८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

‘सदन ठीक नभएसम्म सडक व्यवस्थित हुँदैन’

स्वरूपराज आचार्य, गायक

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई काठमाडौं नै राम्रो लाग्छ । किनभने, यहाँ हरेक थोक पाइन्छ । सरकारी काममा केही झन्झट भए पनि यहाँको मौसम र सेवा–सुविधा राम्रो छ । उपत्यकामा संसारमै नपाइने अमूल्य कलाकृति छन् । प्रकृतिले पनि यो ठाउँ सजिएको छ, मात्रै हामीले यसलाई व्यवस्थित पार्न सकिरहेका छैनौँ।

उपत्यका बाहिर कुन–कुन सहर राम्रो लाग्छ ?
पोखरा, धरान, धनगढी, बिर्तामोडलगायत सहर मलाई राम्रो लाग्छ । धरान लाहुरेले सिँगारेको सहर हो । यहाँ बस्नेहरू सरसफाइप्रति संवेदनशील छन् । सबै मिलेर सहरलाई व्यवस्थित पारेकाले धरान सुन्दर बनेको छ । पोखरा पनि अहिलेसम्मलाई व्यवस्थित सहर नै मानिन्छ । यहाँ जनसंख्या पनि ठिक्क छ । जनसंख्या र क्षेत्रफल मिलेकाले पोखरामा प्रदूषण कतै देखिन्न ।

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
मैले अमेरिका, जापान, हङकङ, अस्टेलिया, युरोपलगायत ३० भन्दा बढी देशका सहर घुमेको छु । म पुगेका सहरमा फरक–फरक विशेषता पनि पाएँ । युरोपका सहर आफ्नै किसिमका छन् । जापान, अमेरिका, अस्टे«लिया आफ्नै मौलिकता बोकेका सहर हुन् । हाम्रो देशको तुलनामा विदेशी सहर धेरै सुन्दर छन् । त्यहाँ विकास छ तर प्रकृति दोहन गरिएको छैन । प्रकृति र मौलिकतालाई ध्यानमा राखेर सहरको विकास गरिएको छ । हाम्रोमा सहर विकासका नाममा हरियाली मासिएको छ । रूखहरू काटिएको छ । कम्तीका पुराना रूख काटेपछि नयाँ त रोप्नुपर्ने हो, त्यो पनि भएको छैन । सबैतिर विनाश पार्ने काम मात्रै भइरहेका छन् ।
 हाम्रा सहर त्यस्तै बन्न सक्दैनन् ?
बनाउन त सकिन्छ, तर सरकारमा बस्नेले आँट गर्नुपर्छ । पारदर्शी भएर काम गर्नुपर्छ । सदन र सडकलाई व्यवस्थित पार्नुपर्छ । हाम्रा सहर बिग्रनुको मुख्य कारण सदन ठीक नहुनु हो । जबसम्म सदन ठीक हुन्न, त्यहाँको सडक पनि व्यवस्थित होला भनेर नचिताए हुन्छ । बनाउने हो भने हाम्रो देशका सहर विश्वमै नमुना बन्न सक्छन् । त्यसका लागि सरकार र आमनागरिक सहरको विकासमा हातेमालो गरेर अघि बढ्न जरुरी छ ।

सहरको विकासमा सरकारले कसरी काम गर्नुपर्ला ?
कानुनी व्यवस्थालाई पालना गर्ने, विकास निर्माणका काममा भागबन्डा नलगाउने, अग्ला र अव्यवस्थित भवन निर्माण रोक्ने र सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामजस्ता पक्षलाई केन्द्रमा राखेर काम गर्ने हो भने सहर अलि व्यवस्थित हुन सक्ला । नत्र सधैँ अहिलेजस्तै रहिरहनेछ ।

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष के हो ?
यहाँका ऐतिहासिक मठ–मन्दिर, दरबार, मौलिक पहिचान बोकेका सम्पदा लगायत पक्ष राम्रो लाग्छ । यहाको मौसम पनि उत्तिकै राम्रो छ । नेपाल सानो र सुन्दर छ । मात्र यहाँको सरकार कमजोर भएको हो ।

मननपर्ने पक्ष ?
प्रदूषण, ट्राफिक जाम, अव्यवस्थित सडक र भीडभाडले काठमाडौंलाई अस्तव्यस्त बनाएको छ ।

के कारण काठमाडौं भद्रगोल भएको होला ?
केही पक्षमा अस्तव्यस्तता भए पनि यहाँका धेरै कुरा राम्रा छन् । सानातिना काम पनि सरकारले नगरेका कारण सहर यति धेरै बिग्रिएको छ भन्ने मानसिकता बसेको हो । मलाई काठमाडौं ठुल्ठूला काम रोकिए र वा नभएर बिग्रिएको होजस्तो लाग्दैन । काठमाडौं बिग्रिएको साना–साना कुराले हो । १५ वर्ष अघिसम्म काठमाडौं ठिकै थियो । अहिलेभन्दा व्यवस्थित नै थियो । जनसंख्या पनि ठिक्क थियो । अहिले उपत्यका कुरूप बनेको छ । त्यति सुन्दर सिंगो उपत्यकालाई प्लटिङ गरेर टुक्रा–टुक्रा पारिएको छ । सहरको मौलिकता मेटिँदै छन् ।

तपाईंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
सहरवासीमा एकताको भावना होस् । सबै मिलेर बसेको देख्न पाइयोस् । सहरमा सबैखाले सुविधा लिन झन्झट व्यहोर्न नपरोस् । हरियाली देख्न पाइयोस् । कहिलेकाहीँ आफन्तसँग भेटिएर भलाकुसारी गर्ने पार्क होऊन् । यति भयो भने सहर राम्रो हुनेछ ।
हाम्रा सहरका विकास कसरी होला ?
जबसम्म सहरमा बस्नेहरू सचेत हुँदैनन्, सहरलाई माया गर्दैनन्, तबसम्म सहरको विकास हुँदैन । बरु अहिलेजस्तै फोहोर र अस्तव्यस्त भइरहन्छ । सहरको विकासका लागि सरकारी निकाय पनि बलियो हुनुपर्छ । जनतालाई सहर सफा राख्न निर्देशन दिनुपर्छ ।

सहरवासीको बानी व्यवहार कस्तो लाग्छ नि ?
हामी सहरवासी सहरबारे सोच्न भ्याउँदैनौँ । सबैलाई आफ्नै रडाको मात्रै छ । म बसेको ठाउँलाई एक दिन समय दिएर सफा गर्छु भन्ने भावना सहरवासीमा छैन । सहरमा बस्ने अधिकांश गैरजिम्मेवार छन् । भएका नियम मिच्ने, नटेर्ने, फोहोर जथाभावी फाल्ने, दोषजति सरकारलाई थुपार्ने, एकअर्काको कुरा काट्नेजस्ता प्रवृत्ति सहरवासीमा छन् ।

उपत्यकानजिकै कतै घुम्न जानुपर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
त्यति धेरै घुम्ने र रमाइलो गर्ने फुर्सद त हुन्न, समय भयो भने नगरकोटतिर जान्छु ।

मन भएर पनि पुग्न नपाएको ठाउँ कुन हो ?
मलाई मेरै देशको मुस्ताङ पुग्ने मन छ । हेरौँ, यो चाहना पनि एक दिन पक्कै पूरा हुनेछ ।
पछिल्लो समय घुमेको ठाउँ ?
केही समयअघि कोहलपुर पुगेर आएको थिएँ । कोहलपुर बजार अहिले धेरै व्यवस्थित भएको रहेछ ।
काठमाडौंको मनपर्ने खानेकुरा के हो ?
यहाँको सबैखाले खानेकुरा मीठो लाग्छ ।
प्रस्तुति ; शिवहरि घिमिरे

प्रकाशित: १४ फाल्गुन २०७४ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App