coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘सिजनको व्यापार सन्तोषजनक पनि भएन’

पोखरा घुम्न आएका थाइल्यान्डका पर्यटक दृश्यावलोकन जाने तयारीमा । तस्बिरः सन्तोष- नागरिक

पोखरा– फेब्रुअरीदेखि अप्रिलसम्मको समयलाई पर्यटन व्यवसायीले विदेशी पाहुना आउने मुख्य सिजन मान्छन् । भूकम्पअघिका वर्ष यो सिजनमा पोखरा आउने पाहुनाको संख्या उच्च हुँदा अग्रिम बुकिङ पनि शतप्रतिशतभन्दा बढी हुन्थ्यो । शतप्रतिशतभन्दा बढीको बुकिङलाई व्यवस्थापन गर्न कतिपय होटललाई त्यो बेला हम्मे परेको थियो।

तर, भूकम्पपछिका वर्ष पर्यटकीय क्षेत्र पोखराले सिजनमा पनि सन्तोषजनक व्यापार पाउन सकेको छैन । पोखराले यो सिजनमा पनि उच्च बुकिङ पाएको छैन । सिजन चलिरहँदा पनि शतप्रतिशत बुकिङ नकटेको होटल व्यवसायीको भनाइ छ । मुख्य सिजनमा पनि करिब ७० देखि ८० प्रतिशत हाराहारी मात्र ठूला होटलले पाहुना पाएको उनीहरू बताउँछन् । साना आकारका होटलको अवस्था त्योभन्दा पनि कमजोर रहेको उनीहरू बताउँछन्।

‘भूकम्पअघिका वर्षमा यो सिजनको बुकिङ शतप्रतिशतभन्दा बढी हुन्थ्यो । त्यो व्यवस्थापन गर्न हामीलाई हम्मे हुन्थ्यो,’ ३१ कोठा भएको डालिया बुटिक होटलका आवासीय प्रबन्धक तुलसी लामिछानेले नागरिकसँग भने, ‘बाहिरबाट झट्ट हेर्दा ७०–८० प्रतिशत हाराहारीमा अकुपेन्सी पुगेको छ । सुन्दा राम्रो सुनिए पनि यो सन्तोषजनक व्यापार होइन ।’सिजनमा शतप्रशित बुकिङ नआउँदा व्यवसायी ढुक्क हुन नसकेको उनले बताए । ‘ओभर बुकिङ देखिँदा बल्ल होटलले शतप्रतिशत पाहुना पाउनेमा हामी ढुक्क हुन्थ्यौं । तर, अहिले शतप्रतिशत बुकिङ नै पुगेको छैन । त्यसले केही अन्योल छ,’ उनले भने।

उनका अनुभवमा सिजनमा पोखराका होटलले महिनौंअघि शतप्रतिशत नाघेर बुकिङ पाउँथे । तर अहिले बुकिङ अवधि पनि निकै कम हुने गरेको छ । ‘पहिला होटल पनि कम थिए । अनि समयमै बुकिङ गर्नुपर्छ भन्ने धेरै पाहुना हुन्थे । एजेन्सीले पनि समय छँदै बुकिङ गर्दथे,’ लामिछानेले भने, ‘अहिले होटल संख्या बढेकाले पनि होला, अग्रिम बुकिङ निकै नै कम समय राखेर आउने गरेको छ । एक साता समय राखेर बुकिङ आउने गरेको छ ।’ एडभान्स बुकिङ निकै नै कम भएको उनले बताए।

टुकी रिसोर्टका अपरेसन म्यानेजर पुष्पराज चालिसे पनि सिजनका बेला पोखराले शतप्रतिशत पाहुना नपाएको बताउँछन् । ‘भूकम्पअघि हामीले सिजनका बेला पाहुना बढी भएर आसपासका होटलमा समेत व्यवस्थापन गर्नुपथ्र्यो तर अहिले यो अवस्था आएन,’ चालिसेले भने, ‘केही आन्तरिक पाहुनाको भरमा होटल भरिए पनि सिजनअनुसार विदेशीको आगमन सन्तोषजनक हुन नसकेको हो ।’उनले मार्चको बुकिङ भने राम्रो आएको बताए । ‘खासमा फेबु्रअरी–अप्रिल विदेशी पाहुनाको सिजन हो । यो बेला अकुपेन्सी निकै नै उकालो लाग्थ्यो । तर, अहिले खास सिजनमा पनि पोखराले पाहुना पाएको छैन,’ उनले भने।

चालिसेले पनि पछिल्लो समय होटल संख्या बढ्न जाँदा पाहुना बाँडिएर कमी देखिएको हुन सक्ने बताए । ‘भूकम्पपछि करिब दुई दर्जन संख्यामा सुविधासम्पन्न होटल पोखरामा खुलेका छन् । त्यसले गर्दा पाहुना बाँडिएको पनि हुनसक्छ,’ उनले भने, ‘पहिला होटल संख्या कम हुँदा पाहुनाले कोठा नपाउने डरले अग्रिम बुकिङ गर्दथे । अहिले होटल पर्याप्त भएकाले पनि अभावजस्तो देखिएको हो ।’ चिनियाँ पर्यटक आउन नसक्दा पनि बुकिङ उकालो लाग्न नसकेको उनले बताए।

टेम्पल ट्री रिसोर्टका म्यानेजर कृष्ण आचार्य पनि यसपटकको सिजन उतिसारो राम्रो हुन नसकेको बताउँछन् । ‘मुख्य सिजन भए पनि सोचेजति हुन सकेन, सिजनमा पनि ओभर बुकिङ आउनै सकेन,’ आचार्यले भने, ‘कुनै बेला हामीलाई यो सिजनमा पाहुना व्यवस्थापनमा समस्या हुन्थ्यो ।’ उनले पनि पोखरामा होटल संख्या थपिँदा सबैलाई पाहुना पुग्न नसकेको आचार्यले बताए।

आचार्यका अनुसार टेम्पल ट्री रिसोर्टको यतिबेलाको अकुपेन्सी करिब ७० प्रतिशत मात्र छ । मुख्य सिजनको यो अकुपेन्सीबाट आपूmले सन्तोष मान्न नसकेको उनले बताए । ‘यो बेला कम्तीमा ९० प्रतिशत अकुपेन्सी हुनुपर्ने हो, तर हुनै सकेन । पाहुना नै बढ्न नसकेको हामीले अनुभव गरेका छौं,’ आचार्यले भने, ‘सिजनका बेलामा पनि शतप्रतिशत पाहुना नपाउनुलाई सन्तोषजनक रूपमा लिन सकिन्न ।’पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन विदेशी पाहुनाको आगमन योपटक उच्च हुन नसकेको बताउँछन् । मुख्यसिजनको व्यापार कम भएको उनले बताए ।भूकम्पअघि ओभरबुकिङ भएर अरू होटलमा पाहुना पठाउनुपरेको अनुभव आपूmहरूसँग रहेको उनले बताए।

संघका अध्यक्ष तुलाचनका अनुसार यतिबेला पोखराका होटलको औसत अकुपेन्सी करिब २५ प्र्रतिशत हाराहारीमा छ । यो विदेशीको अकुपेन्सी अनुपात मात्र भएको उनले बताए । ‘ठूला होटलको करिब ७० प्रतिशत अकुपेन्सी पुगे पनि पोखराका सबै होटलको अवस्थालाई औसतमा हेर्दा २५ प्रतिशत नाघेको छैन,’ तुलाचनल भने, ‘यो बेला कम्तीमा ७० प्रतिशत अकुपेन्सी हुनुपर्ने भए पनि विदेशी आएका छैनन् । विदेशीको आगमन सोचेअनुरूप बढ्न सकेको छैन।’

पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलिया सिजनको यो आगमनबाट आत्तिन नहुने बताउँछन् । ‘नेपालभरका होटलको टप सिजनको अकुपेन्सी पनि ७० प्रतिशत हाराहारीमा हुने हो । होटलको संख्या बढेकाले पनि पाहुना बाँडिन पुग्दा केही कम भएको अनुभव गरेका हुन्,’ थपलिया भन्छन्, ‘तर पनि यो कमजोर आगमन होइन ।’ होटल थपिँदा कोठा संख्या बढ्दै गएर पाहुना बाडिँदा आगमन घटेको अनुभव गरेको हुन सक्ने उनले बताए ।

 

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App