coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बैंकमै छैन डलर

बालकृष्ण ज्ञवाली/रुद्र पंगेनी

काठमाडौं- चिनियाँ व्यापारीले सोझै बजारबाट उठाउन थालेपछि बैंकिङ प्रणालीमा अमेरिकी डलरको नगद अभाव चर्किएको छ। व्यापारीले बैंकिङ प्रणाली 'बाइपास' गर्दै नगदै चीनतिर लैजाने क्रम बढेपछि नगद अभाव देखिएको हो।

राष्ट्र बैंक उच्च अधिकारीका अनुसार पछिल्लो समय चिनियाँ व्यापारीले नेपाली बजारबाट अमेरिकी डलर उठाएर सडक मार्ग हुँदै चीन पुर्‍याउने गरेका छन्। विगतमा पनि व्यापारीले यस्तो काम गर्दै आएकामा पछिल्लो समय डलर लैजाने  क्रम ह्वात्तै बढेकाले अहिले समस्या परेको हो।

'चिनियाँ व्यापारीले सामानको भुक्तानी बैंकिङ प्रणालीभन्दा नगदै अमेरिकी डलरमा लिन रुचाउने देखिएको छ,' राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगानाले बुधबार नागरिकसँग भने, 'यही कारण बैंकिङ प्रणालीमा अहिले डलर अभाव भएको हो।'

उनका अनुसार चिनियाँ व्यापारीले अमेरिकी डलरसँगै चिनियाँ मुद्रा युआन पनि लैजाने गरेका छन्।

यसअघि बैंकिङ प्रणालीमा पर्याप्त अमेरिकी डलर देखिएपछि राष्ट्र बैंकले नगद अभाव चर्कंदै गएपछि विदेश जाने नेपालीलाई ५ सयभन्दा बढी नदिन बैंकलाई निर्देशन दिइसकेको छ। पहिले २ हजार ५ सयसम्म दिनेे व्यवस्था थियो।

ढुंगानाले नेपालको कुल व्यापारमा करिब ३० प्रतिशत अवैध व्यापार रहेको बताए। गत वर्ष नेपालले औपचारिक रुपमा ७ सय अर्ब रुपैयाँभन्दा बढीको आयात गरेको छ। अनौपचारिक रुपमा ३ सय अर्बभन्दा बढीको सामान आयात हुने गरेको ढुंगानाले दाबी गरे। उनका अनुसार यसरी अवैध रुपबाट आएका सामानको भुक्तानी गर्न अमेरिकी डलर प्रयोग भइरहेको छ।

'अवैध रुपबाट आएका धेरै सामानको भुक्तानी हुन्डीबाट गर्ने चलन छ,' ढुंगानाले भने, 'चिनियाँ व्यापारीको प्राथमिकता भने हुन्डीभन्दा नगद डलर लैजानुमा छ।' उनले चीनबाहेक अन्य मुलुकबाट हुने अवैध कारोबारमा हुन्डी हाबी रहेको पनि जानकारी दिए।   

राष्ट्र बैंकका अर्का एक अधिकारीका अनुसार चिनियाँ व्यापारीले केही पर्यटन व्यवसायी र विशेष गरी मनी चेन्जरमार्फत अमेरिकी डलर संकलन गरी रसुवा–केरुङ सडक मार्ग हुँदै लैजाने गरेका छन्। केही व्यवसायीले सेटिङ मिलाएर हवाई मार्गबाट समेत डलर र युआन लैजाने गरेको ती अधिकारीले जनाए।

अमेरिकी डलर अवैध कारोबारमा मनी चेन्जरको संलग्नता देखिएपछि राष्ट्र बैंकको अनुरोधमा राजस्व अनुसन्धान विभागले केही दिनअघि ठमेल र न्युरोड क्षेत्रका मनी चेन्जरमा छापा मारेको थियो। त्यस क्रममा केही व्यवसायीको कारोबार शंकास्पद देखिएको र अन्य धेरैले हिसाब मिलाएर राखेको फेला परेको थियो।

विभागका प्रमुख निर्मलहरि अधिकारीका अनुसार केही मनी चेन्जरले ठूलो रकमको डलर कारोबार कार्यालय बाहिरैबाट गर्ने गरेको पाइएको जानकारी दिए।

'साना–साना डलर कारोबार कार्यालयबाटै गर्ने तर ठूलो रकम आउँदा बाहिरबाट गर्ने देखिएको छ,' उनले भने, 'कार्यालय बाहिर हुने कारोबार अनुसन्धान क्रममा छ।'

अधिकारीले शंकास्पद व्यवसायीको कारोबार र गतिविधिलाई विभागले भिन्नै तरिकाले अनुसन्धान गरिरहेको जानकारी दिए। 

बैंकिङ प्रणालीमा अमेरिकी डलर अभाव भएकै कारण राष्ट्र बैंकले पछिल्लो ९ महिनादेखि एक डलर पनि सञ्चित गर्न विदेश नपठाएको प्रमुख ढुंगानाले बताए।

'बैंकिङ प्रणालीमा पर्याप्त डलर भएपछि राष्ट्र बैंकले सिंगापुर खातामा लैजान्छ,' ढुंगानाले भने, 'अहिले यहीँ अभाव भएकाले ९ महिनादेखि जम्मा गर्न सकिएको छैन।'

ढुंगानाका अनुसार बैंकिङ प्रणालीमा अमेरिकी डलर अभाव हुनुमा भूकम्पका कारण पर्यटक आगमन घट्नु पनि अर्को प्रमुख कारण रहेको जानकारी दिए। नेपालमा नगद डलर पर्यटकले ल्याउने हुन्। भूकम्पपछि नेपाल आउने पर्यटक करिब डेढ लाखले घटेकाका कारण डलर पनि कम आयो। आएका पर्यटकले पनि नगद डलरभन्दा त्रे्कडिट कार्ड लिएर आउने प्रचलन बढ्दा पनि यो अवस्था आएको हो।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष अशोक राणाले पनि अहिले अमेरिकी डलरको चरम अभाव रहेको बताए। सर्वसाधारणलाई अहिले ३–४ सयभन्दा बढी डलर दिन सक्ने अवस्था नरहेको उनको भनाइ छ।

'अमेरिकी डलर माग्न आउनेलाई सकेसम्म थोरै दिएर कार्ड लैजाऊ भन्न बाध्य छौं,' उनले भने, 'यसबारे राष्ट्र बैंकसँग पनि पटक–पटक छलफल भएको छ तर समस्या समाधान हुन सकेको छैन।'           

ढुंगानाले बैंकिङ प्रणालीमा अमेरिकी डलर नगद अभाव भएपछि वाणिज्य बैंकहरुलाई मुलुकबाहिर जाने नेपालीलाई सकेसम्म ५ सयभन्दा बढी नगद नदिन निर्देशन दिइएको बताए। उनले सर्वसाधारणलाई नगद डलरभन्दा कार्डलगायत अन्य वैकल्पिक साधन अपनाउने वातावरण बनाउन बैंकहरुलाई भनिएको पनि जनाए। विदेश जाँदा नेपालीको प्राथमिकता भने कार्डभन्दा नगदै छ।         

बैंकिङ प्रणालीमा अमेरिकी डलरको नगद अभाव भए पनि मुलुकसँग डलरसहित विदेशी विनिमय सञ्चिति भने पर्याप्त रहेको ढुंगानाले जानकारी दिए। अहिले पनि एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवा आयातको भुक्तानी दिन विदेशी मुद्रा सञ्चित रहेको उनले जनाए। डलरको नगद अभावले मुलुकको अर्थतन्त्रलाई कुनै असर नपारे पनि सर्वसाधारणलाई भने समस्या पार्ने गरेको छ।

प्रकाशित: २ भाद्र २०७३ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App