coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ढुंगा-गिट्टी निकासी रोकियो

धनकुटा- जिल्लाका खोलाहरूबाट ढुंगा–गिट्टी, बालुवा उत्खनन र बिक्री–वितरण रोकिएको छ। सरकारको निर्णयअनुसार हरेक असारदेखि भदौ मसान्तसम्म खोलाबाट ढुंगा-गिट्टी र बालुवा निकाल्न रोकिएको स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए। 
चुरे विनाशको कारण गिट्टी–ढुंगा, बालुवा निकासी नै भएको ठहर गर्दे गतवर्ष सरकारले उत्खनन रोकेको थियो। त्यही निर्णय कार्यान्वयन गरेको दाहालले बताए। सरकारी निर्णयअनुसार ढुंगा–गिट्टी र बालुवा निकासी भइरहेको धनकुटाको लेउती, छरुवा, माङमाया र फङसुवा खोलाबाट असार १ देखि नै उत्खनन र बिक्री बन्द भएको छ। यीबाहेक अन्य खोलाबाटसमेत निकासी गर्न नदिन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति क्रियाशील छ। 
खोलाबाट ढुंगा–गिट्टी र बालुवा निकासी रोकिएपनि संकलन केन्द्रबाट भने बिक्री–वितरण भइरहेको छ। खोलाबाहिर संकलन गरिएको ४ हजार घनमिटर ढुंगा–गिट्टी र बालुवा बिक्रीमा रहेको संकलक भूपाल लिम्बूले बताए। संकलन केन्द्रमा रहेको ढुंगा–गिट्टी र बालुवाका कारण १ महिनाजति निर्माण कार्य भएपनि त्यसपछि प्रभावित हुने देखिएको छ। 
जिल्ला विकास समिति कार्यालयको संयोजनमा धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईसहित सुरक्षा निकायका प्रमुख, निर्माण व्यवसायी र प्राविधिकहरूको टोलीले खोलाहरूबाट संकलन गरेको बालुवा र गिट्टी निरीक्षण गरी प्रमाणित गरेको छ। प्रमाणित गरेको बालुवा, गिट्टीमात्रै निकासी गर्न मिल्ने स्थानीय विकास अधिकारी दाहालले बताए। 
खोलाबाट गिट्टी र बालुवा निकासी रोकिएपछि विकास निर्माणको काम प्रभावित हुने धनकुटाका निर्माण व्यवसायीले गुनासो गरेका छन्। साउन र भदौमा निर्माण हुने निजी र सरकारी घर, सडक  र सिँचाइ योजना निर्माण कार्य पनि रोक्नुपर्ने अवस्था आउने निर्माण व्यवसायी संघ अध्यक्ष भवानीशंकर चाम्लिङले बताए। चुरेको विनाशसँग धनकुटाका खोलाको …सम्बन्ध नभएकाले' खुला गर्नुपर्ने मागसमेत निर्माण व्यवसायीले गरेका छ। 
जिविस र गिट्टी–ढुंगा, बालुवा व्यवस्थापन तथा अनुगमन समितिले समेत बालुवा र गिट्टी ननिकाल्दा कोसी राजमार्ग पुरिने, खोला किनारका बस्ती जोखिममा पर्ने र कुनै प्रकृतिको जोखिम नहुने भएकाले उत्खनन र बिक्री–वितरण गर्न  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा  अनुमति मागेको छ। 

बेरोजगार हुँदै मजदुर
गिट्टी–ढुंगा र बालुवा निकासी बन्द गरिएपछि जिल्लाका खोलामा काम गर्ने ४ सय मजदुर बेरोजगार हुने भएका छन्। खोलामा गएर संकलन गरेको ढुंगा–गिट्टी र बालुवा बिक्री गरेर गुजारा गरिरहेका मजदुरलाई अहिले गुजारा चलाउनसमेत मुस्किल पर्न थालेको छ। लेउती खोलामा काम गर्ने मजदुर विजय लिम्बूले अब ३ महिना बेरोजगार हुनुपर्ने बताए। खोलाको ढुंगा–गिट्टी बालुवामै आश्रित भएका केही परिवार भने वैकल्पिक पेसाको खोजीमा समेत लागेका छन्। 
 भौतिक संरचना निर्माणमा काम गर्ने मजदुर पनि बेरोजगार हुने भएका छन्। निर्माणस्थलमा सञ्चित ढुंगा–गिट्टी बालुवा प्रयोग गरेर केही योजनामा काम भएपनि निजी घरहरू नबन्ने भएपछि मजदुर बेरोजगार हुनपर्ने अवस्था रहेको जिफन्ट धनकुटाका इन्चार्ज भेषराज कट्टेलले बताए। 
 

प्रकाशित: ७ असार २०७३ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App