६ वैशाख २०८१ बिहीबार
समाज

निकुञ्जभित्र ओजोनेटेड सिष्टमको फिल्टर सञ्चालन

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्जको ८ स्थानमा ओजोनेटेड सिष्टमको फिल्टर सञ्चालनमा ल्याइएको छ। निकुञ्जभित्र प्लाष्टिकको बोटलको प्रयोग घटाउन र स्थानीय उपभोक्ता समितिको आयआर्जनमा बृद्धि गर्नका लागि फिल्टरको स्थापना गरिएको हो। 

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाको सहयोगमा पर्यटकीय क्षेत्रको रुपमा परिचित लाङटाङ, ठुलोस्याफ्रु, धुन्चे, लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय, घ्याङफेदी, कुटुम्साङ, हेलम्बु र शेर्माथाङमा फिल्टर जडान गरिएको बताइएको छ। उक्त फिल्टर सोलार तथा विद्युतबाट सञ्चालन गर्न सकिने बताइएको छ। 

एक घण्टामा २ सय लिटर पानी फिल्टर गर्ने क्षमताका ओजोनेटेड सिष्टमको फिल्टर सञ्चालन भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए। पर्यटक, अस्पताल तथा विद्यालयलाई शुद्ध पानी उपलब्ध गराउनका लागि फिल्टरको व्यवस्था गरिएको रेग्मीको भनाई छ। 

लाङटाङ र कुटुम्साङमा सोलारबाट सञ्चालन हुने फिल्टर राखिएको छ भने अन्य क्षेत्रमा विद्युतबाट सञ्चालन हुने फिल्टर राखिएको निकुञ्जले जनाएको छ। आयोजना प्रमुख आरबी राईका अनुसार करिब ३० लाखको लागतमा निकुञ्जभित्र ८ स्थानमा फिल्टर सञ्चालनमा ल्याइएको हो। 

एउटा फिल्टरलाई तीन लाख ५० हजारदेखि ५ लाखसम्म पर्ने आयोजनाले जनाएको छ। सोलारबाट चल्ने फिल्टरलाई ५ लाख र बिद्युतबाट चल्ने फिल्टरलाई तीन लाख ५० हजार पर्छ। फिल्टरको प्रयोगले निकुञ्जभित्र प्लाष्टिकजन्य फोहोर व्यवस्थापन, शुद्ध पानीको व्यवस्था र उपभोक्ता समितिलाई आयआर्जनमा बृद्धि गर्न सहयोग पुग्ने छ। 

‘पर्यटकीय क्षेत्रमा मिनिरल वाटरको प्रयोग बढी हुन्छ’, आयोजना प्रमुख राईले भने, यसको प्रयोगले मिनिरल वाटरको खपत घट्न गई स्थानीयले आयआर्जन गर्न सक्छन्।’ समितिले प्रति लिटर ५० रुपयाँदेखि डेड सय रुपयाँसम्म लिने गरेका छन्। पर्यटकीय क्षेत्रमा नेपालीलाई २० रुपयाँ र विदेशीलाई डेड सय रुपयाँ पानी वितरण गर्ने गरेका छन्। 

२०३२ सालमा स्थापना गरिएको निकुञ्जले रसुवाको ५७ प्रतिशत, नुवाकोटको ७ प्रतिशत र सिन्धुपाल्चोकको ३६ प्रतिशत क्षेत्रफल ओगटेको छ। 

निकुञ्जभित्र हुने वन पैदावरको चापलाई न्युनिकरण गर्न तथा मध्यवर्ती क्षेत्र व्यवस्थापनको लागि २१ वटा उपभोक्ता समिति र एक सय ९१ वटा उपभोक्ता समुह क्रियाशिल रहेका छन्। निकुञ्जले उपभोक्ता समिति मार्फत संरक्षण तथा जीविकोपार्जनको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको छ। 

प्रकाशित: १३ फाल्गुन २०७४ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App