८ वैशाख २०८१ शनिबार
विचार

हिँजोका जून, आजका जूनकीरी

गणतन्त्र नेपालका प्रथम प्रधान मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दोस्रो पटक प्रधान मन्त्री बनेका छन्। अघिल्लो कार्यकाल ९ महिनाको भएको थियो र यो पनि ९ महिनाकै हुनेछ। अघिल्लो कार्यकाल एमालेसँगको गठजोडमा भएको थियो तर एमालेले समर्थन फिर्ता लिएकाले र कटुवाल प्रकरणका कारण पदबाट राजीनामा दिएका थिए। दोस्रो यस पटक पालाको पैँचो भनेजस्तै भएको छ। एमालेलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँगको गठजोडमा ९ महिनापछि कांग्रेसलाई पद सुम्पने सर्तमा प्रधान मन्त्री बनेका छन् प्रचण्ड। एमालेसँग केही सैद्धान्तिक वैचारिक सामीप्य थियो र एकताको चर्चा पनि चलेको थियो तर कांग्रेससँगको यो समीकरण सैद्धान्तिक नभएर सत्ता र कुर्सीको मोहबाहेक केही देखिन्न। मधेसवादी दललाई मनाउन उनका मागबारे सकारात्मक कदम चालिएको भए पनि संविधान संशोधन एमालेबिना हुन नसक्ने र त्यसमा उसको समर्थन किमार्थ नहुने कुरा सार्वजनिक भइसकेको छ। तत्काल परिस्थिति सहज देखिए पनि प्रचण्डका भावी चुनौती फलामका चिउरा चबाउनेखालका छन्। गृहलगायत १३ महत्वपूर्ण मन्त्रालय कांग्रेसलाई दिएर अनि आफूचाहिँ ९ मन्त्रालय लिएर सरकारको नेतृत्व गर्नु ९ महिनाका लागि पनि त्यति सहज देखिँदैन।

जनमुक्ति सेनाका सर्वोच्च कमान्डर भई १० वर्ष महान् बलिदानी जनयुद्ध हाँकेका पार्टीका अध्यक्ष प्रचण्डको अहिले दाहिने हात भाँचिएको छ। डा.बाबुराम भट्टराई अलग भएका छन्। उनका दार्शनिक गुरु मोहन वैद्य ‘किरण’ अलग भएका छन् र अर्का तेजस्वी प्रभावशाली युवा नेता विप्लव पनि अलग भएका छन्। नेकपा माओवादी र एमाओवादीका अध्यक्ष प्रचण्ड पहिले सूर्यजस्तै धप्प बलेका नेता थिए। नेपालकै नेता थिए। मानौँ विश्व कम्युनिस्ट आन्दोलनकै आशालाग्दा नेता थिए। अहिले नेपालका नभएर एउटा राजनीतिक दल र त्यसभन्दा पनि तल झरेर एउटा गुटको कथित माओवादी केन्द्रका नेता बनेका छन्। यस्तो लाग्छ, हिँजो पूर्णिमाका जून थिए, आज उनी जूनकीरी बनेका छन्।

वास्तवमा सगरमाथा हिमालको सर्वोच्च शिखर चढ्न जति कठिन हुन्छ, त्योभन्दा झन् कठिन त्यहाँ टिक्न हुन्छ। प्रचण्ड कृषि तथा पशु विज्ञानका स्नातक भएर स्कुलका शिक्षक भएको बेलामा उनको मनमा के थियो कुन्नि? पुष्पलालसँगको सुरुको संगतले उनलाई क्रान्तिकारी कम्युनिस्ट बनायो। ओयाङ हाइको गीत उनले तीनचोटि पढे। बोइ गीति काव्य दुईचोटि पढे। माओका संकलित रचना पढे। छापामार युद्ध कलाको विषयमा अध्ययन गरे। पढ्दै र काम गर्दै जाँदा क्रमभंग र छलाङ मार्दै सशस्त्र जनयुद्धको सर्वोच्च कमान्डर बन्न पुगे। डा.बाबुराम, किरण, विप्लव र बादल जस्ता हस्तीहरुको साथ र सहयोगमा दश वर्षसम्म सशस्त्र महाविद्रोह गरेर राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना जस्तो युगान्तकारी परिवर्तनमा अहं भूमिका खेल्न सफल भए।

शान्ति प्रक्रियामा आएपछि क्रमशः उनमा वैचारिक र नैतिक विचलन सुरु भयो। सांसद र सरकारमा सत्तारुढ भएपछि प्रचण्डको सक्कली अनुहार देखिन थाल्यो। त्यसबाट वाक्क र दिक्क भएका किरण, विप्लव र बाबुराम आदिले उनलाई छाडे। अहिले उनी ढाबको किलोझैँ कहिले यता, कहिले उता ढल्कँदै आफ्नोे गरिमामय इज्जत/प्रतिष्ठा गुमाउँदै गइरहेका छन्।

आखिर किन छाडे आफ्ना दायाँ र बायाँ हस्तीहरुले? यसको उत्तर खोज्न स्तालिनको शासनकालतिर फर्कनुपर्छ। स्तालिनको शासनकालमा निषेधको निषेध भन्ने वाक्य थपियो। त्यसलाई माओले विरोध गर्नुभयो र भन्नुभयो– निषेधको निषेध हैन, विपरीत तत्वको एकता हो, एकता संघर्ष र रूपान्तरण हो। तर स्तालिनको शासनकालमा त्यसलाई तन्काएर पार्टीको आन्तरिक जीवनमा निर्ममतापूर्वक लागु गरियो र अलिकति मतभेद राख्नेबित्तिकै सफाया गर्ने काम भयो, जसका शिकार कैयौँ इमानदार नेता/कार्यकर्ता बने। विचारको त्यस बन्ध्याकरणले लगभग सय वर्ष कम्युनिस्ट आन्दोलनकै बन्ध्याकरण भयो। पुँजीवादका अगाडि समाजवाद प्रतिस्पर्धामा पछाडि पर्‍यो। ७४ वर्षको सोभियत समाजवादी सत्ता ढलेर पुँजीवादको पुनःस्थापना भयो। विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्यो।

त्यो रोग विश्वका अन्य देशका कम्युनिस्टको दिमागमा पनि संक्रामक बनेर सर्‍यो र नेपालमा पनि त्यसको प्रभाव पर्‍यो। जनवादी केन्द्रीयता भन्ने तर व्यवहारमा मनोगतवाद, एकमनावाद र नोकरशाही केन्द्रीयतावाद लाद्ने र जनवादको नाममा अराजकतावाद व्याप्त हुँदै जाने कुराले कम्युनिस्ट पार्टी र तिनका नेता बिनाश्रीपेचका राजा बन्ने काम भयो। जसको परिणाम माओवादीको २१–२२ वर्षसम्म महाधिवेशन भएन। अध्यक्षले जसलाई मनोनीत गरे, उही सचिवालय सदस्य, स्थायी कमिटी, पोलिट ब्युरो र केन्द्रीय कमिटी, सांसद मन्त्री सबै सबैमा उनकै मनोमानी प्रथा व्याप्त भयो। पार्टी आन्तरिक अन्तरविरोधमा फस्यो। जनतासँग एकाकार हुने कुरा समाप्त भयो। यसको विरोध गर्ने र पार्टीलाई ठीक बाटोमा जनवादी केन्द्रीयताका आधारमा लैजान खोज्नेहरु नेताका आँखाका घुर बने। यी कतिपय कारण र मुख्यतः वैचारिक र वर्गीय विचलनका कारण मरेको बाँदरलाई जुम्राले छाडेझैँ छाड्न थाले। त्यसैको परिणाम हो– किरण, बाबुराम र विप्लवको बहिर्गमन।

प्रचण्ड प्रत्युत्पन्न मति भएका जण्ड नेता हुन् तर कतिपय उनका प्रचण्ड कामले गर्दा अहिले उनी मन्द मति सावित भएका छन्। किरण, बाबुराम आदिलाई बहिर्गमनबाट रोक्न नसक्नु उनको ठूलो कमजोरी हो। बाबुरामको विचारलाई लिएर कारबाहीको तहसम्म पुग्ने र कालान्तरमा उनकै विचार बोकेर उनकै काँध चढेर नेता बन्ने उनको विगत प्रायः सर्वविदितै छ। एउटा युग अन्त भएर अर्को युगको सुरुवात अर्थात् तेस्रो चरणमा देश प्रवेश गरेको सन्दर्भमा नयाँ विचार, नयाँ सांगठनिक ढाँचा, नयाँ शैली र संस्कृतिअनुसार पार्टीलाई नयाँ ढंगले लैजाने बाबुरामको प्रस्ताव अस्वीकार भएपछि उनी बाहिरिएका हुन्। बाबुरामको बहिर्गमनले उनलाई बारम्बार तर्साइरहेको छ।

जे होस्, नेपालको राजनीतिमा प्रचण्डको नाम उल्लेखनीय छ। तर हिँजोको प्रचण्ड र आजका प्रचण्डको तुलना गर्दा धर्ती आसमानको अन्तर छ। उनका लागि प्रधान मन्त्री पद केही होइन तर उनले त्यसैलाई ठूलो ठाने। बुर्जुवा नेता गणेशमान प्रधान मन्त्री भएनन्। गान्धी प्रधान मन्त्री वा राष्ट्रपति भएनन्। गणेशमान लौह पुरुष लोकतन्त्रका सर्वोच्च कमान्डर भए। गान्धी राष्ट्रपिता भए। प्रचण्ड त्यो हुन सकेनन्। व्यक्तिको अग्निपरीक्षा व्यवहारबाट हुन्छ। त्यही भएको छ उनका सवालमा पनि।

पहिले जननिर्वाचित राष्ट्रपतिको एजेन्डा प्रस्तुत गरेका प्रचण्ड अहिले पुरानै शासकीय संसदीय स्वरूपअन्तर्गत वैचारिक समर्पणमा पुगेका छन्। वास्तवमा ६–६ महिना र ९–९ महिनामा सरकार परिवर्तन हुने शासकीय प्रणालीबाट मुलुक अािर्थक समृद्धिको दिशामा अगाडि बढ्न सक्दैन। जनताले दिएको राष्ट्रपतीय शासनको सुझावलाई पन्छाएर देश जसरी संसद्को गणितीय खेलमा सरकार गिराउने र बनाउने धन्दामा लागेको छ, यसले देशलाई विकास र निकास दिने छैन। त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि संविधानमा संशोधन, सो सम्भव नभए जनमत संग्रह नै गराउन परे पनि त्यसमा प्रचण्डले भूमिका खेल्नुपर्छ र मात्रै उनले गुमेको साख फर्काउन सक्नेछन्। सहिद, घाइते र बेपत्ताका आँसु पुछ्नेखालका राहत कार्यका साथै बाढीपहिरो र भूकम्पपीडितका समस्याको समुचित समाधान गर्ने अर्को चुनौती छ। र, व्याप्त भ्रष्टाचार र कुशासन अन्त्य गरी आर्थिक पारदर्शिता र सुशासन अर्को चुनौती छ। ९ महिनामा के गर्लान् प्रचण्डले? कम्तीमा ५ वर्ष टिक्न पाए केही गर्न सम्भव हुने थियो। त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था संविधानमा हुनु आवश्यक छ। यदि यसो भएन र यही गणितीय खेलको दुष्चक्रमा देश फस्दै जान्छ भने धैर्यको बाँध फुट्नेछ र जनता आन्दोलनमा उत्रनेछन्। गणतन्त्रको नाममा भएको यो मनपरीतन्त्र चल्नेवाला छैन।

प्रकाशित: २ भाद्र २०७३ ०५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App