७ वैशाख २०८१ शुक्रबार
समाज

पहिलो महिला मेयरद्वारा सेनिटरी प्याड वितरण

रौतहट – मधेसको पहिलो र एकमात्र महिला मेयरले आफ्नो नगरपालिकामा दुई वटा नयाँ कार्यक्रमको शुभारम्भ गरेकी छिन्।

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनादेवी साहले दुई वर्षभित्र नगरपालिकालाई साक्षर बनाउन घोषणा गरेकी छिन् । कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले निकै चुनौतीपूर्ण काम भए पनि विभाग, जिल्ला शिक्षा कार्यालय रौतहट तथा नगरपालिकाको समन्वयमा लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका छन्। महानिर्देशक पौडेलले जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंहलाई साक्षरता अभियानलाई सफल बनाउन निर्देशन दिएका छन्।

साक्षरता अभियान संचालन गर्न जिल्ला शिक्षा कार्यालय रौतहटले तत्काल विश्वास २० वटा कक्षा संचालन गरिएको र आवश्यकता अनुसार सहयोग गर्ने वचनबद्धता प्रकट गरेका छन् । आगामी दुई वर्षमा नगरपालिकालाई साक्षर घोषणा गर्न सबैको सहयोग आवश्यक रहेको मेयर साहको भनाइ छ।

यसैगरी नगरपालिकाका १३ वर्षदेखि ४५ वर्षसम्मका महिलालाई मासिक धर्मको समयको लागि सरसफाइमा सहयोग पु¥याउन निशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुरुआत गरेकी छिन्। सम्भवतः मधेसमै पहिलोपल्ट ल्याइएको योजनाबाट तत्काल ६ हजार महिला लाभान्वित हुने मेयर साहको दाबी छ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं साँसद प्रभु साहले शिक्षाको विकासबिना अरु विकास नहुने भएकोले नगरपालिकाको प्रयास निकै सराहनापूर्ण भएको बताएका छन् । यसैगरी स्वास्थ्य र सरसफाइमा महिलाको सहभागिताले परिवार र समाज नै स्वस्थ्यतातिर अगाडि बढ्ने बताउँदै साहले सबै मिलेर शिक्षा र स्वास्थ्यको विकासको लागि एक जुट भएर लाग्नुपर्ने बताएका छन्।

नगरपालिकाले देशका विभिन्न कलाकारहरुलाई बोलाएर सांस्कृतिक कार्यक्रम गर्दै स्वास्थ्य तथा शिक्षाको महत्वको बारेमा प्रकाश पार्न लगाएकी मधेसको पहिलो महिला मेयर साह महिलामैत्री नगरपालिका बनाउन सबै किसिमको प्रयास जारी राखेको बताएकी छिन् । महिलालाई हुने सबै किसिमको समस्या आफूले बुझेको हुनाले शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा महिलालाई अगाडि बढाउने आफूले नयाँ किसिमले योजनाहरू ल्याइरहने र सबै नगरवासीले सहयोग गर्ने आशा व्यक्त गरेकी छन् ।

प्रकाशित: १४ फाल्गुन २०७४ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App