७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिइओको योग्यतामा बिमा समिति लचिलो

काठमाडौं- बिमा समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को योग्यतालाई केही खुकुलो बनाएको छ। समितिले संस्थागत सुशासन सम्बन्धी पुरानो निर्देशन संशोधन गर्दै सिइओको योग्यता खुकुलो बनाएको हो।

बिमा क्षेत्रको व्यवस्थापन तहमा १० वर्ष काम गरेको व्यक्ति मात्र प्रमुख कार्यकारी अधिकृत हुन पाउने व्यवस्थालाई संशोधन गर्दै समितिले त्यसलाई ५ वर्षमा झारेको छ। समितिले बुधबार निर्देशन जारी गर्दै चार्टर्ड एकाउन्टेन्टलाई पनि प्रमुख कार्यकारी अधिकृत हुन मान्यता दिएको छ। यसअघि स्नातकोत्तर गरेर १० वर्ष बिमा क्षेत्रमा अनुभव भएको व्यक्ति मात्र प्रमुख कार्यकारी हुन पाउने व्यवस्था थियो।

समितिको कडा सर्तका कारण बिमा कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत पाइरहेका थिएनन्। चार्टर्ड एकाउन्टेन्सी मात्र गरेको व्यक्ति पनि प्रमुख कार्यकारी अधिकृत हुन पाउँदैनथ्यो। बिमा कम्पनीहरुको प्रमुख कार्यकारी हुन ६५ वर्ष नपुगेको हुनुपर्छ।

समितिले बिमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्य शास्त्र, कानुन, गणित, तथ्यांक शास्त्र वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरी बिमा क्षेत्रको व्यवस्थापन तहमा ५ वर्ष काम गरेको व्यक्ति प्रमुख कार्यकारी हुन पाउने छ। बैंक तथा वित्तीय क्षेत्रमा भए ८ वर्षको अनुभव चाहिन्छ। बिमा क्षेत्रमा एक वर्षको अनुभव भएर बैंकिङमा काम गरेको भए ७ वर्षको अनुभवीलाइ पनि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न पाइने व्यवस्था गरेको छ।

डिपार्टमेन्ट हेडका लागि पनि समितिले योग्यता तोकेको छ। अनिवार्य रुपमा बिमा पढेको व्यक्तिलाई मात्र यो जिम्मेवारी दिन पाइने व्यवस्था गरिएको छ।

बिमा कम्पनीहरुले खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्नु पर्ने व्यवस्थासमेत गरिएको छ। स्नातक नभएका व्यक्तिहरु अधिकृत तहमा लैजान नपाइने व्यवस्था गरिएको छ। उनीहरुको बढुवा पनि गर्न नपाइने निर्देशनमा उल्लेख छ।

बिमा कम्पनीहरुको सञ्चालक हुनसमेत शैक्षिक योग्यता तोकिएको छ। अब स्नातक उत्तीर्ण व्यक्ति मात्र सञ्चालक हुन पाउने छ। समितिले सञ्चालकले पाउने भत्ताबारे पनि मापदण्ड बनाएको छ। कम्पनीको कार्य सञ्चलान, कारोबार, व्यवसायिक योजना, नेटवर्थ, दाबी भुक्तानीको अवस्था, मुनाफाको स्थिति, व्यवस्थापन खर्च, मूल्यवृद्धि दरलाई आधार मानेर मात्र भत्ता तोक्न पाइने छ।

प्रकाशित: २ भाद्र २०७३ ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App