दार्चुला – चमेलिया जलविद्युत आयोजनाले माग पूरा नगरेको भन्दै शैल्यशिखर नगरपालिका १, बारिलका स्थानीय बिहीबारदेखि आमरण अनसनमा बसेका छन्।
माग पूरा गराउन गठित खानेपानी मूल संघर्ष समिति अध्यक्ष शंकर खडायत, सचिव सुरेन्द्र तितरा तथा समिति सल्लाहकार सदस्य परमानन्द खडायत आमरण अनसनमा बसेका हुन् ।निर्माण सुरु भएयता आयोजनाले आफूहरूसँग गरेका प्रतिवद्धता पूरा नगरेको त्यहाँका स्थानीयको आरोप छ । स्थानीयले खानेपानी मूल संघर्ष समिति गठन समेत गरेका छन्।
आयोजनाले आफूहरूका जायज मागलाई वास्ता नगरेकाले आमरण अनसनमा बस्नुपरेको संघर्ष समिति सचिव सुरेन्द्र तितराले बताए । माग सम्बोधन नभएसम्म अनसन नतोड्ने उनीहरूको चेतावनी छ ।
चमेलिया विद्युत गृहको सुरक्षा र काममा बाधा नपर्ने गरी स्थानीय प्रशासन तथा सुरक्षा निकायमा जानकारी गराई अनसन सुरु गरेको अध्यक्ष शंकर खडायतले बताए।
संघर्ष समितिले आयोजना निर्माणका क्रममा सुकेका खानेपानी र सिंचाईको स्थायी र दीर्घकालीन समाधान गर्नु पर्ने, आयोजनाबाट प्रत्यक्ष रूपमा विस्थापित शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र बैतडीको डिलाशैनी गाउँपालिकामा निःशुल्क विद्युतको व्यवस्था गर्नु पर्ने, चालू आर्थिक वर्षभित्र दार्चुला र बैतडीलाई लोडसेडिङ मुक्त घोषणा गर्नु पर्ने माग राखेको छ।
यस्तै बाँध स्थलदेखि टेलरेससम्म चमेलियामा पानी छोड्नु पर्ने, आयोजना निर्माणका क्रममा भएको भ्रष्टाचार छानविन गरी दोषीमाथि कारवाही गर्नु पर्ने र स्थानीयसँग आयोजनाले गरेका सम्झौता तत्काल कार्यान्वय गर्नु पर्ने माग राखेका छन् । फागुन ११ गते संघर्ष समितिले एक अपिल जारी गर्दै आयोजनासँग उक्त मागहरू राखेको थियो ।
प्रकाशित: १८ फाल्गुन २०७४ ०१:४२ शुक्रबार