१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिचान खोज्दै पुथा र सिस्ने हिमाल

रुकुम- रुकुम विभाजन पछि रुकुम (पूर्व) प्रदेश नं. ५ मा पर्छ। यहाँ अवस्थित पुथा र सिस्ने हिमाल यहाँका अग्ला हिमाल हुन्। पुथा हिमाल समुन्द्र सतहदेखी ७ हजार २ सय ४६ मिटर अग्लो छ भने सिस्ने हिमाल ५ हजार ८ सय ४९ मिटर अग्लो छ। प्रदेश नं. ५ ले यहि हिमालका चित्र यस प्रदेशको लोगोमा राख्ने भएका छ।

यो क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुने यहाँका बासिन्दाहरुको अपेक्षा छ। प्रचार प्रसार र राज्यले उचित संरक्षण नगर्दा ओझेलमा परेका यी हिमाल प्रदेश सरकारको लोगोमा हुने भएपछि यहाँसम्म पर्यटकहरु आउन सक्ने स्थानीयको अपेक्षा रहेको बलबहादु शाही बताउँछन्। हिजोको संघर्ष र जनताको भावना अनुसार पुथा र सिस्ने हिमालको चित्र प्रदेश लोगोमा रहने यहाँका निर्वाचित सांसद् तथा प्रदेश नं. ५ का सभामुख पुर्ण घर्तीले जानकारी दिए।

पुथा र सिस्ने हिमालको चित्र लोगोमा रहने प्रदेश सभा सञ्चालन नियमावली मस्यौदा समितिले टुंगो लगाएको थियो। धानको बालाले घेरेको गोलाकार भित्र सबैभन्दा माथि राष्ट्रिय झण्डा रहने छ। त्यसभन्दा मुनि पुथा र सिस्ने हिमाल रहने छ । त्यसको काखमा लुम्बिनीको बलेको दिप रहने सभामुख घर्तीले जानकारी दिए । त्यसको तल महिला र पुरुषले हात मिलाएको संकेत राखिने छ। प्रदेश नं. ५ को पहिचान हिमाल, पहाड, तराई र यहाँका किसान, लैगिंक समानता लगाएतलाई समेटेर प्रदेशको लोगो निर्माण गर्न लागिएको सभामुख घर्तीले जनाए।

‘शान्तिको प्रतीक लुम्बिनीले अन्तराष्ट्रिय पहिचान पाएको ठाउँ हो’ सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले भनिन्, ‘यसले यहाँको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ।’ जसका लागि बुटवलदेखी रुकुम (पूर्व) लाई सिधा यातायातसंग जोड्नु पर्ने र नयाँ जिल्लामा विमान स्थल निर्माण गर्नु पर्ने बताइएको छ। यसलाई अब पर्यटन संग समेत जोड्नु पर्ने यहाँका वासिन्दाहरुको भनाई छ । ५ नम्बर प्रदेश पर्यटकीय क्षेत्रले प्रख्यात छ । बुद्धको जन्म स्थल लम्बीनि जस्ता क्षेत्र यहि प्रदेशमा छन् । यहाँ वर्षमा लाखौं पर्यटकहरु भित्रने गर्छन् । यसको थोरै अंश पुथा र सिस्ने हिमालसम्म ल्याउन सके यहाँको पर्यटन विकाससंगै आर्थिक विकासले ठूलो फट्को मार्ने देखिन्छ।

प्रकाशित: १७ फाल्गुन २०७४ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App