावहार रहन सकेन । त्यसो त एडमन्ड र तेन्जिङ बाहेक आरोहणमा सहभागी सबै छाउन सकेनन्। 

इतिहास जित्नेको लेखिन्छ । उनीहरूले जिते र इतिहासमा नाम लेखियो । तर, पर्दा पछाडि जिताउन भूमिका खेल्नेको योगदान कमचाँही हुँदैन । तेन्जिङ–एडमन्डको पहिलो सगरमाथा आरोहण सफल पार्न पर्दापछाडि योगदान दिनेमा पर्छन्, कान्छा शेर्पा। 

उनलाई भेट्न आउने विदेशीको लर्को लाग्ने गरेको छ । कतिले त पैसा तिरेर अन्र्तवार्ता लिने गरेको उनी सुनाउँछन् । उनका कति दिन तेन्जिङ–एडमन्ड आरोहणको अनुभव सुनाउँदै बित्ने गरेका छन्। 

तर, उनको वास्तविक नाम कान्छा होइन । न उनी परिवारको कान्छा छोरा हुन्। आमाले माया गरेर ‘कान्छा’ बोलाउँदा यही नाम रहन गएको हो । दाजुभाइमध्ये माइला रहेका उनको खास नाम आङफुर्वा शेर्पा हो।

तिनै कान्छा सन् १९५३ मा भएको पहिलो सगरमाथा सफल आरोहणका प्रत्यक्ष साक्षी पनि हुन् । नाम्चेमा ८५ वर्षपहिले जन्मेका शेर्पालाई चोमालोङमा (सगरमाथा) सुनेका थिए, तर कहाँ पर्छ भने जानकारी थिएन । हँसिलो अनुहारसँगै जोशिलो आत्मविश्वास झल्काएर उनले भने, ‘नाम्चेबाट चोमालोङमा देख्दा एक दिन त्यहाँ मान्छे पुग्छन् भनेर सोचेको पनि थिइनँ ।’

नाम्चेमा छँदा उनी बुबाआमालाई सघाउन घाँसदाउरा बोक्थे । बुबासँगै तिब्बतमा नुन लिन जान्थे । त्यही बेलामा पल्लो गाउँको एक जनाले तेन्जिङ भन्ने व्यक्ति हिमाल चढ्दैछन् भनेर सुनाए । त्यही काम पाइएला भन्ने आशमा कान्छा पनि तेन्जिङलाई भेट्न दार्जिलिङ पुगे । त्यसबेला तेन्जिङ दार्जिलिङमा टे«किङ व्यवसाय चलाउँथे । तेन्जिङले भारतीय नागरिकको सहयोगमा कञ्चनजंघा ट्रेक नामको ट्रेकिङ अफिस खोलेका थिए । सात दिन लगाएर दार्जिलिङस्थित तेन्जिङको घर पुगेका कान्छाले तीन महिनापछि सगरमाथा आफ्नै गाउँमाथि छ भन्ने थाहा पाए। 

‘म चकित भएँ, अझ चकित त हामी अब त्यही हिमाल चढ्न जान्छौं भनेको सुनेर भएँ,’ उनले सुनाए । 
१९ वर्षको उमेरमा घरबाट भागेर काम खोज्दै दार्जिलिङ पुगेका कान्छा तेन्जिङको घरमा तीन महिना काम गरेपछि सगरमाथा चढ्ने सपना बोकेर फर्किए। 

दार्जिलिङ, सिलगुडी हुँदै रेल चढेर रक्सौल र त्यहाँबाट ट्रक चढेर बाइरोडको बाटो भएर उनी काठमाडौं आए । उनीसँगै तेन्जिङसहित अन्य आठ शेर्पा पनि काठमाडौं आएका थिए । उनीहरू हिमाल चढ्न न्युजिल्यान्डबाट आउने एडमन्ड हिलारीको टिमलाई लिन काठमाडौं आएका थिए । यो सबै व्यवस्था तेन्जिङले मिलाएको कान्छालाई अत्तोपत्तो थिएन । 
‘त्यतिबेला भक्तपुरमा न सडक थियो न अहिलेका जस्ता घर नै,’ उनले भने, ‘त्यही बस्यौं हामी, हिमाल चढ्ने विदेशीको पर्खाइमा।’

न्युजिल्यान्डबाट एडमन्ड हिलारीसहित १५ जना आए । विदेशी टोलीलाई तेन्जिङले एयरपोर्टबाट लगेर भक्तपुर पुर्‍याए । कान्छा भने एडमन्ड सहितको विदेशी टोली देखेर चकित परे । ‘हाम्रो कपडा, शरीर सबै फोहोर थियो,’ उनले सम्झिए, ‘एडमन्डको टिम सफा चट थियो । उनीहरू गोरा र अग्ला थिए।’ 

तर, कान्छा कोही विदेशीसँग बोल्दैनथे । कारण– उनी भाषा बुझ्दैनथे । उनी तेन्जिङमार्फत नै विदेशीसँग हाइ, हेल्लो गर्थे। 

भक्तपुरमा उनीहरू दुई हप्ता जति बसे । यो बीचमा उनीहरूले आरोहणका लागि ल्याएका सामग्रीको भारी बनाए । भारी बोक्न चार सय कुल्ली जम्मा गरियो । उनीहरूलाई भक्तपुरबाट नाम्चे पुग्न १६ दिन लागेको थियो । त्यहाँ पुगेपछि भने भक्तपुरबाट लगेका कुल्ली फर्काइयो । ‘ती कुल्लीमध्ये २५ जनाले बोकेको बाकसमा पैसा रहेछन्,’ उनले भने, ‘कुल्लीलाई पारिश्रमिक दिँदा आधा बढी पैसा सकियो ।’ उनका अनुसार सरकारले उनीहरूको पैसाको सुरक्षाका लागि नाम्चेसम्म पाँच प्रहरी पठाएको थियो। 

नाम्चेबाट कुल्ली फर्काएपछि त्यहाँबाट सगरमाथा बेस क्याम्पससम्म भारी बोक्न याक प्रयोग गरिएको थियो । त्यहाँबाट ३५ जनाको मात्रै टिम बन्यो, जसमा १५ विदेशी थिए भने बाँकी शेर्पा। 

उनीहरूलाई नाम्चेबाट बेस क्याम्प पुग्न ६ दिन लाग्यो । त्यहाँ पुगेपछि सबैको जिम्मेवारी बाँडफाँड भयो । कान्छाको भागमा अक्सिजन, पानी र खानेकुरा बोक्ने जिम्मा पर्‍यो । ‘मेरो जिम्मामा अक्सिजन तथा खानेकुरा बोक्ने जिम्मेवारी थियो,’ उनले भने, ‘तर, म सबै काम गर्न तयार हुन्थे‌ ।’ 
खुम्बु आइसफलमा बाटो बनाउँदा भर्‍याङ चाहिने भया । न्युजिल्यान्डको टोलीले सबै सामग्री ल्याए पनि भर्‍याङ ल्याएको थिएन । भ¥याङ बनाउन काठ आवश्यक भयो । र, काठ काट्न कान्छा नाम्चे फर्किए । उनले नै शेर्पाहरूको सहयोगमा सल्लाका रूख काटेर बेसक्याम्प पुर्‍याए । 

उनीहरूले हिउँभित्र बाटो खोज्दै चुचुरो पुग्ने अभियान सुरु गरे । शेर्पाहरू अगाडि गएर बाटो पत्ता लगाउँथे । त्यही डोरी समाउँदै दलका अरु सदस्यहरू पनि अघि बढ्थे । टोलीको अग्रभागमा भने तेन्जिङ र एडमन्ड हिलारी नै हुने गरेको कान्छा बताउँछन्। 

दोस्रो क्याम्पमा विदेशी र अन्य शेर्पाहरू बसे । हिलारी, तेन्जिङ, कान्छासहित अन्य १६ जना शेर्पाहरू त्यसभन्दा माथि नै गए । उनीहरू पटकपटक साउथ कोल अर्थात पाँचौं शिविर (७९०६ मिटर) पुगे। 

मे २८ कै दिन आवश्यक सामग्री पाँचौं शिविरमा पुर्‍याएपछि भने कान्छाहरू तलतिर फर्किए । तेन्जिङ र हिलारी भने चुचुरोको यात्रातिर लागे। 

‘हामी सबै जना दोस्रो शिविरमा जम्मा भएका थियौं,’ अनुहारमा खुसी ल्याउँदै उनले सुनाए, ‘दिउँसो १ बजे हुँदो हो, वाकिटकीमा फोन गरेर तेन्जिङले चुचुरो पुगेको कुरा सुनाए ।’ यो सन् १९५३ मे २९ को कुरा हो । सगरमाथाको नाममा इतिहास लेखिएको यो दिन कान्छाको मनमा भने अहिलेसम्म अमिट छ। 

‘त्यो आरोहण सफल नभएको भए हामीलाई कसले चिन्थ्यो र ?’ उनी भन्छन्, ‘त्यसैले त संसारलाई सगरमाथाको बाटो देखाइदिने हिलारीलाई बुबा र तेन्जिङ आमा मान्नुपर्छ जस्तो लाग्छ ।’ अहिले पर्वतारोहण पर्यटनले नेपालमा पुगेको योगदान उनै हिलारी र तेन्जिङको देन जस्तो कान्छालाई लागेको छ।

हिलारी र तेन्जिङ जब दोस्रो क्याम्प आइपुगे यसपछि भने खुसीको सीमा अझै बढेको कान्छा सुनाउँछन् । ‘त्यो क्षण सम्झँदा अहिले पनि खुसीले उकुसमुकुस हुने गरेको छु,’ कान्छा सुनाउँछन् । चुचुरोको सफल आरोहणपछि तेन्जिङ र एडमन्ड हेलिकप्टरमार्फत काठमाडौं फर्किए । तर, उनीहरूलाई भने सबै सामग्रीको व्यवस्थापन गरेर मात्रै फर्किए । 
आरोहण टोली नाम्चे फर्किएको एक महिनापछि प्रमाणपत्र, तक्मा र ज्याला ल्याएर कान्छा हिलारी नाम्चे पुगे । त्यसपछि भने कान्छासहित अन्य शेर्पाहरू गाउँभरि ‘हिरो’ भए। 

त्यसपछि कान्छाले पर्वतारोहण पेसा नै सम्हाले । नजुरेको हो वा आँट नगरेको । उनले चुचुरोमा पाइला टेक्ने अवसर भने पाएनन् । ‘साउथ कोलसम्ममा ६ पटक पुगेँ,’ उनले भने, ‘तर, चुचुरोमा पुग्ने मौका भने कहिल्यै जुरेन ।’ उनी अरुलाई चढाउन त्यहाँ पुगेका थिए । त्यसभन्दा माथि जान अक्सिजन चाहिन्छ । चुचुरोमा जानेहरू अक्सिजन खाँदै जान्थे । सामान पु¥याउन जानेहरू साउथ कोलसम्म पुर्‍याएर फर्किन्थे । यो अलावा सामान पुर्‍याउने शेर्पालाई पनि कुनै आरोहीले अक्जिसनको व्यवस्था गरिदिएको हुन्थ्यो । तर कान्छाले भने यो अवसर पाएनन्। 

सन् १९७१ देखि भने कान्छाले पर्वतारोहण पेसा छाडे । श्रीमतीको अडानमा यो पेशा छाड्नुपरेको उनी बताउँछन् । ‘हिमाललाई भगवान् मान्ने मेरी श्रीमती कुनै दिन हिमाल रिसाए केही होला की भनेर धेरै डराइन्,’ उनले भने, ‘त्यसपछि अंग्रेजी सिकेर ट्रेकिङतिर लागेँ ।’

अहिले उनलाई बुढेसकालले छोइसकेको छ। कुनै रोगले नच्यापे पनि पहिलाको जस्तो आत्मबल नभएको उनी बताउँछन् । ‘अहिले त बौद्ध स्तुपमा जान पनि गाह्रो लाग्छ,’ उनले भने, ‘तर जान त कहाँ छोड्छु र ?’ 

अहिले उनी काठमाडौंमा छन् । जाडो छल्न काठमाडौं आएका कान्छालाई आफ्नै जन्मथलो प्यारो लाग्छ। उनको जन्मस्थल नाम्चे होटलले भरिएको छ । उनका कान्छा र जेठा दुवै छोराले नाम्चेमा होटल व्यवसाय गरिरहेका छन् । उनी जाडो नभएका बेला नाम्चे जाने गरेका छन्। 

उनलाई भेट्न आउने विदेशीको लर्को लाग्ने गरेको छ । कतिले त पैसा तिरेर अवार्ता लिने गरेको उनी सुनाउँछन् । उनका कति दिन तेन्जिङ–एडमन्ड आरोहणको अनुभव सुनाउँदै बित्ने गरेका छन्। 

उनी सगरमाथाको नमन गर्दै बस्छन् । नमन पनि किन नगरुन्, उनलाई सगरमाथाले सबथोक दिएको छ– नाम, दाम र सम्मान । सरकारले सन् २०१३ मा सगरमाथा हीरक जयन्तीका अवसरमा उनीसहित श्रीमतीलाई काठमाडौँको सडकमा फूलैफूलले सजिएको बग्गीमा राखेर घुमाएको थियो । यो क्षण पनि उनलाई सबैभन्दा प्रिय लाग्छ । तर, अहिले श्रीमती साथमा छैनन् । छोरा–नातीसँगै रहेकाले उनलाई श्रीमतीको कति पनि न्यास्रो छैन । ‘न्यास्रो मानेर पनि के गर्नु,’ उनले भने, ‘एक न एक दिन त हामी सबैले त्यहीँ जानुपर्छ । मेरो पनि कति न वर्ष होला र।’ 

प्रकाशित: १२ फाल्गुन २०७४ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App