coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

किसानको चिन्ता : मकैमा दाना लागेन, उखुको पैसा पाइएन

रौतहट- रौतहटको उत्तरी क्षेत्रका किसान मकैको घोघामा दाना नलागेर चिन्तित देखिएका छन् भने दक्षिणी रौतहटका किसानको उखु खेती राम्ररी सप्रेर बाली बेच्दासमेत रकम हात नपरेपछि चिन्तित देखिएका छन्।

जिल्लाका उखु तथा मकै खेती गर्ने व्यासायिक किसानलाई एकैसाथ चिन्ताले सताएको छ। अन्य व्यवसायको तुलनामा खेती गर्ने किसान सधैँ चिन्तामा रहने गरेको पछिल्लो उदारहणको रुपमा रौतहटका उखु तथा मकै खेती गर्ने किसानलाई लिन सकिन्छ।

रौतहटको चन्द्रपुर नगरपालिका ३ गैँडाटारमा स्थानीय किसानले करिब तीन सय बिगाहा खेतमा लगाएको उन्नत जात भनिएको हाइब्रिड मकैमा घोघा लागे पनि घोघाभित्र दाना नभएपछि चिन्तामा परेका छन्। किसानहरुले स्थानीय मंगलेश्वर, मैनाली तथा राउत एग्रोभेट पसलबाट बढी उब्जनी हुने र छिटो पाक्ने असल जातको हाइब्रिड मकैको बीउ खरिद गरी खेती गरेको किसानहरुको भनाइ छ । भनेजस्तै मकैको बोट सप्रेको भए पनि घोघाभित्र दाना नलागेपछि स्थानीय किसान मकैको बोट काटेर गाईवस्तूलाई खुवाउन थालेका छन् । स्थानीय किसान नन्दमाया दाहालले खेती बर्बाद भएको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

किसानको खेती बर्बाद भएपछि संघर्ष समिति गठन गरेर मकै खेतीको क्षतिपूर्ति दाबी गर्न थालेका छन् । किसानले जिल्ला कृषि विकास कार्यालय र स्थानीय सरकार लगायतलाई जानकारी गराइसकेको तर कतैबाट अनुगमन नआएकोमा आक्रोश व्यक्त गर्दै आन्दोलनको विकल्प नरहेको बताउन थालेका छन्।

जिल्लाको मुख्य नगदेबालीको रुपमा रहेको उखु खेतीका किसान भने उखु किन्ने चिनी उद्योगहरुले समयमा भुक्तानी नदिँदा निकै चिन्तामा परेका छन् । होलीजस्तो चाडको अवसरमा पनि किसानले उखुको मुल्य भुक्तानी नपाउँदा चिन्तामा परेको किसानहरुको भनाइ छ।

एक महिना भन्दा पहिले नै चिनी उद्योगलाई उखु उपलब्ध गराइसकेको तर होली जस्तो चाडको समयमा उद्योगले रकम उपलब्ध नगराउँदा होली मनाउन गाह्रो भएको धमौराका किसान पलट चौधरीको भनाइ छ । होलीजस्तो चाडको समयमा पनि उद्योगले समयमा रकम उपलब्ध नगराउदा किसानले ऋण काढेर ब्याज तिर्दै संस्कृति मनाउनुको पीडाले आहत भएको चौधरीको भनाइ छ।

उखु बाली राम्ररी सप्रेको वर्ष चिनी उद्योगहरुले किसानलाई सताउने चलन नै बसेको जस्तो देखिएको किसानहरुको आरोप रहेको छ । यसपालि जिल्लामा उखुबाली राम्रो सप्रेको तर उखुको भुक्तानी समयमा उद्योगहरुले नदिँदा चिन्ता लाग्नु स्वाभाविक भएको उखु उत्पादक संघ रौतहटका कोषाध्यक्ष मनोजकुमार सहनीले बताएका छन्।

मकै बाली बिग्रेर र उखु खेती सप्रेर गरी दुई विपरीत समस्याबाट रौतहटका किसान चिन्तित देखिएको अनौठो संयोगले किसानको फरक समस्यालाई देखाएको गरुडाका अगुवा किसान राम कृष्ण चौधरीको भनाइ छ।

प्रकाशित: १६ फाल्गुन २०७४ १२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App