४ वैशाख २०८१ मंगलबार
राजनीति

संसदीय दलको नेता छान्न कांग्रेसले बनायो कार्यदल

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न ३ सदस्यीय कार्यदल गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले चिनकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे सदस्य रहेका छन्। 

कार्यदलले संसदीय दलको नेता चयनका लागि मिति तोक्ने, सर्वसम्मतीमै नेता चयनको वातावरण सिर्जना गर्ने, नभए निर्वाचन गराउने जिम्मेवारी पाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बैठकले राष्ट्रियसभा सदस्यमा नियुक्तिमा समेत आपत्ति जनाउँदै सच्याउन राष्ट्रपति विद्यादेवी भण्डारीसँग माग गरेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिसलाई रोकेर नयाँ सरकारको सिफारिस प्रमाणिकरण गर्नु असंवैधानिक भएको कांग्रेसको ठहर छ।

प्रवक्ता शर्माका अनुसार केन्द्रीय समिति बैठकले परिमार्जित संघीय संसदीय दलको विधानलाई अनुमोदन समेत गरेको छ।

बैठक प्रारम्भ गर्दै सभापति देउवाले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको गम्भीर समिक्षा गरेर प्राप्त निष्कर्ष बमोजिम पार्टीलाई अघि बढाउने सन्दर्भमा आगामी बैठक मार्फत निर्णय गरिने जानकारी गराएका थिए।

बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, चन्द्र भण्डारी, धनराज गुरुङ, पुष्पा भुसाल, मिन विश्वकर्मा, सिता गुरुङ, चिनकाजी श्रेष्ठ, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, प्रवक्ता विश्वप्रकाश शर्मा, रमेश लेखक र आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले आफ्नो धारणा राखेका थिए। 

प्रकाशित: १३ फाल्गुन २०७४ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App