coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मीलाई गाउँ पठाइँदै

मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सहर केन्द्रित स्वास्थ्यकर्मीलाई गाउँमा पठाउने बताएका छन् । नेपालमा संघीयता र गणतन्त्र आएको भन्दै उनले नयाँ व्यवस्थाअनुसार स्वास्थ्यकर्मीले पनि मान्यता, धारणा र सोच परिवर्तन गर्नुपर्ने बताए।

स्वास्थ्य सेवा दिवसका अवसरमा मंगलबार हेटौंडामा आयोजित अन्तरक्रियामा उनले स्वास्थ्यकर्मी सहर छाडी गाउँमा गएर सेवा दिन इच्छुक नभएको भन्दै कडा आलोचना पनि गरे । ‘पहुँचवाला स्वास्थ्यकर्मी सहरबजारमा बस्ने, पहुँच नहुने स्वास्थ्यकर्मीलाई मात्र दुर्गममा खेद्ने अनि उनीहरु कत्ति समय टिक्छन् ?’
विश्व स्वास्थ्य संगठन (डव्लूएचओ) को रिपोर्टअनुसार नेपालमा ३० देखि ३५ प्रतिशतमा मात्र स्वास्थ्य सेवा पुगेको पाइएको भन्दै दुःख व्यक्त गरे।

‘नेपालमा ९ सय स्वास्थ्यकर्मी सहरी क्षेत्रमा बस्छन्’, उनले भने, ‘त्यसमा ६० प्रतिशत काठमाडौैं बस्छन्, अनि कसरी स्वास्थ्य सेवा प्रभावकारी हुन्छ ?’ प्रति १० हजार जनसंख्यालाई २३ जना स्वास्थ्यकर्मीले सेवा दिनुपर्ने विश्वव्यापी मान्यता भए पनि नेपालमा प्रति १० हजारका लागि ७ जना मात्र स्वास्थ्यकर्मी रहेको उनको भनाइ छ । ‘सरकारको छात्रवृत्तिमा ५०–६० लाख खर्च गरेर पढेको डाक्टरले नेपालमा बसेर सेवा गर्दैनन्, विदेश जान आतुर हुन्छन् । नेपालमै बसेपनि सहर केन्द्रित हुन्छन्।’

स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशील विषय रहेको भन्दै उनले सरकारी अस्पतालमा ७२ थरीका औषधि निःशुल्क पाउने भनिए पनि सिटामोल पनि सित्तंैमा नपाउने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए।
डा. गोविन्द केसीले उठाएको ‘मेडिकल कलेजहरु काठमाडौंबाहिर मात्र खोल्नुपर्छ’ भन्ने विषय सराहनीय रहेको भन्दै उनले काठमाडौंमा स्थापना हुनै नहुने भन्ने कुरा प्रत्युत्पादक भन्दै असन्तुष्टि जनाए ।

प्रदेश राजधानी हेटौंडामै एक हजार शड्ढयाको अस्पताल जरुरी भए पनि करिब डेढ सय शड्ढया पनि नहुनुले स्वास्थ्य क्षेत्रको दयनीय अवस्था प्रस्ट पारेको उनको भनाइ छ।स्वास्थ्यकर्मीको ट्रेड युनियन अधिकारमा मात्र सीमित रहेको भन्दै उनले कर्तव्यपालना गराउन जिम्मेवार हुनुपर्ने तर्क गरे । स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्छ भन्नेहरु धेरै भए पनि कार्यान्वयन गर्नेहरु कम भएको उनले बताए।

स्वास्थ्य बिमाको रकम सीधै पाउने भनिए पनि व्यवस्थित नभएको उनको भनाइ छ ।
तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको प्रदेश राजधानीको हेटौंडा अस्पतालमा क्षेत्रीय अस्पताल भनेर बोर्ड टाँगिएको १२ वर्ष बितेको मुख्यमन्त्री पौडेलले स्मरण गरे । राजधानी काठमाडौंनजिक र राजमार्गहरुको संगम भएर पनि मकवानपुर स्वास्थ्य क्षेत्रमा एकदम पिछडिएको क्षेत्र रहेको भन्दै उनले हेटौंडा अस्पताललाई तीन सय शड्ढयाको बनाउने केन्द्रीय सरकारको निर्णयलाई प्रदेश सरकारले कार्यान्वयन गरेरै छाड्ने बताए।

कार्यक्रममा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरीले हेटौंडामा मेडिकल कलेज र ट्रमा सेन्टर बनाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०७३-७४ मा उत्कृष्ट सेवा प्रदान गरेबापत जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरलाई प्रशंसापत्र वितरण गरेको थियो ।

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App