७ वैशाख २०८१ शुक्रबार
अर्थ

विराटनगर नाकामा पनि रेलबाट कन्टेनर

नेपालको लागि कन्टेनर चलान हुने कोलकातास्थित कोन्कोरको माजरहाट टर्मिनल । तस्बिरः रितेश- नागरिक

कोलकाता – नेपाली आयातकर्ताल अब विराटनगर नाकामा पनि रेलमार्गबाटै मालसमान बोकेका कन्टेनर मगाउन सक्ने भएका छन् । कोलकाता, हल्दिया र विशाखापटनम बन्दरगाहमा आएका नेपाली मालसमानका कन्टेनर विराटनगर नजिकै सिमापारी रहेको बथनाहा रेल्वे स्टेसनमा मगाएर विराटनगर नाकाबाट नेपाल भित्र्याउन सकिने भएको छ।

कन्टेनर र अरु मालसमान रेलमार्गबाट ढुवानी गर्ने, भारतीय रेल्वेको भगिनी संस्था भारतीय कन्टेनर निगम लिमिटेड (कोन्कोर) ले उक्त सेवा नेपाली व्यापारका लागि विस्तार गर्ने सबै तयारी गरिसकेको छ । ‘हामीले सबै तयारी गरिसकेका छौं । रेल मन्त्रालय, भन्सार विभाग लगायतबाट पूरा गर्नुपर्ने औपचारिकता सकिएको छ,’ कोन्कोरका पूर्वीक्षेत्रको कार्यालय कोलकताका मुख्य महाप्रबन्धक रथेन्द्र रमनले भने, ‘ विराटनगर नाका नजिकै बथनाहा स्टेसनमा कन्टेनर पुर्याइदिने छौं, त्यहाँदेखि सहजै कन्टेनर नेपाल भित्र्याउन सकिन्छ ।’

 नेपालका लागि गत आर्थिक वर्ष भारतका तीनवटै बन्दरगाहबाट करिब ७५ हजार कन्टेनर सामान आयात भएका थिए । तीमध्ये करिब २० प्रतिशत विराटनगरका लागि आएको कोलकाता पोर्ट ट्रस्टले जनाएको छ । ‘यसअघि विराटनगर नाका भएर जाने पूर्वी नेपालका कन्टेनर प्रायः सडकमार्गबाटै गएका छन्, छिटफुटमात्र रेलबाट वीरगन्ज पुगेका थिए,’ कोन्कोरका वरिष्ठ महाप्रबन्धक सैयदअब्दुल रहमानले भने, ‘चालू आर्थिक वर्ष नेपाली कन्टेनरको अनुपात अझ बढ्नेछ । यस कारण नेपाली आयातका लागि र हाम्रो लागि बथनाहा स्टेसनमा कन्टेनर पुर्‍याउने कुरा निकै महत्वपूर्ण छ।’

सडकमार्गबाट ढुवानी हुने कन्टेनर ओसारपसार गर्न अब आफ्नो कम्पनीमार्फत हुदाँ कारोबार बढ्ने कोन्कोरका अधिकारीको अनुमान छ । नेपाली सिमानासँग जोडिएको बिहार प्रान्तको अररिया जिल्लाको सिमावर्ती बजार बथनाहामा पहिलेदेखि रेलस्टेसन छ । त्यहाँ कन्टेनर ओसारपसार गर्न चाहिने यन्त्र र पूर्वाधार विकासमा कन्कोर लागेको थियो । ती काम सकिएर बथनाहा स्टेसन अहिले कन्टेनर ओसारपसार लागि तयार भइसकेको कन्कोरले जनाएको छ।

बथनाहादेखि चार किलोमिटरमा जोगबनी नाका छ । पारि जोगबनीसँग वारिको विराटनगर जोडिएकाले नेपालको तेस्रो प्रमुख नाकाका रुपमा त्यहाँबाट आयात निर्यात हुँदै आएको छ । अब रेलमार्गबाट ढुवानी भएर पनि कन्टेनर त्यहाँ आउने भएपछि विराटनगर नाकाको कारोबार बढ्ने अनुमान गरिएको छ । ‘पहिले त्यहाँ सडकमार्फत कन्टेनर जाने गरेका थिए, अब रेल सेवा पनि प्राप्त हुने भएको छ, रेलमार्गबाट कन्टेनर ढुवानी सुरक्षित र किफायति दुइटै, यस कारणले यो हाम्रो लागि महत्वपूर्ण कुरा हो,’ भारतका लागि कोलकतास्थित महावाणिज्यदूत एकनारायण अर्यालले भने, ‘अब चाँडै त्यहाँबाट कन्कोरले  सेवा दिन तयारी गरेको थाहा पाएको छु, यो सुखद छ ।’ नेपालको लागि उक्त सेवा विस्तार गराउन महावाणिज्यदूत अर्याल प्रयासरत थिए।  

नेपालका अरु नाकामा पनि यस्तो सेवा आवश्यक देखिएको उनको भनाइ छ । बथनाहा भएर नेपाली कार्गो ढुवानीका लागि तयारी चरणमा भारतीय भन्सार, नेपाली महावाणिज्यदूत, सिपिङ कम्पनीलगायत सबै तयार भइसकेपछि त्यहाँ लैजाने कन्टेनर बुकिङको काम हुने भएको छ । ‘फागुन अन्तिम साताभित्र त्यहाँ ढुवानी सेवा दिने छौं,’ रमनले भने, ‘अब ढिलो हुँदैन।’

प्रकाशित: १४ फाल्गुन २०७४ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App