coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चमेलिया क्षेत्रमा ३ महिनाभित्र बिद्युतीकरण हुने

शैल्यशिखर नगरपालिका १ बलांचमा रहेको चमेलियाको विद्युत उत्पादन गृह। तस्बिर : नागरिक

दार्चुला – सात नम्बर प्रदेशको सबैभन्दा ठूलो जलविद्युत आयोजना चमेलिया वरपरको प्रभावित क्षेत्रमा तीन महिनाभित्र विद्युतिकरण गरिने भएको छ। माघ २७ गते चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गरि राष्ट्रिय प्रशारण लाइनमा जडान भएपनि आयोजनास्थल वरपरको क्षेत्रमा  विद्युतिकरण नभएको व्यापक गुनासो तथा   विद्युत सेवा विस्तारको माग गरिएको थियो।
ढिलै भएपनि  निर्माण सम्पन्न भई  चमेलियाले देशलाई विद्युत दिए पनि स्थानीयवासीलाई उज्यालो दिन नसकेको गुनासोलाई नेपाल विद्युत प्राधिकरणले तत्काल सम्बोधन गर्न लागेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चमेलिया वरपरको क्षेत्रमा तत्काल विद्युत सेवा विस्तार गर्न चासो देखाएका छन्। चमेलियाको उदघाटन लगत्तै कार्यकारी निर्देशक घिसिङले विद्युत विस्तारका लागि बजेट व्यवस्थापन गराएका हुन्। तत्काल विद्युत विस्तारको कार्य गर्न ९८ लाख रुपैयाँ बजेट प्राप्त भएको विद्युत प्राधिकरणको दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए।

बजेट प्राप्त भएको छ, फागुन महिनाभित्रै टेण्डर प्रक्रियामा जाँदैछौ’ दार्चुला वितरण केन्द्र प्रमुख शाहले भने,यो बजेटबाट शैल्यशिखर नगरपालिका र बैतडीको डिलाशैनी गाँउपालिकाको क्षेत्रमा विद्युत बिस्तार गरिने छ। फागुनभित्रै टेण्डर निकालिने र सम्झौता भएको तीन महिनाभित्र विद्युत विस्तारको कार्य सम्पन्न गरिने लक्ष्य रहेको  छ। चमेलिया वरिपरीको सबै क्षेत्रमा विद्युत बिस्तारका लागि थप बजेट चाहिने वितरण केन्द्र प्रमुख शाहको भनाई छ।

प्राधिकरण केन्द्रबाट बजेट आएलगत्तै आफुले फिल्ड भ्रमण गरेको र लागत इष्टिमेट तयार भइरहेको छ शाहले बताए। प्राधिकरणबाट प्राप्त बजेटले ४ सय ५० विद्युत पोल गाडिनेछन् भने ११ केभीएका १० किलोमिटर प्रशारण लाइन बिस्तार गरिनेछ। २० किलोमिटर शाखा लाइन बिछ्याइनुका साथै ८ वटा ट्रान्सफर्मर राखिनेछन्। २५ र ५० केभिए क्षमताका ट्रान्सफर्मर राखिने वितरण केन्द्र प्रमुख शाहले जानकारी दिए। टेण्डर प्रक्रियाको तयारी भइरहे पनि दार्चुला वितरण केन्द्रले चमेलिया क्षेत्रमा १ सय विद्युत पोल पठाइको छ। तत्काल ९८ लाख बजेट रहे पनि २ करोड बजेटको टेण्डर खोलिने केन्द्र प्रमुख दयाराम शाहले बताए।

चमेलियाको उद्घाटनमा तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवा र उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापाले स्थानीयवासीलाई तत्काल विद्युत सेवा उपलब्ध गराइने बताएका थिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चमेलिया आयोजनास्थल वरपरको माग र आवश्यकतालाई प्राथमिकताका साथ  बजेट व्यवस्थापन गरी सम्बोधन गरेका छन्। चमेलिया जलविद्युत आयोजनास्थल बलाँच लगायत नदी किनारका क्षेत्रमा विद्युत सेवा पुग्न सकेको थिएन। चमेलिया र नौगाड खोलाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमार्फत केन्द्रीय ग्रिडमा भने जोडिएको छ।

जिल्लाकै गौरबको आयोजनाको रुपमा रहेको चमेलीया जलविद्युत्त आयोजना निर्माण सम्पन्न भएपनि दार्चुला बासीले भने चमेलीयाको विद्युत्त उपभोग गर्न नपाएको जन गुनासो उद्घाटनका क्रममा व्यापक रुपमा उठान गरिएकोले  चमेलियाको विजुली स्थानीय प्रभावित क्षेत्रमा बल्ने भएको हो। चमेलियाको विद्युतमा पहिलो हक यहाँका स्थानीयको भएपनि  आवश्यक पुर्वाधार तयार गरी चाडै प्रशारण लाईन जडान गरिने बताए।   महाकाली नगरपालिकाको वडा नम्बर ७ थालीगाडमा निर्माणाधिन विद्युत्त सब स्टेसन निर्माण सम्पन्न भएपछि मात्रै  अन्य क्षेत्रका जिल्लाबासीले चमेलीयाको विद्युत्त उपभोग गर्न पाउने छन्। 

नेपाल विद्युत्त प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरियासँगको ठेक्का सम्झौता अनुसार गोकुलेश्वर देखि महाकाली नगरपालिका ७ थालिगाड सम्मको २२ किलोमिटर ३३ केभिको विद्युत्त प्रशारण लाइन निर्माणको काम अहिले चलिरहेको छ।  नेपाल विद्युत् प्राधिकरण क्षेत्रिय कार्यालय अत्तरियाका अनुसार प्रशारण लाईन तान्ने काम करिब ९० प्रतिशत र सवस्टेशन निर्माणको काम झण्डै ४० प्रतिशत सम्पन्न भएको छ। सबस्टेसन निर्माण र बलाँच देखि थालिगाड सम्मको विद्युत्त प्रशारण लाइन निर्माण २०७५ असार सम्म सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता रहेको नेपाल विद्युत्त प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ।

 

 

 

प्रकाशित: १६ फाल्गुन २०७४ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App