१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘प्रि–टास’मा सुदूरका सात जिल्ला सफल, दुई असफल

हात्तीपाईले बिरुद्धको औषधि खुवाईदैँ । तस्बिर : नागरिक

डोटी – सुदूरपश्चिमका नौ वटै जिल्लामा हात्तीपाईले रोग बिरुद्धको अभियान छैठौ चरणमा चलिरहेको छ। लगातार छ बर्ष हात्तीपाईले बिरुद्धको औषधि सेवन गरे रोग संक्रमण हुने सम्भावना निर्मुल हुने विश्व स्वास्थ्य संगठनको मान्यता छ। सोही मान्यता अनुसार नै नेपालमा एउटै ठाउँमा लगातार छ बर्षसम्म औषधि खुवाउने चलाउने गरिएको छ। 

सुदूरपश्चिममा सन् २०१३ बाट शुरु भएको अभियान यो वर्ष छैठौ चरणमा चलिरहेको छ। गतबर्ष पाँचौ चरणको अभियानपछि सुदूरका सबै जिल्लामा ‘प्रारम्भीक मुल्याकन अध्ययन’ (प्रि–टास) गरिएको थियो। जसमा रोग संक्रमणको अबस्थाका बिषयमा अध्ययन भएको थियो। सो अध्ययन अनुसार सातवटा पहाडी जिल्लाहरु सफल भएका छन् । बाकी तराईका कैलाली र कञ्चनपुर असफल भएका छन्। 

‘प्रि–टासमा पहाडी जिल्लाहरुमा संक्रमण देखिएन। त्यसैले सफल भए’ क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका जनस्वास्थ्य निरिक्षक रमेश मलासीले भने,‘कैलाली र कञ्चनपुरमा अझै भेटिएको छ।’ असफल जिल्लाहरुमा सम्भवतः फेरी अभियान सुचारु राखिने उनले बताए।  ‘असफल भएका जिल्लाहरुमा आठौ, नवौँ पटकसम्म अभियान चलेका छन्। त्यहाँ पनि सम्भवतः हुन्छ। त्यसविषयमा विभागले निर्णय गर्छ,’ उनले भने। 

प्रि–टासमा सफल भएका पहाडी जिल्लामा पनि अझै तीनपटक सम्म संक्रमण मुल्यांकन अध्ययन हुनेछ। ‘छैठौ चरणको अभियान सकिएपछि दुई–दुई बर्षमा अझै ‘टास–१’, ‘टास–२’ र ‘टास–३’ भनेर अध्ययन हुनेछ,’ जनस्वास्थ्य निरिक्षक मलासीले भने,‘सबैमा सफल भएपछि मात्रै हात्तीपाईले निवारण भएको मानिन्छ।’ 

नेपालका अभियान सकिएका अरु जिल्लाको अभ्यासमा प्रि–टास र अन्य टासमा सफल भएका जिल्लामा पछिल्ला टाँसमा रोगको संक्रमण भेटिने गरेको छ। 

छैठौ चरणको अभियान शुरु 

हात्तीपाईले बिरुद्धको अन्तिम बर्षको अभियान सुदूरपश्चिमका नौ वटै जिल्लामा शनिबारबाट शुरु भएको छ। तीनदिनसम्म चल्ने अभियान अन्तर्गत शनीबार खोपकेन्द्र र आइतबार र सोमबार घरघरमा गएर स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुले हात्तीपाईले बिरुद्धको औषधि खुवाउँदैछन्। 

सुदूरपश्चिममा कुल २५ लाख भन्दा जनसंख्यालाई औषधि खुवाउने लक्ष्य लिईएको छ। जसका लागि १५ हजार नौ सय २३ जना स्वास्थ्यकर्मी र स्वयमसेवक परिचालन गरिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। 

प्रकाशित: १२ फाल्गुन २०७४ १५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App