coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुखदुःखमा एकअर्कालाई भरथेग

सिरहा नगरपालिका २०  र भारतको पौदमा ग्रामपञ्चायतको लगडीगाउँ छुट्याउने आरपी २८ सीमास्तम्भवारिपारिको मानवीय बस्तीमा शनिबार देखिएको चहलपहल । तस्बिर : मिथिलेश

लगडीगदियानी  – भारतको लदनिया थाना पौदमा पञ्चायतको लगडी गाउँका चमक यादवको घरमा शनिबार भारतीय सहर सिधपकलाबाट जन्ती आएको छ । यादवको घरअगाडि जन्तीको स्वागतका लागि मण्डप बनाइएको छ । विवाहको रौनक बढाउन बजाइने बाजा भने सीमावारि सिरहा नगरपालिका–२० (लगडीगदियानी) का नथुनी यादवको छतमाथि बजिरहेको छ।

विवाहको मण्डप बनाउन चाहिने सामान र बाजा वारिकै देवेन्द्र यादव प्रबन्धक रहेको लक्की टेन्ट हाउसबाट भाडामा लगिएको छ । विवाह गराउने पुरोहित (पण्डित) पनि वारिकै मिथिलेश झा हुन् । जन्तीलाई स्वागतसत्कार गर्न पनि वारिकै युवा खटिएका छन्।

भारतीय गाउँ लगडी र सिरहा–२० (लगदीगदियानी) बीचको सीमा आरपी २८ नम्बरको स्तम्भले छुट्याएको छ तर दुवैतिरका स्थानीयमा आफूहरु अलगअलग देशका हौं भन्ने महसुसै हुँदैन । टाँसिएकै गाउँ, एउटै परिवेश, एउटै संस्कृतिका कारण परिवारजसरी मिलेर बसेका छन् उनीहरु । उनीहरु सधैं एकअर्कालाई भरथेग गर्छन् ।

भारतीय गाउँ लगडी र सिरहा–२० (लगदीगदियानी) बीचको सीमा आरपी २८ नम्बरको स्तम्भले छुट्याएको छ तर दुवैतिरका स्थानीयमा आफूहरु अलगअलग देशका हौं भन्ने महसुसै हुँदैन । टाँसिएकै गाउँ, एउटै परिवेश, एउटै संस्कृतिका कारण परिवारजसरी मिलेर बसेका छन् उनीहरु । उनीहरु सधैं एकअर्कालाई भरथेग गर्छन्। 

दसगजापारि लगडीमा यादव र मुखिया जातिका १ सय १५ परिवारको बसोबास छ । वारि लगडीलदियानीतर्फ यादव समुदायको बाक्लो बसोबास छ । ‘पारि आवश्यक पर्दा वारिबाट सहयोगी हात जुट्छन्, वारि आवश्यक पर्दा पारिबाट,’ भतिजी प्रियंकाको विवाह सत्कारमा व्यस्त लगडीका बैद्यनाथ यादवले भने, ‘मेरो घरमा विवाह छ तर लाउडस्पिकर सीमापारि नथुनी यादवको घरमा बज्दैछ। आफूहरुबीच दुई देशका हौं भन्ने हेक्कै नभएको उनले बताए । ‘हिँडडुल गर्दा पनि  हामी सीमा बिर्सिन्छौं’, उनले भने। 

आँगनमै आरपी २८ नम्बरको स्तम्भ रहेको लगडीका ज्ञानी मुखिया र वारिका देवेन्द्र यादवबीच पनि उस्तै सीमाविहीन सद्भाव छ । देवेन्द्र टेन्ट हाउसको व्यवसाय चलाउँछन् र ज्ञानी मजदुरीको काम गर्छन् । देवेन्द्र विवाहलगायतका आयोजनमा टेन्ट र साउन्ड सिस्टम लिएर पारि पुग्छन् । मुखिया पारिको मजदुरी काम भ्याएपछि नेपालतर्फ खट्छन् । ५० वर्षीय ज्ञानीले भने, ‘हामी सुकुमवासी दुवैतर्फ ज्यालामजदुरीमा खटेर गुजारा चलाउँछौं । नेपाली गाउँसहरमा काम गर्दा फरक देशजस्तै लाग्दैन ।’ २५ वर्षीय देवेन्द्रले पनि थपे, ‘जता काम पाइन्छ उतै जान्छौं । देशमात्रै फरक हो, काम र रुपैयाँ बराबर पाइन्छ।’ 

देश भिन्न भए पनि श्रम, संस्कार, रीतिरिवाज, भाषा केही फरक नभएको लगडीका चन्देश्वर यादवले बताए। ‘श्रम, संस्कारसँगै वैवाहिक सम्बन्धले हामी झन् नजिकिएका छौं,’ लगडीगदियानीका राजेन्द्र यादव (पटबारी) ले भने, ‘छोराको विवाह पारि गरेकाले म पनि सम्धीको घर गइरहन्छु । सम्धीहरु पनि आइरहनुहुन्छ । दोहोरो आउजाउले सम्बन्ध झन् कसिलो बनाइदिएको छ।’ 

लदडीगदियानीका मिथिलेश झा वारिपारिका साझा पुरोहित हुन् । उनले भने, ‘सीमावर्ती गाउँसहरको संस्कार र संस्कृतिमा कुनै फरक छैन । पारि विवाह गराउँदा पनि फरक देशमा आएको हेक्कै हुन्न।’

दसगजाछेउकै पारी गाउँ हटलेटवाकी पुनमदेवी यादवको सिरहाको माडरमा करिब १० कट्ठा खेत छ । पारि जग्गा नजोडेर वारि किन किनेको भन्ने जिज्ञासामा पुनमले भनिन्, ‘वारि (नेपाल) को पाँच कट्ठा जमिन पारि (भारत) मा नौ कट्ठा हुन्छ ।’ अर्थात् कट्ठाका हिसाबले वारिको जमिनको क्षेत्रफलभन्दा पारिको क्षेत्रफल कम हुन्छ । यसै कारण पारिका अधिकतर स्थानीयले वारि जमिन किनेका छन्।

एकैखाले संस्कार र जीविका रहे पनि उनीहरुलाई आआफ्ना सरकारले दिने सेवासुविधामा आकाशजमिनको फरक छ । पुनमको परिवारले सरकारबाट अवास सुविधाबापत १ लाख २० हजार भारतीय रुपैयाँ पाएको छ । छोराछोरी पढाउन सुविधा छ । छोरीलाई स्कुलले साइकल दिएको उनले बताइन् । पोसाक, खाजा, स्टेस्नरीलगायतका सुविधासँगै पढाइ पनि भरपर्दो भएको उनले बताइन्।

दुवैतर्फका सीमाक्षेत्रमा विकासको पर्खाइ
सभ्यता, संस्कृति, रहनसहन र बिहेबारीका कारण दसगजावारिपारिका बासिन्दाबीच मिलाप छ । दुवैतर्फ अर्को मिल्दो अपेक्षा छ– विकास । पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको अवस्था पनि दुईतर्फका जनताको उस्तै छ । सीमा क्षेत्रको दुवैतर्फ न त भरपर्दो अस्पताल छ, न स्तरीय विद्यालय नै । आर्थिक अवस्था, मानवीय स्वभाव र दैनिक जीविकोपार्जन पद्धतिमा पनि खासै फरक छैन।

दसगजामै बसेको छ बस्ती
सीमास्तम्भबाट पाँचपाँच गज अगाडिपछाडि मानवीय बस्ती हुनुहुँदैन । पारिको लगडी र वारिको लगडीगदियानीको बीचमा आरपी २८ नम्बरको सीमास्तम्भ त ठडिएको छ तर सीमास्तम्भसँगै टाँसिएर बाक्लो बस्ती बसेको छ, दसगजामै बस्ती बसाइएको छ। 

अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाक्षेत्रको दसगजामा दुवै देशले भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाउँदैनन् । दसगजालगत्तै भारतको सिमाना सुरु भएको स्थानमा भारतीयका लहरै घर छन् । 
तीन पुस्तादेखि नै यसै क्षेत्रमा बस्दै आएको लगडीका चमक यादवले बताए । पुर्खाले नै घर बनाएर बसेको उनले बताए । ‘यहाँ अधिकांश सुकुमवासीको बसोवास छ’, उनले भने।

प्रकाशित: १३ फाल्गुन २०७४ ०३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App