१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

देब्रे घुँडाको शल्यक्रिया हुनुपर्नेमा दाहिनेको गरियो

काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले लिगामेन्ट च्यातिएका बिरामीको शल्यक्रिया गर्ने क्रममा गम्भीर त्रुटि गरेको छ । बायाँ घुँडाको लिगामेन्टको उपचारका लागि गत बिहीबार अस्पताल भर्ना भएकी चितवनकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया गरिएको छ । पार्किङ गर्ने क्रममा स्कुटरले च्यापेर बायाँ घुँडाको लिगामेन्ट च्यातिएपछि उनी नर्भिकमा भर्ना भएकी थिइन्।

‘मेरी भाइबुहारीको बायाँ खुट्टामा समस्या भएपछि गत बिहीबार चितवनबाट ल्याएर अस्पताल भर्ना गरेका थियौं । शुक्रबार अपरेसन भइसकेपछि बिरामी हेर्न जाँदा दायाँ खुट्टाको अपरेशन गरेको पायौं,’ विन्दुकी आफन्त सम्झना पौडेलले भनिन् । डाक्टरले अपरेसन सफल भएको बताएपछि सम्झना विन्दुलाई भेट्न पोस्ट वार्डमा गएकी थिइन् । उनलाई देख्नबित्तिकै विन्दुले एउटा घुँडाको अपरेसन हुनुपर्नेमा अर्कै घुँडाको भएको बताएपछि सुरुमा सम्झनालाई विश्वासै लागेन । ‘सुरुमा त मलाई विश्वास नै लागेन तर जे नहुनु थियो, त्यही भएको थियो,’ उनले भनिन्। 

बायाँ घुँडाको लिगामेन्टको उपचारका लागि गत बिहीबार अस्पताल भर्ना भएकी चितवनकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया गरिएको छ।

विन्दुको डा. प्रविन नेपाल नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । बिरामीका आफन्तले डा. नेपालसँग एउटा खुट्टाको हुनुपर्नेमा अर्कै खुट्टाको अपरेसन भएको भनेर जानकारी गराए पनि उनले लामो समयसम्म गल्ती स्वीकार गरेका थिएनन् । उनले आफूले दायाँ खुट्टामै समस्या भएकाले सोही खुट्टाको शल्यक्रिया गरेको दाबी गरेका थिए । पछि आफन्तले विन्दुको स्वास्थ्य रिपोर्टमा बायाँ खुट्टाको उपचार गर्नुपर्ने उल्लेख गरेको प्रमाण  देखाएपछि भने डाक्टर नेपाल र अस्पताल प्रशासन गल्ती स्वीकार गर्न बाध्य भएको थियो । ‘सुरुमा हामीलाई स्वास्थ्य रिपोर्टसमेत दिन आनाकानी गरिएको थियो तर पछि अस्पतालले गल्ती स्वीकार गर्‍यो,’ सम्झनाले भनिन्। 

अस्पतालले गल्ती भएको स्वीकार गर्दै बिरामीका आफन्तसँग सहमति गरेको छ । अस्पतालले पीडित पक्षसँग गरेको सम्झौतापत्रमा भनिएको छ, ‘भुलवश मानवीय त्रुटिका कारण दाहिने घुँडाको अपरेसन हुन गएको तथ्य उपचारमा संलग्न हामी चिकित्सक प्रवीण नेपाल र शैलेश रञ्जितकार, नर्भिक हस्पिटल स्वीकार गर्छौं ।’ सम्झौतापत्रमा अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह तथा बिरामीका श्रीमान् किशोर पौडेलले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा डा. नेपाल र डा. रञ्जितकारले पनि हस्ताक्षर गरेका छन्।

अस्पतालको गल्तीका कारण भविष्यमा आइपर्ने स्वास्थ्य समस्या र देब्रे घुँडाको लिगामेन्ट टियरको उपचार तथा यससँग जोडिएका अन्य समस्याको सम्पूर्ण उपचार अस्पतालले निःशुल्क गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । त्यस्तै अस्पतालले बिरामीको नाममा निःशुल्क उपचार कार्ड जारी गर्ने र बिरामीको उपचार नेपालबाहिर गर्नुपर्ने अवस्थामा पनि सम्पूर्ण स्वास्थ्य उपचार खर्च अस्पताललेब बेहोर्ने उल्लेख गरिएको छ । यस विषयमा जानकारी लिन डा. नेपालसँग टेलिफोन सम्पर्क गर्ने प्रयास गरे पनि उनले फोन उठाएनन्। 

किन हुन्छ यस्तो गल्ती ?
२०६८ साउनमा भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा  रूपन्देही, शंकरनगरकी छमकुमारी बोहराको घाँटीको शल्यक्रिया गर्नुपर्नेमा जितेन्द्र परियार नेतृत्वको चिकित्सक टोलीले पाठेघर झिकेर फयाँकिदिएको थियो।

‘थाइराइड’ क्यान्सरको उपचारका लागि भर्ना भएकी उनको समस्या नै नभएको पाठेघर निकालिएको थियो । नर्भिक इन्टरनेसनल हस्पिटलमा शुक्रबार भएको घटनाले भरतपुर घटनालाई सम्झाइदिएको छ । त्यति बेला भरतपुरमा घटना भएको थियो भने अहिले भरतपुरकै पौडेलले काठमाडौंमा त्यस्तै नियति भोगेकी छिन्। 

यस्ता घटना किन हुन्छन् ? चिकित्साशास्त्रविद् डा. जगदीशप्रसाद अग्रवाल यस्ता घटनालाई मानवीय त्रुटि भन्छन् । यस्तो हुनुका पछायिड डाक्टर र बिरामीका बीचमा सञ्चार नहुनु एउटा कारण भएको अग्रवालको भनाइ छ । ‘डाक्टरले जहिले पनि डबल चेक गर्नुपर्छ, बिरामी होसमा भएको अवस्थामा ऊसँग कुराकानी पनि गर्नुपर्छ, यस्तो नहुँदा त्रुटि हुन जान्छ,’ अग्रवालले भने।

शल्यक्रिया गर्ने डाक्टरले हेल्थकेयर टिमसँग पनि कुराकानी गर्नुपर्ने उनी बताउँछन् । चेकलिस्ट अनुसार काम गरेमा यस्तो त्रुटि कम हुने अग्रवालको भनाइ छ । ‘हतार र आपत्कालीन शल्यक्रिया गर्नुपर्ने अवस्थामा यस्ता घटना हुने सम्भावना बढी हुन्छ,’ अग्रवालले भने ।  कहिलेकाहीं गलत रिपोर्टका कारण पनि यस्ता समस्या हुने अग्रवाल बताउँछन् । यस्ता त्रुटिलाई कम गर्न चिकित्सकले जहिले पनि शल्यक्रिया गर्नुभन्दा पहिले सहकर्मीसँग कुराकानी गर्नुपर्ने, अन्तिम चेकजाँच गर्नुपर्ने र डबल चेक गर्नुपर्ने डा. अग्रवालको सुझाव छ।

प्रकाशित: १३ फाल्गुन २०७४ ०५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App