८ वैशाख २०८१ शनिबार
अन्य

चिरिबाबुलाई विदेश घुम्दै ठिक्क

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन मनपरी ढंगले विदेश भ्रमणमा जाने गरेको पाइएको छ । 

निर्वाचित भएयता महानगरलाई समेत पत्तो नदिई उनी आठपटक विदेश भ्रमण गइसकेका छन् । महर्जन हालसम्म जापान, थाइल्यान्ड, दक्षिण कोरिया, म्यान्मार, श्रीलंकालगायत मुलुक पुगिसकेका छन् । 

गत वैशाखमा निर्वाचित भएपछि उनी पहिलोपटक जापान भ्रमणमा गएका थिए । त्यसपछि पनि उनी दुईपटक जापान पुगिसके । चिरिबाबु हाल तेस्रोपटक जापान दौडमा छन् । महिनै पिच्छेजस्तो मेयर विदेश भ्रमणमा निस्कँदा त्यसको मर्का सेवाग्राहीले समेत भोगिरहेका छन् । 

गत वैशाखमा निर्वाचित भएपछि उनी पहिलोपटक जापान भ्रमणमा गएका थिए । त्यसपछि पनि उनी दुईपटक जापान पुगिसके । चिरिबाबु हाल चाैँथाेपटक जापान दौडमा छन् । महिनैपिच्छे जस्तो मेयर विदेश भ्रमणमा निस्कँदा त्यसको मर्का सेवाग्राहीले समेत भोगिरहेका छन्। 

अनावश्यक कार्यक्रममा समेत मेयर महर्जन विदेश जाने गरेको महानगरकै कर्मचारी बताउँछन् । उनले गत साउन १४ देखि भदौ ६ गतेसम्म जापानको भ्रमण गरेका थिए । 

यसैगरी उनी भदौ ५ देखि १७ सम्म कोरिया, कात्तिक २ देखि ६ सम्म श्रीलंका, असोज ५ देखि ११ सम्म एवं असोज २४ देखि ३० सम्म थाइल्यान्ड (दुईपटक), पुस ३० देखि माघ ५ सम्म म्यान्मार, माघ ८ देखि ११ सम्म र फागुन १२ देखि २२ गतेसम्म जापान (दुईपटक) पुगिसकेका छन् । 

महिनैपिच्छे विदेश भ्रमणमा गए पनि उनले कार्यालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई जानकारी गराउने गरेका छैनन् । नियमअनुसार विदेश भ्रमण जाने जनप्रतिनिधि वा सरकारी कर्मचारीले मन्त्रालयबाट ‘वैदेशिक मनोनयन फाराम’ भर्नुपर्छ । फाराममा भ्रमणको औचित्य, देशको नाम, जानुको उद्देश्य, आर्थिक विवरण, मितिलगायत विवरण खुलाउनुपर्छ । 

फाराम नभरी गएका कर्मचारी वा जनप्रतिधिलाई भ्रमणका बेला केही कठिनाइ प¥यो भने त्यसको भागिदार सरकार हुन्न । तर, आठपल्ट विदेश भ्रमण गरिसकेका महर्जनले मन्त्रालयलाई दुईपटक मात्रै जानकारी गराएका छन् । 

मन्त्रालयका सचिव दिनेश थपलियाले मेयर महर्जनको विदेश भ्रमणका दुइटा फाराम आफूले स्वीकृति गरेको बताए । ‘दुईपटक फाराम भर्नुभएको थियो, यसबाहेक अरु फाराम भरेको मलाई थाहा भएन,’ उनले भने, ‘नैतिकताका हिसाबले पनि विदेश भ्रमणमा जाने कुनै कर्मचारी वा मेयरले फाराम भुर्नपर्छ ।’ उनले नियम मिचेर विदेश भ्रमण जानेले कठिनाइ भोगे सरकार जवाफदेही नहुने बरु कारबाही हुने बताए ।

‘जुनसुकै हालतमा पनि कार्यालयमा विवरण खुलाएर विदेश भ्रमणमा जानुुपर्छ,’ उनले भने, ‘रेकर्ड नै छैन भने त्यो गैरकानुनी मानिन्छ, यस्तो भेटाएमा हामी कारबाही गर्छौं ।’

सार्वजनिक पद धारण गरेको व्यक्ति व्यक्तिगत भ्रमण जाँदा समेत तालुक निकायको स्वीकृति लिनुपर्छ । ‘अरु देशमा सार्वजनिक पद धारण गरेको व्यक्ति विदेश भ्रमणमा जाने विषय निकै ठूलो मानिन्छ । हाम्रोमा यसलाई त्यति वास्ता गरिन्न, कन्ट्रोल गर्ने कानुनी व्यवस्था पनि छैन,’ थपलियाले भने । 

कानुन कडा नभएकाले पनि आफूखुसी विदेश भ्रमणमा जाने कर्मचारी र जनप्रतिनिधि बढेको उनले बताए । ‘कानुनै नभएपछि केको डर ? कतिपयले नैतिकता र नियम मान्छन्,’ उनले भने, ‘विदेश भनेपछि हुरुक्कै हुने सरकारी कर्मचारी र जनप्रतिनिधि धेरै छन् ।’ 

जापान भ्रमणका रहेका मेयर महर्जनले नागरिकसँगको टेलिफोन संवादमा महानगरको हितकै लागि भ्रमणमा गएको दाबी गरे । ‘धेरै विदेश घुम्यो भनेर आलोचना त मलाई पनि आइरहेको छ, मैले घुम्नका निम्ति मात्रै विदेश यात्रा तय गरेको होइन,’ उनले भने, ‘विभिन्न देशमा पुगेर नेपाललाई फाइदा हुने सम्झौता गरेको छु ।’ 

महर्जनले महानगरमा आफूले भ्रमणबारे जानकारी गराउनुका साथै कार्यालयमा सबैखाले रेकर्ड राखेको दाबी गरे । ‘मन्त्रालयको स्वीकृतिविना म विदेश भ्रमण आएको होइन,’ महर्जनले भने, ‘सबै तिरबाट समन्वय भएपछि मात्र म कार्यक्रममा भाग लिन हिँडेको हुँ ।’ 

पछिल्लो भ्रमण पनि उपलब्धिमूलक भइरहेको उनको कथन छ । यसपालिको भ्रमणका क्रममा विश्व बैंकले दमकल उपलब्ध गराउने, जापानको वातावरण मन्त्रालयले फोहोर व्यवस्थानमा सहयोग गर्नेलगायत सम्झौता भएको बताए । 

छैन रेकर्ड 

महर्जनले विदेश भ्रमणको सबै रेकर्ड कार्यालयमा भएको दाबी गरे पनि महानगरपालिकासँग कुनै पनि रेकर्ड नभएको पाइएको छ । मेयरको सचिवालय, कार्यकारी अधिकृत, प्रशासन महाशाखा प्रमुख, सूचना अधिकारी, प्रवक्ता, लेखा महाशाखा प्रमुख लगायतलाई मेयर कुन मितिमा कुन–कुन देश पुगे भनेर पत्तो छैन । 

यी महाशाखामा भ्रमणबारे कुनै लिखित रेकर्ड पनि छैन । कर्मचारी आफूलाई मेयरको विदेश भ्रमणबारे थाहा नभएको बताउँछन् । महानगरका सूचना अधिकारी रुद्र गौतमले मेयरको भ्रमणबारे आफूलाई जानकारी नभएको बताए । ‘हामीलाई यसबारे जान्ने अधिकार छैन,’ उनले भने, ‘यसको रेकर्ड राख्ने जिम्मा प्रशासन महाशाखा र मेयर सचिवालयको हो ।’ 

महानगरका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद दाहाल पनि मेयरको विदेश भ्रमणबारे आफूलाई थाहा नभएको बताउँछन् । ‘हामीलाई पनि थाहा हुन्न, विदेशी राष्ट्रबाट आएको निमन्त्रणाअनुसार उहाँ विदेश गएको भन्ने मैले सुनेको छु, यसबाहेक बाँकी विवरण थाहा भएन ।’ 

कार्यालय प्रमुखको विदेश भ्रमणको रेकर्ड नहुनु स्थानीय सरकार शासन सञ्चालन ऐनविपरीत भएको स्थानीय विकास मन्त्रालयका सचिव थपलिया बताउँछन् । ‘जुनसुकै हालतमा पनि कार्यालयमा विवरण खुलाएर विदेश भ्रमणमा जानुुपर्छ,’ उनले भने, ‘रेकर्ड नै छैन भने त्यो गैरकानुनी मानिन्छ, यस्तो भेटाएमा हामी कारबाही गर्छौं ।’

नगरवासीका गुनासा उस्तै

महर्जनको सचिवालयबाहिर प्रायः सेवाग्राहीको भीड देखिन्छ । विभिन्न प्रशासनिक काम तथा नगर क्षेत्रका गुनासो बोकेर नगरवासीहरू महानगर धाउँछन् । तर, घन्टौँ कुर्दा पनि उनीहरूले महानगर प्रमुख चिरीबाबु महर्जनलाई भेट्न पाउँदैनन् । फोन गरेर समय मिलाउँदा पनि मेयरले भेट्न नदिएको नगरवासीको गुनासो छ । मेयर ‘साप’लाई भेट्न खोजेको दुई हप्ता भयो,’ ललितपुर पुल्चोकका हरिकृष्ण श्रेष्ठले भने, ‘अहिलेसम्म भेट्ने समय दिनुभएको छैन, जतिबेला गए पनि व्यस्त हुनुहुन्छ भन्दै मेयरका सहयोगीले फर्काउँछन्।’ 

उनले स्थानीयको गुनासो सम्बोधन नगरेपछि आफूहरुले मेयरलाई विज्ञप्ति समेत पठाएको बताए । ‘यहाँका मेयरले खालि टेक्निकल कुरा मात्रै गर्छन्, हामीले मेयरका कुरै बुझ्दैनौँ,’ उनले भने, ‘नगरवासीका सामान्यभन्दा सामान्य कुरालाई पनि बेवास्ता गर्छन्, अहिले नगरवासीले मेयरलाई हतपत भेट्नै सक्दैनन्।’ 

गत शनिबार मात्रै आठौँ विदेश भ्रमणका रूपमा जापान गएका चिरीबाबुले कार्यवाहकको जिम्मा उपमेयर गीता सत्याललाई दिएका छन् । उनले पनि नगरवासीलाई भेट्न नदिएको आइतबार ललितपुर महानगरपालिकामा भेटिएका बुङ्मतीका श्याम मालीले बताए । उपमेयर सत्यालले भने व्यस्तताले सबैलाई भेट्न नसकिएको बताइन्। 

कार्यान्वयनन् हुँदैनन् निर्णय 

गत असोज १ गते महर्जनले ललितपुरलाई जाममुक्त घोषणा गरे। त्यसै दिन पुल्चोकदेखि हरिहरभवनसम्म सोलारबत्ती जडान गर्ने योजना पनि सार्वजनिक गरे । अहिले भने सबैभन्दा बढी जाम ललितपुरमै देखिन्छ । सडकमा सोलार बत्ती पनि जडान गरिएको छैन।

सस्तो लोकप्रियताका लागि आवश्यक पूर्वाधारविनै जाममुक्त घोषणा गर्दा धेरैले आपत्ति जनाएका थिए । तर, महर्जनले जबर्जस्ती घोषणा गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन । गत माघ २३ गते मंगलबजार प्रहरी प्रभागले गरेको सार्वजनिक सुनुवाइमा धेरैले त्यसको विरोध गरेका थिए । मेयर महर्जनले घोषणा गरेका पाटन अस्पतालअगाडि र लगनखेल चोकमा दुई अकासेपुल बनाउने, पुल्चोकदेखि बाग्मती पुलसम्म फ्लाइओभर बनाउने, सिसिटिभी र सोलारबत्ती जडान गर्नेलगायत कुनै पनि योजना सुरु हुन सकेका छैनन् । 

प्रकाशित: १८ फाल्गुन २०७४ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App