coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘फेरिनुपर्छ पैदलयात्रुको स्वभाव’

वीर अस्पतालको मूल गेटमा रत्नपार्कतर्फ फर्केर उभिने हो भने, सडक पार गर्नका लागि दायाँतर्फ आकासेपुल र बायाँतर्फ सब–वे छन् । तर, सडक पार गर्न पैदलयात्रुलाई सहज होस् भनेर बनाइएका अकासेपुल र सब–वे कमैले मात्र प्रयोग गर्छन्। 

अस्पताल क्षेत्र भएकाले यहाँ हरेक दिन तीव्र गतिमा दौडँदै गरेका सवारीसाधनलाई हात देखाउँदै सडकबाटै बाटो काट्नेहरू धेरै देखिन्छन् । अधिकांश  पैदलयात्रु जोखिम मोलेर सडक बीचबाटै रत्नपार्कतर्फ गइरहेका र वीर अस्पतालतर्फ आइरहेका हुन्छन्। 

पूर्वाधार हुँदाहुँदै त्यसलाई प्रयोग नगरी जथाभावी सडक पार गर्दा पैदलयात्रु र सवारी दुर्घटनामा पर्ने जोखिम त छँदै छ, सँगसँगै ट्राफिक जाम समेत हुने गरेको छ।

पूर्वाधार हुँदाहुँदै त्यसलाई प्रयोग नगरी जथाभावी सडक पार गर्दा पैदलयात्रु र सवारी दुर्घटनामा पर्ने जोखिम त छँदै छ, सँगसँगै ट्राफिक जाम समेत हुने गरेको छ । सुन्धाराबाट रत्नपार्कतर्फ जाने सडकमा दुईतर्फी सवारी चलाउन पाइँदैन । तर, पैदलयात्रुकै कारण ‘वान वे’ सडकमा समेत हरेक दिन जाम हुने गरेको छ। 

वीर अस्पताल–रत्नपार्क त उदाहरण मात्र हो, उपत्यकाका अधिकांश स्थानमा भएका पूर्वाधार समेत प्रयोग नगरी सडक पार गर्ने पैदलयात्री भेटिन्छन् । त्यसले ट्राफिक जाम बढाइरहेको छ । त्यसको अर्को ज्वलन्त उदाहरण हो, नयाँ बानेश्वरबाट थापागाउँतर्फ जाने सडकको मुखैमा बनेको अकासेपुल । हालसालै बनेको यो अकासेपुल खासैले प्रयोग गरेको देखिँदैन । अकासेपुल मुनिबाट यात्रुहरू ओहोरदोहोर गरिरहेका हुन्छन्। 

अकासेपुल मात्र होइन, धेरैले जेब्राक्रस समेत प्रयोग गर्दैनन् । ‘जेब्राक्रसबाट बाटो काट्ने धैर्य यात्रुमा कहिल्यै देखिँदैन,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले भने, ‘लाइनमा बसेर सवारीसाधन चढ्नुस् भन्दा पनि कहिल्यै टेर्दैनन् ।’ उनी सडक पार गर्दा मात्र होइन, सवारीसाधन चढ्दा पनि पैदलयात्रुमा निश्चित बिसौनीमा सवारीसाधन कुरेर चढ्ने धैर्य देखिँदैन । पैदलयात्रुका यस्ता प्रवृत्ति र स्वभावले उपत्यकामा ट्राफिक जाम बढाउनुका साथै दुर्घटनाको जोखिम बढाएको उनी बताउँछन् । 

पैदलयात्रुले मात्र ट्राफिक नियम मानिदिने हो भने पनि जाम धेरै हदसम्म कम गर्न सकिने उनी बताउँछन् । पूर्वाधार भएका क्षेत्रमा नियम मिच्ने पैदलयात्रुलाई पनि कारबाही गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । तर, पूर्वाधार नभएका क्षेत्रमा भने पहिले पूर्वाधार बनाउनुपर्ने उनको सुझाव छ । ‘पूर्वाधार सँगसँगै  कारबाहीलाई कडाइका साथ अघि बढाउनुपर्छ,’ उनले भने, ‘पूर्वाधारविनै कारबाही गर्दा ट्राफिक प्रहरी र पैदलयात्रुबीच टकराब बढ्ने जोखिम हुन्छ।’

‘जेब्राक्रसबाट बाटो काट्ने धैर्य यात्रुमा कहिल्यै देखिँदैन, लाइनमा बसेर सवारीसाधन चढ्नुस् भन्दा पनि कहिल्यै टेर्दैनन् ।’

बालकोट–कलंकी रुटमा माइक्रोबस चलाउने हरि सुवेदी पैदलयात्रुले जथाभावी बाटो काट्दा हैरान भएको बताउँछन्। ‘पैदलयात्रु जहाँ मनलाग्यो, त्यहीँबाट बाटो काट्छन्,’ उनले भने, ‘अकासेपुलबाट यात्रु हिँड्नै मान्दैनन्, सडकको मध्यभागबाट बाटो काट्ने प्रवृत्तिले दुर्घटना धेरै हुन्छ।’

सवारी तथा यातायात व्यवस्था ऐन– २०४९ को दफा १३६ मा पैदलयात्रु सडकपेटीबाटै हिँड्नुपर्ने प्रावधान छ । पेटी नभएको सडकमा सडकको किनारा च्यापी हिँड्नुपर्ने उल्लेख छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत जेठ १५ गतेदेखि जथाभावी बाटो काट्नेलाई दुई सय रुपैयाँ जरिवाना र पैसा नहुनेलाई अनिवार्य तीन घन्टा ट्राफिक नियमसम्बन्धी कक्षामा बस्नुपर्ने नियम कार्यान्वयन गरेको थियो । त्यसको १५ दिन बित्न नपाउँदै तत्कालीन गृहमन्त्री जनार्दन शर्माले कारबाही हटाउने आदेश दिएका थिए।

उनले जरिवान नलिईकन ट्राफिक नियमसम्बन्धी कक्षामा मात्र बसाउने नियम लगाउन निर्देशन दिएसँगै ट्राफिकले पनि कारबाही रोकेको थियो । ट्राफिकले कारबाही नगर्ने भएपछि अचेल पैदलयात्रु अराजक बनेको देखिएको छ।

प्रकाशित: १४ फाल्गुन २०७४ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App