७ वैशाख २०८१ शुक्रबार
अन्य

पुनर्जन्मको कथा ‘द फर्गेटिङ टाइम’

काठमाडौँ- ‘म घर जान चाहन्छु,’ नोआले सधैं उनकी आमा जेनीलाई करकर गर्छ। जेनी चाहिँ छोरोलाई ‘तिम्रो घरै यही हो’ भनेर फुल्याउन चाहन्छिन्। आफैंले जन्माएको साढे चार वर्षे बालकको यो करकरलाई उनले त्यति गम्भीर भएर सोचेकी थिइनन्। तर एक दिन जेरोमी एन्डरसनले नोआको मानसिक अवस्था अध्ययन गरिसकेपछि निष्कर्ष सुनाउँछन्, ‘नोआलाई पूर्व जुनीका कुराहरु एकएक थाहा छ। त्यसैले ऊ पूर्व जन्मका आमाबाउ र ठाउँ जान चाहिरहेको छ। यसपछि त मानौँ जेनीको धर्ती नै फाट्छ। एउटी परित्यक्ताले दुःख गरेर हुर्काइरहेको नोआले त्यसपछिका दिनमा फटाफट आफ्नो पूर्व जन्मको देश, बाउआमा र आफूमाथि आइपरेको आपतका बारेमा बताउन थालेपछि उनीहरु अमेरिका छाडेर लाग्छन् मध्यपूर्वको देश, जहाँ नोआका पूर्वजन्मका सबै सबुत ज्यूँका त्यूँ छन्।

काठमाडौँको सांग्रिला होटलमा बुधबार पुनर्जन्ममाथि लेखिएको अंग्रेजी उपन्यास ‘द फर्गेटिङ टाइम’की लेखिका स्यारोन ग्यास्किन नेपाल आएका बेला आफ्नो पहिलो उपन्यासमाथि अन्तर्त्रि्कया गरिन्।

मनोविश्लेषक इयान स्टेभेन्सनले गरेको शोध र त्यसको निष्कर्षबारेको पुस्तक ‘ओल्ड सोल’ पढिसकेपछि स्यारोनलाई लाग्यो, ‘ओहो! हामी मर्नुअघि हाम्रो आत्मा कहाँ थियो? हामी मरिसकेपछि यो आत्मा कहाँ जान्छ होला?’ यसपछि उनले कैयौँ अन्य शोध गरिन्। गर्दागर्दै लाग्यो, ‘मेरा छोराहरुले अचानक मलाई छाडेर अन्य कुनै महिलालाई आमा भनेर उसकै पछि लागे भने मेरो मन–मुटु कति दुख्दो हो?’ यसरी तयार भयो, ‘द फर्गेटिङ टाइम’।

१६ मुलुकमा प्रकाशन भइसकेको आफ्नो पहिलो उपन्यासका बारेमा बोल्दै गर्दा उनले भनिन्, ‘मलाई सुरुमा पुनर्जन्ममा विश्वास थिएन तर जसै मैले कैयौँ शोध गर्दैै गएँ, कथामा डुबुल्की मार्दै जाँदा मलाई लाग्न थाल्यो– हाम्रो जिन्दगी एउटै जुनीमा सकिँदैन। कैयौँ जिन्दगी अझै पनि जिउन बाँकी नै हुन्छ।’

सानैमा लेखक बन्ने चाहना राखेकी उनले समय क्रममा आफ्नो लेखनीमा विश्वास गर्न छाडिसकेकी थिइन्। बरु उनले डकुमेन्ट्री निर्माण गर्न विश्वका कैयौँ मुलुक घुमिन्। यसैबीच उनले अन्य दुई किताब पनि लेखिन्। प्रकाशककहाँ पुगेपछि उनलाई बल्ल महसुस भयो, ‘मैले लेखेका उपन्यास त रहरेको खेल पो रहेछ! अक्षर मात्र थुपारेर उपन्यास नबन्दो रहेछ! मन छुने उपन्यासको बान्की, शैली र शिल्प बेग्लै हुँदोरहेछ।’

६ वर्षअघि पहिलो पटक विषय दिमागमा फुरेपछि तीन पटकको पुनर्लेखनमा बल्ल पुस्तक छापिएको अनुभव नागरिकसँग उनले बाँडिन्। उनको सम्पादकले पटक पटक गरेर ७० पेजसम्म काट्दा आफूलाइृ चित्त दुखे पनि उपन्यासको भलाइका लागि सम्पादकको सुझाव मानेको बताइन्। लेखनीका ६ वर्ष र सम्पादनका थप दुई वर्षपछि निस्केको पुस्तकलाई रुचाइएकामा उनले खुसी व्यक्त गरिन्। यो उनको पहिलो प्रकाशित उपन्यास हो।

नेपालमा अहिले नै पुस्तक प्राप्य गराउने प्रयास भइरहेको उनले बताइन्।

प्रकाशित: २ भाद्र २०७३ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App