८ वैशाख २०८१ शनिबार
राजनीति

स्वास्थ्यकर्मीलाई गाउँ पठाउने मुख्यमन्त्री पौडेलको योजना

मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शहरकेन्द्रित स्वास्थ्यकर्मीलाई गाउँमा पठाउने बताएका छन्। नेपालमा संघीयता र गणतन्त्र आएको भन्दै उनले नयाँ व्यवस्था अनुसार स्वास्थ्यकर्मीले पनि मान्यता, धारणा र सोच परिवर्तन गर्नुपर्ने बताए।

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले स्वास्थ्यकर्मीहरु शहर छाडी गाउँमा गएर सेवा दिन ईच्छुक नभएको भन्दै कडा आलोचना पनि गरे। ‘पहुँचवाला स्वास्थ्यकर्मी शहर–बजारमा बस्ने, पहुँच नहुने स्वास्थ्यकर्मीलाई मात्र दुर्गममा खेद्ने अनि उनीहरु कत्ति समय टिक्छन्?’

विश्व स्वास्थ्य संगठन(डव्लूएचओ)को रिपोर्ट अनुसार नेपालमा ३० देखि ३५ प्रतिशतमा मात्र स्वास्थ्य सेवा पुगेको पाईएको भन्दै दुःख व्यक्त गरे। ‘नेपालमा ९ सय स्वास्थ्यकर्मी सहरी क्षेत्रमा बस्छन्।’ उनले तथ्याङ्क प्रस्तुत गर्दै भने, ‘त्यसमा ६० प्रतिशत काठमाडौैं बस्छन्, अनि कसरी स्वास्थ्य सेवा प्रभावकारी हुन्छ?’ प्रति १० हजार जनसंख्यालाई २३ जना स्वास्थ्यकर्मीले सेवा दिनुपर्ने विश्वव्यापी मान्यता भएपनि नेपालमा प्रति १० हजारका लागि ७ जना मात्र स्वास्थ्यकर्मी रहेको उनको भनाई छ। ‘सरकारको छात्रवृत्तिमा ५०–६० लाख खर्च गरेर पढेको डाक्टरले नेपालमा बसेर सेवा गर्दैनन्, विदेश जान आतुर हुन्छन्, नेपालमै बसेपनि सहर केन्द्रित हुन्छन्।’ उनले आक्रोश पोख्दै भने, ‘त्यत्रो खर्च गरेर पढाएपछि जस्तोसुकै ठाउँमा पनि गएर सेवा गर्न तयार हुनुपर्छ । विदेश जान सरकारले रोक्नुपर्छ।’

‘भौतिक पूर्वाधार र निर्माण मात्र विकास होइन, जबसम्म स्वास्थ्य र शिक्षाको विकास हुँदैन तबसम्म अरु विकासले अर्थ राख्दैन।’ उनले भने। स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील विषय रहेको भन्दै उनले सरकारी अस्पतालमा ७२ थरीका औषधि निःशुल्क पाउने भनिएपनि सिटामोल पनि सित्तैमा नपाउने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए।

डा. गोविन्द केसीले उठाएको ‘मेडिकल कलेजहरु काठमाडौंबाहिर मात्र खोल्नुपर्छ’ भन्ने विषय सराह्नीय रहेको भन्दै उनले काठमाडौंमा स्थापना हुनै नहुने भन्ने कुरा प्रत्युत्पादक भन्दै असन्तुष्टी जनाए। प्रदेश राजधानी हेटौंडामै एक हजार शैयाको अस्पताल जरुरी भएपनि करिब डेढसय शैया पनि नहुनुले स्वास्थ्य क्षेत्रको दयनीय अवस्था प्रस्ट पारेको उनको भनाई छ।

स्वास्थ्यकर्मीको ट्रेड यूनियन हकअधिकारमा मात्र सिमित रहेको भन्दै उनले कर्तव्य पालना गराउन जिम्मेवार हुनुपर्ने तर्क गरे। स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्छ भन्नेहरु धेरै भएपनि कार्यान्वयन गर्नेहरु कम भएको उनले बताए।

स्वास्थ्य बिमाको रकम सिधै पाउने भनिएपनि व्यवस्थित नभएको भन्दै उनले नीति नियमकै समस्या रहेपनि भएको नीति नियम पनि कार्यान्वयन नहुँदा झनै समस्या बढेको बताए। राम्रो स्वास्थ्य शिक्षा अध्ययनका लागि अर्बौ रकम विदेशी रहेपनि देशमै उच्चस्तरीय मेडिकल कलेज खोल्न नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले चुनौतीको सामना गरि अघि बढ्ने दायित्व सवैको भएको बताए।

‘हामी संक्रमणकालमा छौं, केही समय लाग्छ’ उनले प्रदेश सरकारको रणनीति बारे भने, ‘जब प्रदेशका ऐन कानूनहरु बन्छ, त्यसपछि सबै क्षेत्रमा समानुपातिक ढंगले स्वास्थ्य सेवा दिन हामी तयार छौं।’

तत्कालिन मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको प्रदेश राजधानीको हेटौंडा अस्पतालमा क्षेत्रीय अस्पताल भनेर बोर्ड टाँगिएको १२ वर्ष बितेको मुख्यमन्त्री पौडेलले स्मरण गरे। राजधानी काठमाडौंनजिक र राजमार्गहरुको संगम भएरपनि मकवानपुर स्वास्थ्य क्षेत्रमा एकदम पिछडिएको क्षेत्र रहेको भन्दै उनले हेटौंडा अस्पताललाई तीन सय शैय्याको बनाउने केन्द्रिय सरकारको निर्णयलाई प्रदेश सरकारले कार्यान्वयन गरेरै छाड्ने बताए।

प्रकाशित: १५ फाल्गुन २०७४ १५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App