१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश ३ को मन्त्रीपरिषद बैठकः कानुन मस्यौदा समिति गठन

मकवानपुर – प्रदेश नम्बर ३ को मन्त्रिपरिषद्को दोश्रो बैठकले कानुन मस्यौदा समिति गठन गरेको छ। बुधबार साँझ बसेको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा समिति गठन गरेको हो । मन्त्रालयका सचिवस्तरका कर्मचारी र महान्याधिवक्ता सदस्य रहने समितिले प्रदेश सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्नेछन्।

मन्त्रीपरिषद् बैठकले राजपत्रको ढाँचा, कानुन तर्जुमा गर्ने ढाँचा र केही सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को ढाँचा स्वीकृत गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठक ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएपछि पहिलोपटक बसेको हो।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार नै मन्त्रिपरिषद् विस्तार गरी ७ सदस्यीय बनाएका हुन् । नेकपा एमालेका तर्फबाट ३ र माओवादी केन्द्रका तर्फबाट १ जना प्रदेशसभा सभासदले बुधबार साँझ मन्त्री पदको सपथ लिएका हुन्।

एमालेका तर्फबाट रामेछापका कैलाश प्रसाद ढुङ्गेल आर्थिक मामिला तथा योजना मन्त्री, सिन्धुपाल्चोकका अरुण प्रसाद नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र चितवनका दावा दोर्जे लामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएका छन्। ढुङ्गेल र लामा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता हुन् भने नेपाल वरिष्ठ नेता माधव नेपाल समूहका मानिन्छन्।

त्यस्तै, माओवादीका तर्फबाट युवराज दुलाल सामाजिक विकास मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले पद तथा गोपनियताको शपथ खुवाइन् । कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश मन्त्रीहरू, प्रतिनिधी सभाका सांसदहरू, प्रदेश सभा सभासदहरू लगायतको उपस्थिति रहेको थियो।

माघ २९ गते सपथ लिएका मुख्यमन्त्री पौडेलले सोही दिन ३ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए । एमालेका केशव स्थापितलाई भौतिक पूर्वाधार विकास र माओवादी केन्द्रका शालिकराम जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

नेपालको ७ प्रदेशमध्ये प्रदेश नम्बर ३ ले सबैभन्दा पहिला मुख्यमन्त्रीसहित ३ मन्त्री पाएपनि मन्त्रीपरिषदले पूर्णतामा भने आन्तरिक तयारीका कारण ढिलाई भएको थियो । 

१ सय १० जना प्रदेश सभासद रहेको प्रदेश नम्बर ३ मा १० प्रतिशत मन्त्री बनाउँदा ११ जना मन्त्री बन्न सक्छन्। तर सत्तारुढ नेकपा एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले ७ सदस्यीय मात्र मन्त्री परिषद् बनाउने बताएका छन्।

प्रदेश सभामा एमालेको ५८, माओवादी केन्द्रको २३, नेपाली काँग्रेसको २१, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीको २, नयाँ शक्ति पार्टी नेपाल, राप्रपा, र राप्रपा(प्रजातान्त्रिक)का १–१ जना प्रदेश सभासद रहेका छन्।

प्रकाशित: १७ फाल्गुन २०७४ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App