४ वैशाख २०८१ मंगलबार
अन्य

खोला धमिलियो, खानेपानी हाहाकार

झापा- झापाका विभिन्न ग्रामीण इलाकामा खानेपानी समस्या भयावह बन्दैछ। मनसुन सुरु भएर खोलानाला धमिलिन थालेपछि त धेरै ठाउँमा खानेपानीको हाहाकार नै हुने गरेको छ। सरकारले २०६२ सालमै पानीको राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरेर २०७२ सालमा पानी वितरण गर्ने संस्थाले सुरक्षित पानी वितरण गर्नुपर्ने नीति अघि सारेको थियो। यसका लागि सरकारले पानी सुरक्षा योजनासमेत लागू गरेको छ। तर, अधिकतर ग्रामीण इलाकाका सर्वसाधारणका लागि यस्तो योजना कागजमा मात्र सीमित छ। उनीहरू अझै पनि प्रशोधन नगरिएको खोलाको पानी पिउन बाध्य छन्। 

 झापाको तोपगाछी, बाहुनडाँगी, घेराबारीलगायत ग्रामीण क्षेत्रका बासिन्दा अहिले पनि खोलाको पानी पिउन बाध्य छन्। यस्तोमा खोला धमिलिएपछि पानी खाइसक्नु नहुने गुनासो उपभोक्ताको छ। 'अहिलेसम्म खोला किनारमा कुवा खनेर पानी खाँदै थियौं,' घेराबारीस्थित पिण्डलबारी गाउँकी संगीता राजवंशीले भनिन्, 'अब खोला धमिलो आउन थाल्यो, अब खानेपानीको हाहाकार सुरु भयो।' यो गाउँमा खानेपानीका लागि अर्को कुनै विकल्प पनि छैन।

 तोपगाछी ५ र ७ का स्थानीय आफूले प्रयोग नै नगरेको पानीको महसुल तिर्न बाध्य छन्। तोपगाछी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति स्किम नम्बर १ बाट वितरण गरिएको पानी पिउन योग्य नभएका कारण स्थानीयले पानी उपभोग गर्दैनन्। घर–घरमा जडान भएका धारामा शुद्ध र स्वच्छ पानी आउनुको सट्टा लेदोसहितको धमिलो पानी आएपछि उपभोक्ता हैरान मात्र भएका छैनन्, उपभोग नै नगरेको पानी महसुल बुझाउन पनि बाध्य छन्।

 २०५३ सालमा स्थापना भएको खानेपानी आयोजनाबाट शुद्ध र स्वच्छ पानी आउने आसमा रहेका स्थानीय पानीमा सुधार नआएपछि ट्युबेलको पानी पिउन बाध्य छन्। दूषित पानीका कारण मानिसमा झाडा पखाला, आउँ, टाइफाइडजस्ता रोग लाग्ने गरेको छ। अहिले ५ सय ५०  भन्दा बढी उपभोक्ता रहेका छन्।  'धारामा नियमित पानी आउँदैन आइहाले कुनै काममा प्रयोग नै हुँदैन,' स्थानीय ज्ञानेन्द्र सापकोटाले भने, 'यस्तो  पानीको बिल तिर्न एकदिन ढिलो भयो भने पनि हर्जना तिर्नुपर्छ।'

 समिति अध्यक्ष सूर्यप्रसाद एकपाङ्देनका अनुसार स्थापनाकालमा पाइपलाइन विस्तारका क्रममै गल्ती भएकाले यस्तो भएको हो। 'यसलाई सुधार्ने क्रममा छौं,' उनले भने, 'सुधारकै क्रममा भवन निर्माण र कम्पाउन्डवाल लगाउँदै छौं, पाइपलाइन सुधार गर्न ठूलो रकमको आवश्यक पर्छ, त्यसका  लागि पहल गरिरहेका छौं।' खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चन्द्रगढीका इन्जिनियर अशोक साहका अनुसार पाइपलाइन सुधारका लागि करिब १० लाख रुपैयाँ भन्दाबढी रकम लाग्ने भएकाले आगामी आर्थिक वर्षमा मात्र  सुधार गर्न सकिने छ।

 बाहुनडाँगीका अधिकतर बासिन्दा खोलाको पानी पिउन बाध्य छन्। भालुखोप खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले वितरण गरेको पानी पिउनयोग्य नभएको उपभोक्ताको गुनासो छ। तर, त्यही पानी प्रयोग गर्नुबाहेकको विकल्प स्थानीयसँग छैन।  इलामको जिर्मले–९ मा मुहान रहेको भालुखोप खोलाको पानी ट्यांकीमा संकलन गरेरै वितरण गरिँदै आएको समितिका अध्यक्ष विष्णु सुवेदीको भनाइ छ। खोलाबाट सोझै ट्यांकीमा जम्मा गरिने पानी कुनै प्रशोधन बेगरै गाउँलेको घर–घरमा पुग्छ। समितिले गाविसको १, २, ३, ४ र ६ नम्बर वडाबासीलाई पानी वितरण गर्दै आएको छ। तर, पानी आपूर्ति नियमित नहुने, लेदो प्रसस्त आउने समस्याले उपभोक्ता सधैं हैरान छन्।

 समितिले गाविसको वडा नम्बर ६ स्थित काँडेमा एउटा, ४ को चापागाईं डाँडामा एउटा र लुंगेली गाउँमा दुई गरी चारवटा ट्यांकीबाट पानी वितरण गरिरहेको स्थानीय बासुदेव सापकोटाले बताए। ती ट्यांकीमा संकलन गरेको पानी निजी र सामूहिक गरी ३ सय ७५ वटा धाराबाट वितरण हुने गरेको छ। सुरुमा चार सयभन्दा बढी धारा भए पनि पानी नआउने  कारण बाँकी धारा बन्द भएको स्थानीय बताउँछन्।

 'माघदेखि आजका दिनसम्म मेरो धारामा १ थोपा पानी आएको छैन,’ बाहुनडाँगी–१ का गोविन्द न्यौपानेले भने, 'पानी महसुल चाहिँ महिनैपिच्छे आइरहन्छ।’ हालसम्म बाहुनडाँगीमा बनेका खानेपानी योजनाबाट वितरित पानी बिना प्रशोधन वितरण गरिएको र त्यही पानीका कारण सयौं मानिस बिरामी पर्ने न्यौपानेको भनाइ छ। प्रत्येक धाराबाट  धमिलो लेदो मिसिएको पानी आउने गरेको छ।  खोलाको पानी वितरण गर्न न्यूनतम टि्रटमेन्टको व्यवस्थाका साथै रफिङ, स्लोसेन्ड फिल्टर तथा ब्लिचिङको प्रयोग गर्नुपर्र्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाले जनाएको छ। तर, भालुखोप खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले वितरण गरेको पानी सोझै खोलाबाट ट्यांकीमा भरेर वितरण गरेको डिभिजन प्रमुख चोकप्रसाद धितालले बताए। 'बर्खामा ज्यादै समस्या हुन्छ, बाढीका कारण पानी धमिलो हुन्छ,’ धितालले भने, 'सुरुमा आयोजना निर्माण गर्दा गुणस्तरमा भन्दा संख्यात्मक रूपमा जोड दिएका कारण यो समस्या आएको हो।’

प्रकाशित: ७ असार २०७३ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App